एउटा भीमकाय १८ पांग्रे ट्रक क्यानडाबाट अमेरिकाका लागि छुट्छ । जसको लम्बाई ५३ फिट छ । जसको एकातिरको बाहिरी भागमा फेवाताल र माछापुच्छ«े, एकसिंगे गैंडा, पाटेबाघ, प्याराग्लाइडिङ, पदयात्रा, र्याफ्टिङ र रक क्लाइम्बिङका चित्त तान्ने दृश्य छन् । अर्कोतिर छन्— जीवित देवी कुमारी, बैद्ध स्तुपा, पाटन दरबार र पशुपतिनाथ । अमेरिका र क्यानडामा गुड्ने अरू यस्तै प्रकारका दुई हजार नौ सय यस्ता भीमकाय ट्रकमा कसैको चासो हुँदैन । तर, एक सय २० किलोमिटर प्रतिघन्टाको गतिमा बत्तिएको नरबहादुर (एनबी) टन्डनको ट्रक आउनेबित्तिकै मान्छेले हेरिहाल्छन् । अमेरिकाका ४६ र क्यानडाका १० राज्यमा जब ट्रक रोकिन्छ, तब अंगालो हाल्छन् र ट्रकसँग फोटो खिच्छन्– क्लिक्क, क्लिक्क… । यो आकलझुकलको घटना होइन । सन् २०१२ को जनवरीदेखि सुरु भएको यो ‘सेलिब्रेटी ट्रक’को क्रेज पहिलेभन्दा झन्झन् बढ्दो छ । यो ट्रक सरकारले नै चलाएको, चलाउन लगाएको वा सहयोग गरेर अभियानका रूपमा नेपालको प्रचार गराएको पनि होइन, यो त एक नेपाली ट्रक ड्राइभरको देशप्रतिको मायाको उपज हो । ‘संसारकै सम्पन्न मुलुकमा आफैँ ट्रक किनेर चलाउँदै, त्यहीँको स्थायी बासिन्दा भएर सुविधासम्पन्न तरिकाले घर गृहस्थी चलाए पनि माटोको माया लाग्यो र यस्तो गरेँ,’ एनबीले भने, ‘सुरुवात मेरै व्यक्तिगत पैसाले गरेको हुँ ।’ एनबी दाङ, हलबार–७ लामिदमारका हुन् । नेपालमा जन्मेर विदेशमा स्थायी बसोबासको अनुमति पाएर धेरै नेपाली बसेका छन् । कतिले जन्मभूमिका लागि केही गरेको भए पनि सबैलाई आ–आफ्नै धन्दाको चिन्ता छ । तर, विदेशमा आफ्नो देशको चिन्ता बढी गर्ने व्यक्ति हुन्, एन्बी टन्डन । उनले आफ्नो रोजीरोटीका लागि गर्ने कामसँगै देशको प्रचार पनि गरिरहेका छन् । ‘म जन्मेको देशको राष्ट्रियताका लागि मैले जे काम गरिरहेको छु, त्यो काम मेरो आफ्नो रोजीरोटीको कामसँगै एकसाथ हुन्छ,’ टन्डन भन्छन् ।
दाङबाट सन् २००५ मा अध्ययनका लागि क्यानडा छिरेका टन्डन उतै रोजगारीमा लागे । अहिले क्यानडाको अन्टारियो प्रान्तको ब्रामटन सहरका स्थायी बासिन्दा समेत भइसकेका टन्डन आफ्नै ट्रक चलाउँछन् । क्यानडावासी भए पनि देशको मायाले प्रचार अभियानमा लागेका हुन् । ‘बसाइँ जहाँ भए पनि जन्म ठाउँको मायाले पिरोल्ने रहेछ,’ उनी भन्छन्, ‘त्यसैले आफ्नै ट्रकमा नेपालका चित्र राखेर क्यानडा र अमेरिकामा प्रचार अभियानमा लागेको हुँ । विदेशमा रहेर पनि जन्मभूमिका लागि केही गरौँ भनेर सोचिरहेको थिएँ । सन् २०१२ मा एउटा आइडिया फुर्यो । आफ्नै ट्रकमा देशका महत्त्वपूर्ण तस्बिर राख्ने र प्रचार गर्ने अनि सोध्नेलाई नेपाल घुम्न सिफारिस गर्ने ।’ सुरुमा एनबीले त्यसरी ट्रक रंगाउन पाइन्छ वा पाइँदैन भनेर अध्यागनममा बुझे । कानुनले त नरोक्ने रहेछ तर उनी निराश बने । किनभने, क्यानडा÷अमेरिकामा त्यति ठूलो ट्रकभरि चित्रहरु बनाउन धेरै खर्चिलो हुने रहेछ । ‘तिम्रो श्रीमतीभन्दा पनि राम्रोसँग सिगार्न सक्छौँ, तर त्यत्रो खर्च गर्ने तिमी मूर्ख हौ र भन्ने खालका कुरा अध्यागनमका कर्मचारीले गरे,’ उनले भने, ‘तर, मैले नाफाका लागि होइन, मेरो देशको प्रचारका लागि हो भनेपछि सुरुमा डेढ लाख रुपैयाँभन्दा बढी खर्च गरेर ट्रकभरि तस्बिरले रंगाएँ ।’ त्यसपछि भने पहिला निराश बनाउने अध्यागमनका कर्मचारी नै प्रशंसा गर्न थाले, उनी हौसिए । ‘अमेरिका र क्यानडाका तत्कालीन राजदूत डा. शंकर शर्मा र भोजराज घिमिरेलाई आफ्नो योजना सुनाए पनि खासै चासो देखाएनन्,’ उनी भन्छन्, ‘अनि साथीभाइ र केही नेपाली संघ–संस्थासँग केही सहयोग जुटाएँ ।’ ट्रकवरिपरि तस्बिर बनाउन उनले अमेरिकी कम्पनी गुणस्तरमा निकै महँगो तिरे । पाँच वर्षसम्म रंग नखुइलिने, खुइलिएमा अर्को बनाइदिने ग्यारेन्टीसाथ फ्लेक्स बनाए । काम सुरु भएपछि भने अमेरिकाका लागि नेपाली राजदूतले संस्थागत एक हजार डलर र क्यानडाका लागि नेपाली राजदूतले व्यक्तिगत रुपमा तीन सय डलर तिरे । ‘त्यो पैसा मैले तस्बिरहरु सफा गर्नका लागि खर्च गर्ने गरेको छु,’ उनी भन्छन् । उनको ट्रक अहिले अमेरिका र क्यानडामा सेलिब्रेटी छ । उनी बास बस्ने ठाउँमा सयौंको संख्यामा ट्रक र ट्रकड्राइभर भेला हुन्छन् । उनको सिर्जनशीलताको प्रशंसा गर्छन् । ट्रक रोकिने ठाउँमा मानिसहरू जम्मा हुन्छन् ट्रकसँगै फोटो खिच्छन् । धेरै विदेशीले त नेपालबारे सोध्छन् । ‘मैले यहाँ तस्बिरमा भन्दा धेरै सुन्दर छ नेपाल एकपटक घुमेर आउनुस् भनेर सल्लाह दिन्छु,’ टन्डन भन्छन्, ‘कति त मसँग आइडिया लिएर नेपाल घुम्न पनि पुगे ।’ खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा नासाको उनको ट्रक आकर्षणको केन्द्रबिन्दु बनेको थियो । रेग्मीले उनको निकै प्रशंसा समेत गरेका थिए । आफ्नै सिर्जनशीलता र लगानीमा नेपालको प्रचारप्रसार गरेबापत टन्डनलाई अहिले क्यानडा र अमेरिकामा रहेको नेपाली दूतावासले सद्भावना दूतका रुपमा काम गर्न समेत सिफारिस गरेको छ । दूतावासले दिएको जिम्मेवारीपछि टन्डन निकै खुसी छन् । ‘पहिला आफ्नै मेहनतमा देशका लागि काम गरेँ, अहिले देशको प्रतिनिधिको रुपमा काम गर्ने अवसर पाएको छु,’ उनले रातोपाटीसँगको कुराकानीमा भने, ‘देशको पर्यटन प्रवद्र्धनका लागि यसरी आधिकारिक रूपमा काम गर्ने अवसर दिनुभएकोमा खुसी छु ।’ नेपालको पर्यटन बोर्डले औपचारिकता दिएपछि उनी आधिकारिक रूपमा सद्भावना दूत बन्ने छन् । पर्यटन विकासका लागि आफ्नो पलहमा नेपाल सरकारको तर्फबाट रचनात्मक सहयोगको अपेक्षा राखेर उनले प्रधानमन्त्रीलाई स्मरणपत्र समेत बुझाइसकेका छन् । आफूलाई दूतावासले दिएको जिम्मेवारीलाई आधिकारिकता प्रदान गरी आफ्नो अभियानलाई सहयोग गर्न पनि उनले सरकारसँग अनुरोध गरेका छन् । ‘मेरो मात्र एक्लो योगदानले अमेरिका र क्यानडामा पर्यटन प्रवद्र्धन अभियान सफल नहुन सक्छ,’ उनले भने, ‘यो अभियानलाई संस्थागत गर्न सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र गैरसरकारी संस्थाहरूको सहयोगको अपेक्षा राखेको छु ।’
भरत पाण्डेय ratopati.com