CanadaKhabar.com

Monday, February 19, 2018 -

मनमा देश बोकेका योद्धा

गोकर्ण लामिछाने – क्यानाडा ।

‘प्रवास देश होइन, एउटा बासमात्रै हो । तर बासका बाध्यता पनि हुँदारहेछन् । जिन्दगीका विपना र सपना साटिइसकेपछि बासमात्रै सही, त्यहाँ जरा पनि त गाडिइसकेको हुँदोरहेछ । यसलाई चटक्कै छाडेर देश खोज्नु गाह्रो रहेछ ।’
धादिङ धुवांकोटको पात्लेमा ०२३ सालमा जन्मिएका बुद्धिलाल तामाङको मनमा यस्तै कुरा खेल्छन् अहिले । क्यानडामा सपरिवार बसेर जीवन चलाइरहेका उनको सपना थिएन– क्यानडाबास । उनी त आफ्नो देशका सम्पूर्ण उत्पीडितहरूको मुक्तिको सपना देख्ने योद्धा थिए । त्यही सपनाको वेगमा उनी जनयुद्धको नदीमा हेलिएका थिए । तर वार न पारको नियति उनले भोगे, जनयुद्धको हाल पनि उस्तै भयो । समयको भेलले हुत्याएर उनलाई क्यानडा पु¥याइदियो ।
०००

बुद्धिलालको बुद्धिविकासको यात्रा पात्लेकै तत्कालिन प्रकाश प्राविबाट सुरु भएको हो,  । उनको माध्यमिक शिक्षा भने सरस्वती उमावि र नीलकण्ठ माविबाट भयो ।
उनले आफ्नो औपचारिक अध्ययनको गाडीलाई स्नातकसम्म त पु¥याए, तर गणितले अगणित धोका दियो । त्यसैले उनको औपचारिक अध्ययनको गाडी त्यहीँ रोकियो । उनी त्यसबाट झरेर जीवनको सामाजिक यात्रामा हाम फाले । गाउँमा खानेपानीको सुविधा विस्तार गर्ने, वन संरक्षण गर्नेलगायतका काम उनले आफ्नो बुद्धि खियाए ।
उनले ‘वाटर एड’ नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको परियोजनाको सहयोगमा गाउँमा पिउने पानीलाई सहज बनाउने कार्यमा लागे । उनकै अगुवाइमा गाउँका ८० प्रतिशत मानिसले सहजै पिउने पानी पाए ।
त्यसो त उनी एसएलसी परीक्षा पास गरेदेखि नै शिक्षण पेशामा संलग्न भएका थिए । गाउंकै स्कुलमा मास्टर बने । उनी विज्ञान, कृषि र गणित विषय पढाएर विद्यार्थीहरूको प्रिय शिक्षक बन्दै गर्दा देशमा जनयुद्धको डँढेलो सल्किकेको थियो । पुरानो सत्ताको कुँडाकर्कट डढाएर त्यसकै मलमा नयाँ सत्ता रोप्ने सपना थियो जनयुद्धको । उनले जनयुद्धलाई समर्थन गरे, सहयोग गरे । ०४८ सालदेखि नै उनको राजनीतिक सक्रियता थियो । त्यही कारण उनलाई विभिन्न मुद्दा लगाइयो । प्रशासनले उनलाई घरमै आएर खोज्न थाल्यो । त्यसैले ०५४ मा जागीर छोडेर जनयुद्धमा सहभागी भए पूर्णकालीन बनेर । त्यसपछि उनको जीवनले अर्कै लय समात्यो ।

