CanadaKhabar.com

Wednesday, April 24, 2024 -
  • ट्रम्प झुक्दा अवैध आप्रवासीलाई फाइदा: १८ लाखलाई अमेरिकी नागरिकताको बाटो खुला

    वासिङटन डिसी: आप्रवासीप्रति कठोर देखिँदै आएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय यससम्बन्धमा नरम हुँदै आएका छन्।

    संघीय सरकारलाई फण्ड उपलब्ध गराउने अस्थायी विधेयकमा डेमोक्रेट्सले तगारो लगाएपछि ट्रम्प आप्रवासीहरुप्रति नरम बनेका थिए।

    यो विधेयक सिनेटमा रोकिदाँ ३ दिनसम्म कैयन अमेरिकी सरकारी कार्यालय बन्द भएका थिए। यदि विधेयक रोकिरहेमा यो समस्या झनै बढ्न सक्थ्यो।

    आप्रवासीको हकअधिकारको पक्षमा रहदै आएको डेमोक्रेट्सले यही मौकामा राष्ट्रपति ट्रम्प र उनको दल रिपब्लिकनलाई आप्रवासनसम्बन्धी नीतिमा झुक्न बाध्य बनाए।

    फलस्वरुप अमेरिकी राष्ट्रपति कार्यालयले बिहिबार आप्रवासनसम्बन्धी नीति प्रस्ताव गरेको छ। आप्रवासनसम्बन्धी प्रस्तावले अमेरिकामा गैरकानुनी रुपमा बस्नै आएका १८ लाख आप्रवासीले अमेरिकी नागरिकता पाउने बाटो खुला भएको छ।

    प्रस्तावमा मेक्सिकोको सीमानामा पर्खाल लगाउनका लागिसमेत बजेट प्रस्ताव गरिएको छ। दुबै प्रस्तावका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ बिलियन अमेरिकी डलर लगानी गर्ने जनाएका छन्।

    यसबारे विस्तृत जानकारी भने ह्वाइट हाउसले अर्को हप्तामात्र दिने भएको छ। गत हप्तामात्र संघीय विधेयक सिनेटमा रोकेपछि अप्ठेरोमा परेका राष्ट्रपति ट्रम्प डेमोक्रेट्सको मुद्दामा झुक्नुपरेको थियो।

    सहमतिपछि अमेरिकामा सरकारी सटडाउन खुल्यो। यसले पक्कै पनि आप्रवासीप्रति कठोर रहदै आएको ट्रम्प नरम भएको र प्रस्ताव पेश हुने अनुमान गरिएको छ।

    पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा जन्मेका बालबालिकालाई स्वत नागरिकता प्रदान गर्ने कदम चालेपनि ट्रम्पले भने यसलाई छेक्ने नीति अपनाएका थिए। यस नीतिले ६ लाख ९० हजार बालबालिका प्रभावित भएका थिए।

    बुधबार मात्र राष्ट्रपति ट्रम्प यस्ता बालबालिकाप्रति सकारात्मक देखिएका छन्। उनले भनेका छन्, ‘हामी उनीहरुलाई यहाँ बस्ने अनुमति दिदैँछौ।’