विचार

नयाँ कार किन्दै शंकर विसी

By canadakhabar

March 16, 2015

नेपालगञ्जमा जन्मे हुर्केका शंकर विसीका बावुआमाको सपना सीएमए पढाएर सामान्य स्वास्थ्यकर्मी बनाउने थियो । तर शंकर विसीको रगत रगतमा डान्सको भूत थियो, त्यसले उनी होस्टलबाट भागेर काठमाडौं आइपुगे । साथमा थियो दुईजोर कपडा र १२ सय रुपैयाँ । आज भन्दा ९ वर्ष अगाडि काठमाडौं आइपुगेका शंकर विसीलाई आजको दिनसम्म आउँदा नचिन्ने सायदै कमै होलान् । लोकदोहरी क्षेत्रमा त उनको एकक्षत्र राज नै छ । त्यसो त उनी चलचित्रमा पनि त्यत्तिकै व्यस्त छन् पछिल्लो समय । काठमाडौं आएपछि कोरस डान्सबाट आफ्नो करियर शुरु गरेका उनले सहायक निर्देशनको काम पनि गरे केही समय । काम गर्ने क्रममा पछि फर्केर हेर्न परेको छैन उनले । कामको दौरानमा पहिलो निजी सवारीका रूपमा उनले १ लाख ८० हजारमा पल्सर १८० सिसी मोडलको बाइक किने । कामको रफ्तार र सफलतासँगै उनले चाडै नै चारपाङ्ग्रे सवारी साधनलाई आफ्नो निजी सवारी साधन बनाए ।

आजभन्दा ६ वर्ष अगाडि स्यान्ट्रो कारलाई आफ्नो पहिलो चारपाङ्ग्रे सवारी साधन बनाएका उनी अहिले पनि त्यही कारमा हुँइकिरहेका छन् । त्यतिवेला उनले स्यान्ट्रो ९ लाखमा किनेका थिए । चाँडै नै सवारी साधन परिवर्तन गर्न लागेका उनी हुन्डाई आई– २० वा आई–१० खरिद गर्ने तयारीमा छन् । त्यसो त उनको ड्रिम कार भने रेन्ज रोभर रहेको छ । अनगिन्ती लोकदोहोरीमा मोडलिङ गरेका उनले थुप्रै स्टेज कार्यक्रमहरू पनि गरेका छन् । ७ हजार पारिश्रमिकबाट यस क्षेत्रमा काम शुरु गरेका उनी अहिले १ देखि २ लाखसम्म पारिश्रमिक लिने गर्छन् ।

प्रायः आँफै सवारी साधन चलाउन मन पराउने उनी सुटिङलगायत अन्य काममा आफैंले गाडी चलाएर जाने गर्छन् । ड्राइभिङ गर्दा प्रायः भावुक गीतहरू सुन्न मन पराउँछन् उनी । उनको लामो यात्रा आफ्नै घर नेपालगञ्जसम्मको छ । बाटोमा अहिलेसम्म गाडीका कारण दुःख नपाएका उनी गाडीको सर्भिसिङमा अथवा गाडीलाई अपडेट राख्नमा विशेष ध्यान पु¥याउँछन् । उनी भन्छन्, ‘गाडीको मर्मतसम्भारमा विशेष ध्यान दिने बानीका कारण अहिलेसम्म गाडी बिग्रिएर बाटोमा बास बस्नु परेको छैन ’। गाडीमा अहिलेसम्म कसैलाई लिफ्ट नदिएको बताउने उनी लेडिजले समेत त्यो मौका नपाएको बताउँछन् । देश विदेशका विभिन्न कार्यक्रमहरूमा आफूलाई व्यस्त राख्दै आएका उनीसँग विदेशका सडक र सवारी रुलहरूको ज्ञान पनि छ । हाम्रो देशको सवारी साधनको जाम हटाउन पनि उनीसँग केही उपायहरू रहेको बताउँछन् । उनी गुनासो गर्छन्, ‘रेड लाइटमा सवारीधनीले कुर्ने समय भनेको ट्राफिकको मुडमा भर पर्दछ ’।

काठमाडौंमा सवारी साधनको चापले गर्दा सोचेजस्तो समय र गतिमा सवारी साधन हाक्न नसक्ने र काठमाडौं बाहिर त्यसको कुनै मापन नभएका कारण दुर्घटना हुने गरेको उनी बताउँछन् । ट्राफिक नियम उल्लंघन गर्नेलाई अझै कडा नियम लगाउनुपर्छ उनको भनाइमा । ‘विदेशमा ट्राफिक नै नदेखिए पनि कडा ट्राफिक नियमका कारण कसैले नियम उल्लंघन गर्न सक्दैनन् । तर हामीकहाँ ट्राफिक प्रहरी भए पनि फितलो नियम र कमजोर कार्यान्वयनका कारण ट्राफिक समस्या बढिरहेको छ,’ उनले भने । लोकदोहरी भनेको हाम्रो स्थानीय संस्कृति हो । यही क्षेत्रमा लागेर घरघडेरी र गाडी चढ्ने हैसियत राख्छन् विसी । गाडीको छनोटमा माइलेज र रिसेल भ्यालु हेर्ने उनी गाडीको लुक्स पनि राम्रो देखिनुपर्छ भन्ने मान्यता राख्छन् ।