०००

बुद्धिलालको जनयुद्धमा संलग्न हुने चेतना भने जीवन र जगतलाई बुझ्ने चाखबाट सुरु भएको हो । उनी भन्छन्, ‘नेपाली निबन्ध संग्रहमा संकलित मोदनाथ प्रश्रितको मृत्युलाई नजिकबाट नियालेर हेर्दा भन्ने प्रसंगको निबन्धबाट निकै प्रभावित भएँ । लाग्यो– समाजका लागि केही गर्नेको जीवन मरेर पनि बाँच्ने रहेछ । जो, व्यक्तिगत स्वार्थका लागि मात्रै बाँचेको हुन्छ, त्योचाहिँ एकपल्ट मरेपछि सदाको लागि मर्ने रहेछ ।’
त्यो बुझाइले उनलाई जीवन बुझ्न सघाउ पु¥यायो । उनले बुझे– समाजमा असमानता र विभेद छ, त्यसको लागि केही गर्नु आफ्नो पुस्ताको दायित्व छ । त्यही दायित्व पूरा गर्ने माध्यम उनले जनयुद्धलाई देखे ।
उनी पहिलो चरणमा तामाङ बाहुल्य भएको धादिङको उत्तरी क्षेत्रमा संगठकका रूपमा खटे । सम्भवतः उनी जिल्लाको पहिलो तामाङ कार्यकर्ता थिए । जिल्लामा फौजी गतिविधि भए पनि उनी संगठक भएका कारण प्रत्यक्ष मुठभेडमा संलग्न हुनुपरेन ।
राजनीति छोड्नु अघि उनी उपक्षेत्रीय ब्यूरो तथा जिल्ला सचिवालय सदस्य र धादिङ क्षेत्र नं. १ का इन्चार्ज थिए । उनी जनसरकार प्रमुख पनि भए । तामाङ मुक्ति मोर्चाको केन्द्रीय सदस्य पनि थिए ।
धादिङबाहेक रोल्पा, रुकुम, गोरखा, लमजुङ, काभ्रे, रसुवा, नुवाकोटलगायत जिल्लामा पनि उनी पुगे । भारतको गोरखपुरलगायतका ठाउँमा भएका राष्ट्रिय स्तरका भेलामा पनि सहभागी भएका थिए । पञ्जाबको रुपडमा भएको महाधिवेशनमा पनि गएका थिए । मञ्चमा त सबै नेता देखे पनि उनले प्रत्यक्ष भेट्ने अवसर भने डा. बाबुराम भट्टराईसँग मात्रै पाए ।

