CanadaKhabar.com

Wednesday, April 24, 2024 -
  • अनुहारको चांया पोतो यसरी हटाउनुहोस् !

    अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चायाँ–पोतो भनिन्छ । महिला तथा पुरुष दुवैमा यो समस्या देखिन सक्छ । विशेषगरी महिला गर्भवती भएका बेला चायाँ–पोतो देखा पर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा भनिन्छ । यद्यपि चायाँ–पोतो गर्भावस्थाका कारणले मात्र हुँदैन ।

     

    चायाँ–पोतो घामको किरणबाट आउने असर तथा भिटामिन सीको कमीले पनि हुन्छ । छालाको तल्लो सतहमा हुने मेलानोसाइटस नामको सेलले मेलानिन भनिने तत्व उत्पादन गर्छ । मेलानिन घामका साथै अन्य कृत्रिम प्रकाशमा पनि उत्तिकै सक्रिय हुन्छ । घामको किरण अनुहारमा परेपछि छालाको सतहमा मेलानिन फैलन थाल्छ । घामले मेलानिनलाई सक्रिय बनाउँछ । धेरै कम मानिसमा मात्र घामको किरणले मेलानिन सक्रिय हुँदैन र चायाँ–पोतो देखिँदैन । जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन् उनीहरूलाई पनि चायाँ–पोतोले सताउन सक्दैन ।

    रोकथाम
    अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ । घाममा निस्कनुभन्दा आधा घन्टाअघि सनब्लक क्रिम लगाउनुपर्छ । घाममा हिँड्दा छाता वा क्याप प्रयोग गर्नुपर्छ । बत्ती तथा कम्प्युटरमा बस्दा पनि अनुहारमा मेलानिन फैलन सक्छ । त्यसैले त्यस्तो प्रकाशबाट पनि छालालाई जोगाउनुपर्छ ।
    चायाँ–पोतो आएपछि अनुहारको फेसियल गराउनुपर्छ । कीटले पहिले क्लिन्जर गर्नुपर्छ र त्यसपछि स्क्रब तथा तेस्रो पटक कपासले सोडा पानी लगाएर अनुहार भिजाउनुपर्छ । यसरी दुई–तीन पटक मसाज गरेपछि रोमछिद्रहरू खुल्छन् ।

    आलुको रस तथा आधा काटेको आलुको टुक्राले अनुहारमा मसाज गर्नुपर्छ । आलुमा एक प्रकारको अम्ल हुन्छ जुन छालाको तल्लो भागसम्म पुग्छ । ५ मिनेट मसाज गरेपछि सुन्तला तथा मौसम काटेर ५ देखि ७ मिनेट मसाज गर्नुपर्छ । यसो गर्दा अम्ल तथा भिटामिन सी छालाको तल्लो सतहसम्म पुग्छ र मेलानिन कम हुन्छ । खानामा भिटामिन सीलाई नियमित समावेश गर्नुपर्छ । भिटामिन सीले मेलानिन सक्रिय हुन नदिई अनुहारलाई चायाँ एवं पोतोबाट जोगाउन सहयोग गर्छ ।