CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • समर पिकनिकमा मादलसंगै देखिए दिदि वहिनीहरु

    प्रकाश क्षेत्री
    १ अगस्ट , क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    विदेश बसेर पनि क्यालगरीका नेपालीहरुमा कला संस्कृति र नेपालीपनको मोहमा कत्ति कमि आएको छैन । हिजो अलबर्टाको ब्रुक स्थित किनब्रुक प्रोभिन्सियल पार्कमा नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीले आयोजना गरेको समर पिकनिकमा मादल संगै देखिएका दर्जनौ दिदि वहिनीले दोहोरी र तीज गीतमा कार्यक्रम उपश्थित सबैलाई मज्जैले नचाउन सफल भए ।

    उनीहरुले लोक दोहोरी र तीज गीत गाउदै रमाइलो मात्र गरेनन् । नेपाली इतरका मानिसहरुलाई हेरेको हेर्यै पारे । स्थानिय दोहोरी तथा लोक गायक बुद्धी अधिकारीको राम्रै साथ पाएका उनीहरुले तीज गीत गाइरहँदा विदेशीहरु भिडियोमा गतिविधि कैद गर्न व्यस्त रहिरहे ।

    उनीहरु मात्र होइन, नयाँ पुस्ताका नेपाली युवाहरु पनि नाचगानमा खुवै रमाए । बालबालिका देखि बृद्ध सम्म सबैजना कार्यक्रममा रमाई रहेका देखिन्थे । कार्यक्रममा सहभागी १८ बर्षिय सिर्जना शर्मा महिला तर्फको म्युजिकल चेयरमा प्रथम भईन । पहिलो पटक समर पिकनिकमा सहभागि भएकी उनले भरपुर मनोरञ्जन लिएको बताउँछिन । उनी भन्छिन “म पहिलो पटक समर पिकनिकमा सहभागी भएकी हुँ । अहिले सम्म धेरै कुरा सिक्न मिस गरेकी रहेछु ।”
    उनका अनुसार क्यालगरीमा बस्ने उनी जस्तै हजारौ नेपाली मुलका युवा पुस्ताहरु नेपाली कार्यक्रममा सहभागी हुने गरेका छैनन । नेपालीपन जोगाउन यस्ता कार्यक्रम उपयोगी भएकाले युवाहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै उनले थपिन “ नेपालीपन जोगाउन तपाई, म अनि हामी सबै मिल्नुपर्छ । आउनुस सबै जना नेपाली कार्यक्रममा सहभागी बनौ ।”

    उनी मात्र होइन नरेशजङ्ग पाण्डे पनि आफन्तहरु संग भेटघाट र चिनजानका लागि सपरिवार समर पिकनिक आएको बताउँछन । क्यालगरीबासिका लागि समर पिकनिक चाडपर्व जस्तै भएको उनको भनाई छ । उनी भन्छन “ समर पिकनिक नेपालीहरुको चाडपर्व जस्तै बनिसकेको छ । बालबच्चालाई नेपालीपन सिकाउन भए पनि कार्यक्रममा आउनु पर्ने भएको छ ।”
    समर पिकनिकमा बालबालिका र युवापुस्ताले मात्र होइन । बृद्ध बुबा आमाहरुको पनि राम्रै सहभागिता रहयो । उनीहरु पनि बार्विक्यु र अन्य क्रियाकलापमा मज्जैले रमाए । आफना उमेरका दर्जनौलाई नेतृत्व गर्दै तीज गीतमा राम्रै जमेकी ५७ बर्षिय जीवा भण्डारीले कार्यक्रमले सबैलाई समेटन सकेको भन्दै आयोजकलाई धन्यवाद दिइन ।

    त्यसो त नेपालबाट दुई दिन अघि क्यालगरी आएकी भुमिका थापा पनि पिकनिकमा सहभागि भइन । उनी सयौं नेपालीसँग एकै पटक चिनजान गर्न पाएकोमा दङ्ग भएकी छिन । उनी भन्छिन “ सयौ नेपाली एउटै ठाउँमा चिनजान गर्न पाउनु मेरो लागि अवसर हो । आज मलाई नेपालमै भइरहे जस्तो अनुभव भइरहेको छ ।”

    अलबर्टा राज्यको ब्रुक स्थित किनब्रुक आइसल्याण्ड प्रोभिन्सियल पार्कमा सम्पन्न पटलक पिकनिकमा घैटो फुटाउने खेल (महिला र पुरुष) लोक तथा तीज गीत गायन र नृत्य, किड्स म्युजिकल चेयर, महिला म्युजिकल चेयर लगायतका प्रतियोगिता गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई ग्रिनचिल्ली रेष्टुरेन्ट वाल्डेन गेट, पाथवेज बर्गर एण्ड मम, अम्विका होम इन्सपेक्सन, माउण्ट एभरेष्ट नेपाली रेष्टुरेन्ट र जीवन कटवालले पुरस्कारको प्रायोजन गरेका थिए । कार्यक्रममा झण्डै ३ सय ५० जनाको सहभागिता रहेको समर पिकनिक कार्यक्रमका संयोजक नारायण भण्डारीले जानकारी दिएका छन ।