समाचार

नयाँं बर्षको शुभकामना आदानप्रदान सहित क्याल्गरीमा सीएनसीएको साधारण सभा सम्पन्न (फोटो फिच्रर सहित )

By canadakhabar

April 16, 2016

बैशाख ४ – क्याल्गरी, क्यानाडा

नयाँं बर्षको शुभकामना आदान-प्रदान सहित  क्यानाडाको क्यालगरी सहरमा क्यालगरी नेपाली कम्युनिटी एसोसिएसन  (सीएनसीए ) को बार्षिक साधारण सभा सम्पन्न  भएको छ । यही ९ अप्रिल , २०१६  शनिबार स्थानिय  सिल्भरस्प्रिंग  सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा  संस्थाले बर्षभरी गरेको कामको समिक्षा गर्दै आगामी बर्षको लागि सर्वसम्मतिबाट नयाँं कार्यसमिति  समेत चयन गरिएको छ ।

संस्थाका अध्यक्ष प्रसन्नमान श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा  महासचिव ऋषि बस्ताकोटीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष दिब्य प्रधानले आय – व्यय विवरण जानकारी गराउनुभएको थियो। संस्थाको नियमित कार्यक्रमका अतिरिक्त गत बर्ष सीएनसीएले नेपालमा  गएको प्रलयकारी भुकम्पमा परेकाहरुलाइ  तत्कालिन उद्दार र राहतका साथै  पुनर्निर्माणमा सघाउनुको साथै संस्थाको सम्बन्ध बिस्तारमा उल्लेख्य काम गरेको प्रतिवेदनमा  उल्लेख  गरिएको थियो  ।

 

सीएनसीएले क्याल्गरीमा व्यापक जनसमुदाय परिचालन गरी क्यानेडियन रेडक्रस, मेडिकल मर्सी क्यानाडा लगायतका संस्थासंगको सहकार्यमा   क्यानेडियन डलर १,१७,४४१ संकलन गरेको र उक्त रकम  क्यानेडियन रेडक्रस, नेपाली दुतावास,  मेडिकल मर्सी क्यानाडा र लायन्स क्लबमार्फत नेपालका भुकम्प प्रभावित जिल्लाहरुमा सहयोग गरिएको जानकारी गराइयो ।

कुल रकम मध्ये  तत्कालिन राहत र उद्दारमा क्यानेडियन डलर ४८,१९९ र  पुनर्निर्माणमा क्यानेडियन डलर  ६९,३२१ सहयोग गरिएको छ ।  संस्थाले भूकम्पले  क्षति पुगेका धादिंगमा दुइ, गोर्खामा  एक , काठमाडौँमा एक र भक्तपुरको एक गरी पांच विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका अतिरिक्त जाडो याममा रसुवा, सिन्धुपाल्चोक र धादिंगका  भुकम्प पीडित विपन्न  बस्तिहरुमा न्यानो कपडा, औषधि र अन्य मानवीय सहयोग समेत प्रदान गरिएको साधारण सभामा जानकारी गराइयो ।

महासचिव र कोषाध्यक्षको प्रर्तिवेदनसंगै सीएनसीएद्वारा संचालित  नेपाली स्कूलकातर्फबाट संयोजक    मंजु दाहालले संक्षेपमा प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो । स्वयंसेवी रुपमा संचालित  नेपाली स्कूलमा विभिन्न किसिमले योगदान पुर्याउने महानुभावहरूलाई  उहाले धन्यवाद दिंदै आगामी दिनमा पनि आफ्ना नानीहरूलाई  नेपाली स्कूल नियमित पठाउन र निरन्तर स्वयम्सेवाको लागि आह्वान गर्नुभएको थियो।

सी एन सी ए कार्यसमितिले  गरेको कामको उच्च मुल्यांकन गर्दै साधारणसभाकातर्फबाट  सीएनसीएका पुर्व अध्यक्षहरू र सल्लाहकारहरुले कार्यसमितिलाई खादा अर्पण गरेर सम्मान गर्नुभएको थियो । साधारण सभाले आगामी बर्षको लागि  दिव्य प्रधानको अध्यक्षतामा  सर्वसम्मतिबाट नया कार्यसमिति समेत चयन गरेको छ ।

अन्य पदाधिकारीहरूमा  ज्ञानेन्द्र श्रेष्ठ उपाध्यक्ष, हरिबोल शर्मा  महासचिव, पुर्णिमा लिम्बु कोषाध्यक्ष, दिनेश घिमिरे सामाजिक कार्यक्रम संयोजक निर्वाचित हुनुभएको छ । यसै गरी प्रज्वल मर्दन बस्नेत, विकाश ढुंगेल, नवीन भुषाल, सुरज गुरुङ, श्रीराम न्यौपाने र  लिशा सिंहलाइ  बोर्ड अफ डाइरेक्टर चयन गरिएको छ ।

निर्वाचन अधिकृत डा नगेन्द्र शर्माले  नवनिर्वाचित पदाधिकारीहरूलाई  निर्वाचनको प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने  संस्थापक अध्यक्ष मोहन वैद्य, सल्लाहकार प्रेम गुरुङ  र एनआरएन क्यानाडाका सदस्य नारायण  पोख्रेलले बधाई तथा शुभकामना दिनुभएको थियो । क्याल्गरीका नेपाली मूलका समुदायको व्यापक उपस्थितिमा भएको कार्यक्रममा  सीएनसीएद्वारा संचालित नेपाली स्कूलका विद्यार्थीहरूले   नेपाली तथा क्यानेडियन राष्ट्रिय गान  गाएका थिए भने स्थानीय कलाकारहरूले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए।