CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • सौखिन गायक रामकृष्ण ढकाल

    • गोकर्ण लामिछाने 

    भनिन्छ, नेपाली कलाकारहरु डेनड्राइटले जुत्ता टाँसेर हिँड्नेदेखि गाडीको स्टेरिङ घुमाउने सम्मका छन् । तीमध्ये स्टेरिङ घुमाउनेहरूको वर्गमा पर्छन् गायक रामकृष्ण ढकाल ।
    बाराको निजगढमा जन्मेका ढकालले बाल्यकालमा खेलौना रुपी गाडीसमेत देख्न पाएनन्, त्यसैले जिन्दगीमा गाडी चढ्ने कुराको कल्पना उनले गर्दै गरेनन् । ‘गाडी हैन, गुच्चा र डन्डिबियो खेलें, त्यस्तोमा प्राइभेट गाडी त मैले सपनामा पनि चढिनँ, जतिबेला फुच्चे थिएँ’ ढकालले कुराकानीको पोयो फुकाए ।
    नेपालमा प्रजातन्त्रको उदय भएसँगै मोटरसाइकलमा हुँइिकन थालेका ढकालले माओवादीको नेतृत्वमा शुरु भएको जनयुद्ध उत्कर्षमा पुगेका बेला गाडी किन्ने निर्णयमा पुगे । कुरा ०५८ सालतिरको हो ।
    ‘बजाज, होण्डा र आरएक्स लगायतका मोटरसाइकलको भोक मेटिसकेपछि मैले गाडी लिने निर्णय गरेको थिएँ’ ढकालले भने । ramkrishna

    ०५५ मा ढकालले आशा एल्बम निकाल्दा उनको ‘ओराली लागेको हरिणको चाल भो’ भन्ने गीत हिट भइसकेको थियो । ठीक त्यहीबेला उनले आफ्नै कमाइबाट ‘मारुती अल्टो’ किने । जिन्दगीको त्यो पहिलो गाडी उनले तीन वर्ष चढेपछि विस्थापित गर्दै पहिलो लटको किया स्पोर्टेज किने । गाडी परिवर्तनको गुदी कुरा फुकाउँदै उनले भने, ‘मेरो गाडी चेन्ज गरेर चढ्ने बानी छ ।’ किया स्पोर्टेजपछि हुण्डाई     गेट्ज, निशान कार हुँदै आजसम्म उनले आठवटा चारपाङ्ग्रे सवारी परिवर्तन गरिसकेका छन् ।
    जतिबेला रामकृष्ण ढकालले पहिलो गाडी किने त्यतिबेला ‘दाइलाई यस्तो गाडीमा देखेको थिएँ, यस्तो देखिन्थ्यो’ भनेर कुरा गर्ने फ्यानहरु प्रशस्तै हुन्थे । तर आजभोलि त्यस्तो प्रतिक्रियामा कमी आएको छ ।
    भारत वा अन्य विदेशी मुलुकमा गाडी लिनेहरुलाई पारिश्रमिक बढाएर दिने गरिन्छ, जसका कारण गाडी खरिद गर्नेलाई थोरै भए पनि आर्थिक भार कम परोस् । तर नेपालमा त्यस्तो संस्कारको विकास भइसकेको छैन । यहाँ गाडी चढ्ने नचढ्नेभन्दा पनि कामको प्रोफाइल हेरेर ब्यक्तिको मूल्यांकन गरिन्छ । तर गाडीले पर्सनालिटी विल्ड अप गर्ने कुरामा भने दुईमत नभएको बताउँछन् ढकाल ।

