एजेन्सी । उत्तर कोरियाले देशको सम्प्रभुतामा खतरा उत्पन्न नभएसम्म परमाणु हतियारको प्रयोग नगर्ने बताएको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सम्प्रभुतामा दखल नपरेसम्म परमाणु हतियार प्रयोग नगर्ने बताएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्दै सन् २००६ मा आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो ।
उत्तर कोरियाले अहिले पनि अमेरिकार र दक्षिण कोरियालाई कहिलेकाँही परमाणु हतियारबाट हमला गर्ने धम्की दिँदै आएको छ ।
उत्तर कोरियाली वर्कर्स पार्टी कंग्रेसमा बोल्दै किम जोङ उनले आफूले दक्षिण कोरिया र अमेरिकालगायतका देशसँगको सम्बन्ध सामान्य बनाउन चाहेको समेत बताएका छन् ।
उनले विश्वास र आपसी तालमेलका लागि दक्षिण कोरियासँग धेरै वार्ता तथा कुराकानी हुनुपर्नेमा उनले जोड दिएका छन् ।
किमले उत्तर कोरियाले परमाणु अप्रसार तथा संसारलाई परमाणु हतियारमुक्त बनाउने कुरा समेत पालना गर्ने जनाएका छन् । सन् १९८० पछि उत्तर कोरियाली वर्कर्स पार्टीको पहिलो बैठक बसेको हो ।