०००

बुद्धिलाल सहिद परिवारका सदस्य, जनयुद्धमार्फत मुक्तिको सपना देखेका निष्ठावान् कार्यकर्ता थिए । त्यति हुँदाहुँदै पनि उनी सामान्य कमजोरीका कारण तत्कालिन शाही सेनाको कब्जामा परे ।
सेनाको हिरासतमा पुगेपछि थाहा पाए– उनी आफ्नै साथीको कारणले सेनाको फेला परेका थिए । उनी भन्छन्, ‘अहिले नाम लिएर म कुनै साथीको व्यक्तिगत जीवनमा अप्ठ्यारो पार्न चाहन्नँ । त्यसैले पार्टीलाई पनि भनेको छैन ।’
श्रीमती भेट्न गाउँ पुगेका थिए । त्यतिखेर आफ्नो पनि कमजोरी भएको उनी स्वीकार्छन् । बताउँछन्, ‘नेपाल बन्द भएको कारण सेना सदरमुकामतिरै अल्मलिन्छ भन्ने लाग्यो । त्यो मूल्यांकन गलत सावित भयो । त्यस्तै बाटोमा केही शंकास्पद मानिस भेट भएका थिए । त्यति हुँदाहुँदै पनि मैले गाउँ छाडिनँ । जनतामा हाम्रो पूर्ण भरोसा हुन्थ्यो, सेना गाउँ पसे वा कुनै जोखिम देखिए जनताले सूचना दिन्थे । म त्यही विश्वासका साथ बसिरहेँ ।’
त्यसरात उनी पानी घट्टमा सुतेका थिए, बिहान घर फर्कंदै थिए । त्यही बेला सय जना जति सेनाले गाउँ घेराबन्दी गरेको थाहा पाए । घेराबन्दीको सूचना पाएपछि उनकी श्रीमती पनि उनी भएकै ठाउँतिर पुगिन् । सेनाको घेरा तोड्ने प्रयासमा उनी गाउँको एउटा नाकामा पुगे । त्यहाँ सेनाले देखिहाल्यो । सेनाले ‘हल्ट’को आदेश दियो तर बुद्धिलाल भागे । सेनाको गोली लागेर उनी भीरबाट २ समय मिटर  तल खोलामा खसे । उनको गोडा खुट्टा भाँचिएर हड्डी नै बाहिर निस्कियो । उनलाई पछि थाहा भयो– सेनाले उनकी श्रीमतीलाई पनि समातेर गोली हानी हत्या गरेछन् ।
उनी भावुक हुँदै सम्झन्छन्, ‘त्यो बेला सेनाले समातेपछि बाँच्ने सम्भावना हुँदैनथ्यो । मलाई पनि बाँचिएला भन्ने सयमा एक मन पनि लागेको थिएन । मसँग केही कागजपत्र थियो, च्यातेर फालिदिएँ । अलिकति पैसा थियो, त्यो पनि फालिदिएँ । एउटा रिभल्वर थियो, त्यो लुकाइदिएँ । आफू भने लुक्न सक्ने स्थिति थिएन ।’
उनलाई सेनाले भेटिहाल्यो । फेरि गोली हान्नै लागेको बेला एउटा मंगोलियन अनुहारको हवल्दारले रोके र भने, ‘हानिनहाल, एकपल्ट सोध्नुपर्छ ।’
सेनाले उनलाई त्यहाँबाट बाहिर निकाले र दुखाई कम गर्ने औषधी खान दिए । उनी गाउँमै भएको सूचना पाएर सेना त्यहाँ पुगेको थाहा पाए उनले ।
त्यहाँ सेनाको जवानसँग उनले डेढ घन्टाजसो राजनीतिक बहस गरे । उनी सम्झन्छन्, ‘कतिपय त जवान ‘कन्भिन्स्ड’ देखिए र गोली हानेकोमा नमज्जा बोध पनि गरे ।’
डेढ घन्टापछि सेनाको हेलिकोप्टर आइपुग्यो । उनलाई बैरेनी लगियो । त्यहाँ सेनाको अधिकारीले सोधे, ‘तँ बाँच्न चाहन्छस् कि चाँहदैनस् ?’
उनले भने, ‘दिन्छौ भने बाँच्ने चाहना कसको हुँदैन ?’
उनलाई पछि थाहा भयो, प्रश्न सोध्ने केशरजंग रायमाझीका भाइ जर्नेल दिलिपजंग रायमाझी रहेछन् ।
बैरेनीबाट उनलाई हेलिकोप्टरमै राखेर काठमाडौं छाउनी अस्पतालमा पु¥याइयो । घाउ निको नहुँदै प्लास्टर गर्न नमिल्ने भएकाले दुई महिना अस्पतालमै भर्ना गरेर उपचार गरियो । प्लास्टर गरिसकेपछि भने हिमालयन ब्यारेक, छाउनीमा लगियो । त्यहाँ सेनाले उनलाई चरम यातना दियो । अरू बेला रेडियो बज्न दिए पनि समाचार आउने बेला बन्द गर्नुपथ्र्यो । पत्रपत्रिका पढ्न दिइँदैनथ्यो । सेनाले यातना दिदै पार्टीबारे सोधपुछ गर्थे । उनले पूरै थाहा छैन पनि भन्न सकेनन्, तर यथार्थ पनि खोलेनन् ।
सेनाले सोध्थे, ‘जिल्लाका माओवादीसँग कति हतियार छ ?’
उनी उत्तर दिन्थे, ‘यकिन थाहा छैन ।’
‘कहाँ राख्छन् ?’
उनको जवाफ हुन्थ्यो, ‘हतियार त बोकेरै हिडिन्छ भन्थें ।’
उनी सेनाको हिरासत–समय सम्झन्छन्, ‘तल्लो तहका सेनाले मनपरी बोल्दै विना सोधपुछ यातना दिन्थे । त्यो बेला लाललोचन नेपाल भन्ने भाइ पनि हिरासतमा रहेछ, त्यो तेरो बडिगार्ड हो कि होइन भन्दै पिट्थे । पिसाबसँगै रगत बगुन्जेल रातभर यातना दिन्थे ।’ उनको १५ दिन जति त पिसाबसँगै रगत आयो, त्यो बेला उनले कुनै उपचार पाएनन् । अरूलाई समूहमा राखे पनि उनलाई भने भिआइपी भनेर एक्लै राखिएको थियो । जसले मन लाग्यो त्यसले ‘तँ आतंककारी’ भन्दै पिटिहाल्थे ।
त्यत्रो हिरासत भोगेर आएका बल्ल–बल्ल जीवनदान पाएका उनलाई हिजोआज लाग्छ, ‘त्यो बेलाको परिस्थिति त्यस्तै थियो । उनीहरूलाई त्यही सिकाइएको थियो । त्यही गरे ।’ उनीमा वैरभाव देखिँदैन ।
सेनाको हिरासतमा पुगेपछि उनको पार्टी सम्पर्क टुट्यो । फर्केर आएपछि पनि उनी पार्टीको सम्पर्क पाउन सकेनन् ।
उनी भन्छन्, ‘पक्राउ पर्नुमा मेरो पनि केही कमजोरी अवश्य थियो । तर पार्टीले त्यसलाई सच्याएर अघि बढ्ने मौका दिएन । त्यसको सट्टा सिध्याउने र पार्टी राजनीतिबाट जिम्मेवारीबिहीन बनाउने काम भयो । कुनै जिम्मेवारी नै दिइएन, सम्पर्कविहीन भएँ ।’
यसरी बिस्तारै उनको आस्थापुञ्ज जनयुद्धबाट आफैं किनारीकृत हुनपर्ने अवस्था आइप¥यो । ‘मलाई पार्टीले के आरोप लगाए पनि थाहा छैन, कुनै साथी घरमा पनि आएनन् । तपाईंले यो गल्ति गर्नु भयो, त्यसबापत यो कारवाही भएको हो भन्ने पनि जानकारी दिइएन । यतिसम्म कि युद्धविराम भएको ६ महिनासम्म कोही साथीहरु गाउँमा पनि आउनु भएन,’ उनको गुनासो यथावत छ ।
युद्धकालमा उनका गाउँ माओवादीको मूख्य ‘सेल्टर’ थियो । उनी घर फर्केपछि एक जना साथी पनि गाउँ नजाँदा उनको मन कुँडियो । पछि उनले सुने– उनलाई भेट्न प्रतिबन्ध लगाइएको थियो ।
समयक्रमसँगै युद्ध विराम त भयो । तर २०५९ साल बैशाखमा सेनाको गोली लागेर भाँचिएको गोडाको दुखाइ बल्झियो । मानसिक र शारीरिक समस्या चरम हुन थाल्यो । त्यसैले उनले पार्टी राजनीतिको आश मारे र सामान्य जीवन बिताउने निर्णयका साथ बिहे गरे ।
आज सम्झँदा उनलाई आफूले गल्ती गरेझैं लाग्दैन । बरू कम्तिमा पनि देशका लागि केही समय योगदान गरें भन्नेमा गर्वबोध गर्छन् ।

०००
बुद्धिलाललाई लाग्छ – जनयुद्ध लडेर आएको माओवादी पार्टीले उठाएका मुद्दाले अहिले आंशिक सफलता पाएको छ । देशमा गणतन्त्र आउनु, धर्मनिरपेक्षता, संघीयताजस्ता मुद्दा स्थापित हुनुले त्यसलाई प्रमाणित गरेको छ । तर पनि उनको मनका कतै न कतै असन्तुष्टिको बादल भने लागिरहेकै छ ।
‘जुन हिसाबले हामीले योगदान ग¥यौं, कयौं साथीले बलिदानी दिए । त्यसको तुलनामा जनताले अधिकार पाएको र पार्टीले मुद्दा स्थापित गर्न सकेको देखिँदैन,’ उनी भन्छन्, ‘हामीले उठाएका कयौं मुद्दा स्थापित हुन सकेन । त्यसो भएको भए अहिलेसम्म देश समृद्धिको उकालो लागिसक्थ्यो ।’ जनजीविकादेखि लिएर विकास र समृद्धिको पहलकदमीमा जसरी नेताहरूको ध्यान जानुपर्ने हो, त्यसरी नगएको उनको निष्कर्ष छ । जनताको मुद्दा र अधिकार स्थापित गर्ने बेलामा पार्टी विभाजन हुँदा उनी निकै दुःखित भए । नेताहरूमा विचार र सिद्धान्तबीच तालमेल नदेखिँदा उनलाई पीडा हुन्छन् । भन्छन्, ‘धेरैजसो नेता व्यक्तिगत सम्पत्ति आर्जनतिर लागेका छन् । हामी त बाँचेका छौं, धेरै युवा शहिद हुनुभयो । उहाँहरुको परिवार आज पनि बिचल्लीमा छ ।’
उनी पार्टीले अझै पनि आफ्नो मुद्दा स्थापित गर्न पहल गर्नुपर्नेमा जोड दिन्छन् । जनताको पहिचानसँगै राष्ट्रिय एकता बलियो भएको हेर्न चाहन्छन् उनी ।
अहिले प्रवासमा बसेर  सोच्दा उनलाई लाग्छ– यो वाद वा त्यो वादभन्दा पनि जनताको सुख र समृद्धि प्रमुख रहेछ । लडाईंको उद्देश्य देशमा आमूल परिवर्तन गर्नु थियो, जनताको हक, अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक समृद्धिमा लैजानु थियो । तर जसरी सत्ता लुछाचुँडीको खेल भइरहेको छ, त्यसले मुलुकलाइ सही दिशामा लैजान सक्दैन भन्ने उनको ठहर छ । उनको ठम्याइ हो, ‘राष्ट्रिय मुद्दाहरुमा सबै पार्टी सहमत भएर अगाडी बढेमा समृद्धिको उकालो चढ्न बेर लाग्दैन ।’