    सुगम संगीतमा ढकालले अद्भुत दख्खलता हासिल गरिसकेका थिए । त्यस्तोमा हरेक पटक गाडी खरिद गर्दा उनले केही न केही छुट पाए । सामान्यतया बिक्रेताहरुले नाम नचलेकाहरुलाई त्यसरी छुट दिँदैनन् । अझ पहिलो पटक किनेको गाडीमा त उनले भारी छुट पाए । मारुती अन्तर्गत पर्ने पहिलो गाडीका बिक्रेता अरुण चौधरी ढकालका जान–पहिचानवाल थिए । ‘उहा“ले मलाई राम्रो डिस्काउन्ट दिनुभएको थियो’ उनले भने ।
    पहिले ड्राइभर राखेका ढकाल केही समयपछि आफैंले हाँक्न थाले । पहिलो ड्राइभिङ अनुभव सुनाउँदै उनी भन्छन् ‘शुरुमा ड्राइभ गर्न निकै अप्ठेरो महसुस भयो, लगातार मोबाइलको घन्टी बजिरहँदा नर्भस भएर मुख रातोपिरो हुन्थ्यो । तर अहिले बानी परिसक्यो ।’
    पोखरामा भूषण दाहाल, करिस्मा मानन्धर र दिलीप रायमाझीको साथमा गएका ढकालले फर्कंदा साथै लगेको पजेरो ड्राइभ गरे । ‘मेरो अल्टो र पजेरोमा आकाश जमिनको फरक पाएँ, यस्तो दामी फिल भयो कि मेरो बानी नै बिग्रियो,’ उनी सम्झन्छन्– ‘अनि मैले बाटैमा भनिदिएँ, अब १५ दिनभित्र म पनि जिप किन्छु ।’ नभन्दै १५ दिनपछि उनले स्पोर्टेजको पहिलो लटको जिप लिए ।

    आठवटा सवारी परिवर्तन गरिसकेका ढकालले गाडी किन्ने बेला कहिल्यै माइलेजको काउन्ट गरेनन् । बिक्रेतालाई कहिल्यै सोधेनन्– ‘यसको माइलेज कत्ति छ ?’ तर उनले गाडीको डिजाइन र विशेषताहरुमा निकै ध्यान दिए ।
    रामकृष्ण ढकालसँग कसैले एउटै लटको गाडी एकैदिन किन्यो भने, अरुले चढेको र उनकोे गाडीको कन्डिसन केही समयपछि नै फरक भइहाल्छ । भन्छन्– ‘म अलि सेन्सेटिभ छु, सानो स्क्र्याच भए पनि कम्पनीमा गइहाल्छु, केही समस्या देखियो भने चेन्ज गरिहाल्छु ।’
    आजभोलि कारहरु मोबाइल जस्तै चेन्ज हुँदैछन् । कहिलेकाहीं उपभोक्ताले यो चढ्छु भन्दाभन्दै अर्को अत्याधुनिक निस्किहाल्छ । त्यस्तोमा ढकालको ड्रिम नेपाल भित्रिएका अत्याधुनिक भन्दा निकै अगाडि छ । ‘मर्सिडिजको ब्ल्याक कलरको गाडी मिल्यो भने फ्युचरमा चढ्छु’ ढकालले ड्रिम कारको योजना सुनाए ।
    नेपालमा एक करोड पर्ने गाडीहरु अन्य मुलुकमा २५ लाखभन्दा कम मूल्यमा पाइन्छन् । त्यसैले अब गाडीलाई सबैको पहुँचमा पु¥याउने नीति ल्याउनुपर्ने बताउँछन् ढकाल । भन्छन्– ‘अब गाडी अनिवार्य आवश्यकता बन्दैछ, त्यसकारण कानुन परिवर्तन गरेर कर घटाउनुपर्छ अनि गाडीलाई सबैको पहँुचमा पु¥याउनुपर्छ ।’
    अहिले उपत्यकामा दश लाखको हाराहारीमा मोटरसाइकल छन् । राजधानीको ट्राफिक समस्या सिर्जना गर्ने मुख्य सवारीसाधन मोटरसाइकल बन्दै गएका बेला ‘बाइक विस्थापित गर्नुपर्ने’ तर्क गर्छन् ढकाल । भन्छन्– ‘बाइक विस्थापन गरेर सबैले गाडी किन्न सक्ने वातावरण बनाऔं, बरु पुराना गाडीहरुलाई पनि निश्चित अवधिपछि विस्थापन गर्ने नीति बनाउन सके ट्राफिक समस्या पनि समधान हुन्छ, भीडभाड पनि स्वतः कम हुन्छ ।’
    सवारी साधनमा सवार हुनेहरुका लागि सानातिना दुर्घटना सामान्य हो । मोटरसाइकल चढ्दा अलि बढी दुर्घटनामा परेका ढकाल गाडी चढ्न थालेपछि मेजर दुर्घटनामा परेका छैनन् । ‘दुर्घटना भए पनि मेरो गल्तीले हैन, अरुको गल्तीले हुने गरेको छ, एकपटक एउटा बाइकले मेरो ढोकामा हानिदियो, अनि सिंहदरबार अगाडि पछिल्तिरबाट एउटा बाइकले हिर्काइदियो,’ उनले भने– ‘सानातिना गाडी कोरिनेबाहेक मेरो गल्तीले मेजर दुर्घटना घटेको छैन ।’ ramkrishna2

