काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधी उचालेको छ ।
सिजनको अन्तिम खेलमा ग्रानाडालाई ३–० ले पराजित गर्दै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस लिग फुटबलको उपाधि जितेको हो ।
बार्सिलोनाले ला लिगाको उपाधी उचालेको यो पछिल्ला ८ वर्षमा छैठौं र समग्रमा २४ औं अवसर हो ।
पछिल्ला ८ वर्षमा एक पटक रियल र एक पटक एथ्लेटिको मड्रिडले उपाधी जितेका छन् ।
बार्सिलोनालाई लगातार दोस्रो पटक उपाधी पक्का गराउँनका लागि उरुग्वेका स्टार लुईस स्वारेजले ह्याट्रिक गरे । बार्सिलोनाले ३८ खेलबाट ९१ अंक जोड्यो भने रियलले ९० अंक बनायो ।
अर्को खेलमा डेपोर्टीभो ला कोरुनालाई २–० ले हराएको रियल मड्रिड दोस्रो भयो भने एथ्लेटिको मड्रिड तेस्रो भयो ।
गत मार्च महिनाको अन्त्यसम्म दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग ९ अंकको अग्रता बनाएको बार्सिलोनाले अप्रिलको सुरुमा लगातार तीन खेलमा पराजय बेहोरेपछि उपाधीको छिनोफानो अन्तिम खेलबाट गरिएको हो । त्यसपछि लगातार ५ खेलमा जित निकालेको बार्सिलोनालाई पछ्याइरहेको रियलले पनि पछिल्ला १२ खेलमा जित आत्मासात् गरेको छ ।
यो सिजनमा वार्सिलोनालाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका लुईस सुवारेजले कुल ४० गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार समेत पाएका छन् ।
बार्सीलोनाले अब कोपा डेल रे फुटबेलको फाइनलमा यही जेठ ९ गते आईतवार सेभिल्लासँग प्रतिस्पर्धा गर्नेछ । रियल र एथ्लेटिको पनि युरोपकै सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधीका लागि जेठ १६ गते प्रतिस्पर्धा गर्नेछन् ।