०००

बुद्धिलाल प्रवासमा भए पनि जन्मे हुर्केको ठाउँको माया नलाग्ने कुरै भएन । केही साथीहरूले देश फर्केर केही गर्न सल्लाह पनि दिइरहेकै छन् । उनलाई पनि बेला–बेला झोंक नचल्ने होइन । ‘तर एक हिसाबले परदेशको दलदलमा फसेजस्तो भयो । परिवार यतै ल्याइयो । बच्चाहरु यतै जन्मिए’, उनी बाध्यताको पोयो फुकाउँछन् ।
त्यसो त उनी प्रत्येक वर्षजसो नेपाल पुगिरहन्छन् । भूकम्पका बेला सहयोग जुटाए । अन्य बेलामा पनि गाउँको विकासमा सकेको सहयोग गर्दै आएका छन् । बर्षको करिव दुई महिना उनी गाउँ विकासको खटेकै हुन्छन् ।
पार्टी छोडिसकेपछि पनि आफूले पार्टी हितविपरित केही काम नगरेको उनको दावी छ । गाउँमा आफूले गरेको सामाजिक कार्यले पार्टीलाई स्थापित हुन मद्दत पुगिरहेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘पार्टीमा संलग्न कयौं साथीलाई मैले सकेको आर्थिक सहयोग पनि गरेको छु । उहाँहरूलाई व्यक्तिगत जीवनमा आइपरेका सानातिना समस्या पनि टारिदिएको छु ।’
तर अहिलेसम्म उनलाई कसैले पनि प्रवासमा रहेर पार्टीको काम गर्नुपर्छ भन्ने प्रस्ताव राखेका छैनन् । त्यस्तो प्रस्ताव आएमा काम गर्ने इच्छा भने उनीमा छ । तर मनदुखाइ भने छैन । ‘अहिले तत्काल त बच्चाहरू सानै छन् । व्यावसायिक जिम्मेवारी पनि छ’, उनले आफ्नो परिस्थिति खुलाए ।
क्यानडामा भने उनी कृषि फार्म सञ्चालन गरिरहेका छन् । दुई सय वर्ष पनि इतिहास नभएको यो देश विश्वकै समृद्धमा पर्छ । यसबाट धेरै कुरा सिक्ने सकिने उनको अनुभव छ । ‘यहाँ व्यासायिक रूपमा कृषिमा संलग्न छु । भविष्यमा नेपालमै गएर केही गर्ने सोच बनाइरहेको छु’, उनले योजना सुनाए ।