समाचार

मेकानिक्सका साथी

By canadakhabar

April 02, 2015

दीपबहादुर बम, पेशाले अटो मेकानिक्स हुन् । उनी ट्रेड युनियनमा पनि उत्तिकै क्रियाशील छन् । अटो मेकानिक्स पेशाको उनीसँग झण्डै तीन दशकको अनुभव छ । अटो मेकानिक्स पेशामा लागिरहेका उनले मजदुरको पक्षमा काम शुरु गर्न ट्रेड युनियनको यात्रा थालेका हुन् ।

‘मजदुरका विषयमा कुरा गर्न सजिलो छ । तर, नेतृत्व दिएर उनिहरुको हकहितमा काम गर्न धेरै गाह्रो छ’ बमले भने । उनी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सेती अञ्चल अध्यक्ष हुन् । जिफन्ट अध्यक्ष भएर पनि उनले तीन कार्यालय व्यतित गर्न लागिसके । यो बीचमा मजदुरका हितमा धैरै काम गरेको उनले सुनाए । जिफन्टमा देशभर चार लाख ३६ हजार मजदुर आबद्ध छन् । सेती अञ्चलमा सात सय ७३ सदस्य रहेको उनले बताए । ‘सेती अञ्चलमा रहेका सबै अटो मेकानिक्स जिफन्टमै आबद्ध भएका छन्,’ उनले भने । जिफन्टमा अटो मेकानिन्सको आबद्धता बढ्नुको कारण पनि सुनाए । ‘हामीले मजदुरलाई आपत्कालीन अवस्थामा आर्थिक सहयोग गर्न सकियोस् भनेर कोष स्थापना गरेका छौं, उक्त कोषमा हरेक दिन प्रत्येक मजदुरले एक रुपैयाँका दरले रकम जम्मा गरिरहेका छन्,’ उनले भने, ‘मजदुरलाई अप्ठ्यारो पर्दा त्यही कोषबाट आर्थिक सहयोग पनि हस्तान्तरण गर्छौं’ उनले भने । उनी लुब्रिकेन्टको कारोवारमा पनि संलग्न छन् ।गल्फ र कन्ट्रोल ब्राण्डका लुब्रिकेन्ट बिक्रीबाट प्राप्त भएको रकमको निश्चित प्रतिशत जिफन्टको आपत्कालीन कोषमा योगदान गर्ने बातावरण पनि बनाएका छन् । ‘कोषको रकम बढाउन म आफैंले गल्फ र कन्ट्रोल लुब्रिकेन्टको बिक्रीबाट प्राप्त भएको रकमको केही हिस्सा जिफन्टको आपत्कालीन कोषमा राख्दै आएको छु,’ उनले भने, ‘यसो गर्दा कोषको रकम पनि बढेको छ भने दुवै ब्राण्डको लुब्रिकेन्टको प्रवद्र्धन पनि भइरहेको छ ।’ उनले मेकानिक्सको स्वास्थ्यबारे पनि ध्यान दिइरहेको बताए । जिफन्टबाट विभिन्न समयमा रक्तदान शिविर सञ्चालन गरी रगत संकलन गरिरहेको उनले बताए । त्यसरी संकलित रगत कुनै मेकानिक्स वा उसको परिवारका सदस्यलाई आवश्यक पर्दा बिनाझन्झट उपलब्ध गराउने व्यवस्था भइरहेको उनले जानकारी दिए । धनगढी क्षेत्रमा रिक्सा चालकको बाक्लो उपस्थिति छ । रिक्सा चलाएरै जीविको पार्जन गर्नेको संख्या ठूलो छ । तर, अधिकांशले भाडाको रिक्सा प्रयोग गरिरहेका छन् । जिफन्टले भाडाको रिक्सा प्रयोग गर्नेमध्ये दुई सय ८० चालकलाई मालिक बनाएको बमले जानकारी दिए । ‘ट्रेड युनियन माध्यमबाटै दुई सय ८० रिक्सा चालकलाई मालिक बनाएका छौं,’ उनले भने । सो क्षेत्रमा पहिले भारतीय मेकानिक्सको बाहुल्यता थियो । पहिले मुस्किलले १० प्रतिशत मात्रै नेपाली मेकानिक्स र बाँकी ९० प्रतिशत भारतीय मेकानिक्स थिए । तर, अहिले मेकानिक्स पेशामा काम गर्ने नेपालीको संख्या बढेको उनले बताए । धनगढीमा हाल ९० प्रतिशतभन्दा बढी नेपाली मेकानिक्स रहेका छन् । मेकानिक्स पेशामा थप जनशक्तिलाई आकर्षित गर्न र भएका जनशक्तिलाई दक्षता प्रदान गर्न समय समयमा जिफन्टका माध्यमबाट तालिमहरू सञ्चालन भइरहेका छन् । तालिम प्रदायक संस्थासँग मिलेर जिफन्टले मेकानिक्सलाई तालिम प्रदान गर्दै आएको छ । ती तालिमले मेकानिक्सहरूको क्षमता अभिवृद्धिमा सहयोग पुगिरहेको बमले जानकारी दिए ।