काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार बन्ने लगभग निश्चित जस्तै भइसकेको छ ।
डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको सूचीमा हिलारी क्लिन्टन अघि रहेपनि उनलाई अझै केही परिश्रम गर्नुपर्नेछ तर रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित भइसकेको छ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यसरी हेर्दा अहिले जुनसुकैले परिणाम आफ्नो पक्षमा पारेपनि ऐतिहासिक हुनेछ ।
यसका केही तर्क र कारणहरु छन् । बाराक ओबामा सन् २००९ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा उनको उमेर मात्रै ४७ वर्ष थियो र उनी अमेरिकाको इतिहासमै पाँचौं कम उमेरका राष्ट्रपति हुन ।
४२ वर्षको उमेरमा राष्ट्रपति बनेका थियोडोर रुजबेल्ट सबैभन्दा कम उमेरमा अमेरिकी राष्ट्रपति बनेका थिए । तर अहिलेका सम्भावित उम्मेदवार रहेका दुवैजना उम्मेदवार वर्तमान राष्ट्रपति ओबामा भन्दा बढी उमेरका छन् ।
बर्नी स्याण्डर्स २० जनवरीमा इनागरेशन डे का दिन ७५ वर्षका हुँदैछन् । यो इनागरेशन डेका दिन सबैभन्दा बढी उमेरमा राष्ट्रपति बनेका रोनाल्ड रेगनभन्दा ६ वर्ष बढी हो । डोनाल्ड ट्रम्प १४ जुनमा ७० वर्ष पुग्दैछन् ।
उनी राष्ट्रपति बनेमा इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपति बन्नेछन् । हिलारी क्लिन्टन चुनावभन्दा दुई साताअघि ६९ वर्ष पुग्दैछिन् । उनी राष्ट्रपति बनेमा दोस्रो सबैभन्दा बढी उमेरकी राष्ट्रपति बन्नेछिन् ।
अमेरिकामा इनागरेशन डे भनेको राष्ट्रपति र उपराष्ट्रपतिलाई सपथ दिलाउने दिन हो । अहिले दोस्रो सबैभन्दा बढी उमेरका अमेरिकी राष्ट्रपतिमा विलियम हेनरी ह्यारिसन रहेका छन् ।
१८४१ मा राष्ट्रपति बनेका उनी बेलायती भूमीमा जन्मिएका अन्तिम अमेरिकी राष्ट्रपति हुन् । ट्रम्प र क्लिन्टन वा ट्रम्प र स्याण्डर्स जोसँग प्रतिस्पर्धा भएपनि १९४४ पछि पहिलो पटक न्युयोर्कका नेताबीच प्रतिस्पर्धा हुनेछ ।
१९४४ मा न्युयोर्कका गर्भनर थोमस ई डेभी र फ्रेङ्कलिन डि रुजबेल्टबीच प्रतिस्पर्धा भएको थियो । जसले जितेपनि ७१ वर्षपछि न्युयोर्कबाट पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् ।
हिलारी क्लिन्टनको जन्म शिकागोमा भएपनि उनी न्युयोर्ककी सिनेटर भएकी थिइन् भने उनी न्युयोर्कमै बस्दै आएकी छन् । ट्रम्पले जितेमा अर्को पनि रेकर्ड बन्नेछ ।
उनी ६० वर्षपछि कुनै राजनीतिक अनुभव नभएका र निर्वाचित संस्था चलाएको अनुभव नभएका व्यक्ति हुनेछन् । यसअघि राजनीतिक अनुभव नभएका अमेरिकी राष्ट्रपति आइजनआवर थिए ।
उनी दोस्रो विश्वयुद्धमा मित्र राष्ट्रको सेनाका सुप्रिम कमाण्डर थिए । उनी १९५३ मा राष्ट्रपति बनेका थिए । यसअघि १९२९ मा राष्ट्रपति बनेका हर्बट हुवर एक इन्जिनियर र मानवतावादी थिए ।
हिलारी क्लिन्टन राष्ट्रपति बनेमा उनी पहिलो महिला अमेरिकी राष्ट्रपति बन्नेछिन् । यसअघि २००८ मा रिपब्लिकन पार्टीका उम्मेदवार जोन मेकेन रहँदा अलास्कारकी गर्भनर सारा पलिन उपराष्ट्रपति पदकी उम्मेदवार थिइन् ।
सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट बाल्टर मोडेल राष्ट्रपतिको दौडमा रहँदा गेराल्डिन फेरारो उपराष्ट्रपतिको उम्मेदवार थिइन् । तर दुवै निर्वाचनमा उनीहरुको जित भएन ।