    केही महिनाअघि टीकापुरबाट नेपालगन्ज फर्कंदै गर्दा एक युवतीले रामकृष्ण ढकाल चढेको गाडी रोकिन् । ढकालका साथी संगम शाह ड्राइभिङ गर्दै थिए । टीकापुरको ग्राभेल रोडमा अडिएको गाडीको झ्यालबाट युवतीले गाडीभित्र नियालिन् । टेलिभजनका पर्दाहरुमा देखिरहने ढकाललाई अचानक भेट्दा ती युवतीले परिचित अनुहार ठम्याउन सकिनन् । ढकाल सम्झन्छन्– ‘पछि मेरो साथीले तपाईंलाई डबल लोट्री प¥यो, लिफ्ट पनि पाउनुभो, रामकृष्ण ढकालसँग पनि भेट भयो भनेपछि ती युवतीले लौन उता अँध्यारो हुन्छ एउटा फोटो उज्यालोमै खिच्छु, एक पटक रोकिदिनुस् भनेर ढिपी गरिन् । अनि हामीले फोटो खिचाएर पठायौं ।’
    गाडी प्राविधिक यन्त्र भएकाले बेला–बेला बीचबाटोमै बिग्रेपछि भोग्नुपर्ने हैरानी निकै कोलाहलपूर्ण हुने गर्छ । लङ टुरमा जाँदा त्यस्तो हैरानी भोग्नु नपरे पनि राजधानीमै भने एकपटक नराम्रोसँग दुःख पाएको बताउँछन् ढकाल । ‘गाडी चढेर सिटिसी मलमा फिल्म हेर्न गएको थिएँ, घ्याच घ्याच गर्दै थियो मुभी हेरेर साँझ ९ बजेतिर फर्कंदै गर्दा ललितपुरको हिमालयन होटल अगाडि गाडीको स्टार्ट बन्द भयो’ उनले भने । आजभोलिका गाडीहरुको स्टार्ट बन्द हुँदा हरेक सिस्टम बन्द हुन्छन् । ढकालका साथमा बच्चा र श्रीमती थिए । त्यतिबेला ढकालका साढुदाई ट्राफिक प्रहरी जावलाखेलको इन्चार्ज थिए । पछि ट्राफिक प्रहरीको गाडीले तानेर ढकालको गाडीलाई प्रहरीकोमा राख्ने व्यवस्था मिलाउँदै साढुदाईले अर्को गाडी व्यवस्था गरेर उनलाई घर पठाइदिए । ढकाल भन्छन्– ‘भोलिपल्ट कम्पनीमा फोन गरेर हपारें, तर प्लगमा पानी पारेर मैले नै गल्ती गरेंछु ।’ त्यो स्कोडा फाबियाको कथा हो, अहिले त्यो गाडी परिवर्तन भइसकेको छ ।

    धेरै गाडी परिवर्तन गरेर चढिसकेको भए पनि ढकालले गाडीका आधारभूत प्राविधिक कुराहरुको जानकारी पाएका छैनन् । ‘भन्छन्– ‘पञ्चर भयो भने अर्को चक्का परिवर्तन गर्न चैं सक्छु ।’ प्राविधिक कुराहरुमा अरुकै भरपर्ने बानी भएकाले सानो समस्या देखिनासाथ दुःख पाइन्छ । पछिल्लो गाडीमा ब्याट्रीमा देखिएको समस्याले पनि ढकालले पटक–पटक समस्या भोगिसकेका छन् । ‘ब्याट्रीको समस्याले कहिलेकाहीं स्टार्ट नै नहुने, कहिलेकाहीं बत्ती निभाउन बिर्सेर पनि समस्या देखियो, ब्याट्रीको आयुका कारण बेला–बेला चेन्ज गर्नुपर्ने तर ठिकै होला भनेर चलाउँदा दुःख पाएको छु’ उनले विगत सम्झिए ।
    गतवर्ष ढकाल सुमधुर साँझ आयोजना गर्ने तयारी गर्दै थिए । तयारीको सिलसिलामा नयाँ बानेश्वरमा गाडी पार्क गरेर छाड्दा बत्ती निभाउन बिर्सेछन् । फर्कंदा गाडी स्टार्ट भएन, एउटा टायर पञ्चर भएछ । यी दुई समस्या एकैपटक देखापर्दा बानेश्वरमा आकाशबाट मुसलधारे पानी बर्सिरहेको थियो । त्यो तनावपूर्ण अवस्था सम्झदै ढकाल भन्छन्– ‘एउटा भाइलाई टर्च देखाउन लगाएर मैले टायर चेन्ज गरें, अनि ठेलेर गाडी स्टार्ट गरियो, त्यतिबेला मलाई महसुस भयो सामान्य टेक्निकल नलेज राख्नैपर्ने रहेछ ।’
    ढकालले सन् १९९६ को एउटा साँझ ब्रुनाईमा माइकल ज्याक्सनको कार्यक्रम हेर्ने अवसर पाएका थिए । ‘कलाकारप्रतिको क्रेज र फ्यान फलोइङ के रहेछ भन्नेबारे मैले त्यतिबेला थाहा पाएँ, १२ जना युवतीहरु ‘माइकल लभ यु’ भन्दाभन्दै बेहोस भए, एम्बुलेन्स आउँदै लिएर गयो’ ढकालले भने । बुलेट प्रुफ कार चढेर आएका ज्याक्सनसँग भेट्ने उनको प्रयास भने अधुरै रह्यो ।



    गायक रामकृष्ण ढकालले आफ्नो र साथीभाइको गाडी मात्र चढेका छैनन् । पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, डा. बाबुराम भट्टराई लगायत अन्य पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्रीहरुसँग ढकालले यात्रा गरेका छन् । राम्रा कन्डिसनको गाडीमा चढ्दै आएका ढकाल भिआईपीहरुसँग चढ्दा शानदार फिल हुने बताउँछन् । भन्छन्– ‘उहाँहरुको सेनामेनाले गर्दा पनि होला शानदार फिल हुन्छ, यात्राको छुट्टै मजा आउँछ ।’ अहिलेसम्म कुनै गाडी कम्पनीको ब्रान्ड एम्बेसडर घोषित नभएका ढकाल कसैले अफर गरेमा ब्रान्ड एम्बेसडर बन्ने सोचमा छन् । ‘ब्रान्ड एम्बेसडर हाम्रो पेसासँग पनि सम्बन्धित कुरा हो, अफर आएमा अवश्य गर्छु’ उनले भने ।
    विदेशतिर सेलिब्रेटीको ब्रान्ड भ्यालु निकै माथि भए पनि नेपालमा त्यस्तो हुन सकेको छैन । युके जस्ता विकसित देशहरुमा कुनै रेस्टुरेन्टमा एउटा फुटबल खेलाडी गएर खाएमा भोलिपल्टाट अन्य मान्छेहरु ताँती लाग्छन् । नेपालमा पनि विस्तारै त्यो संस्कृतिको विकास हुँदैछ । ‘देश संक्रमणमा छ, संक्रमण तोडिएपछि हाम्रो समाजले पनि त्यही संस्कृतिलाई पछ्याउने छ’ यतिमै ढकालले संवाद टुंग्याए ।