एजेन्सी । अमेरिकामा सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणमा साउदी सरकारविरुद्ध मुद्दा हाल्ने विधेयक सिनेटले पास गरेको छ ।
जस्टिस अगेन्स्ट स्पोन्सर्स अफ टेररिजम एक्ट अब अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा पठाइनेछ ।
विधेयक पारित भएपछि साउदी अरबका विदेश मन्त्रीले भने यसको बदलामा साउदी सरकारले अमेरिकामा रहेको लगानीबाट हात झिक्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस विधेयकमा भिटो प्रयोग गर्ने बताएका छन् । तर, डेमोक्रेटिक सांसदहरुले ओबामाले भिटो प्रयोग नगर्ने विश्वास व्यक्त गरेका छन् ।
यदि यो विधेयक पास भएर कानून बन्यो भने सेप्टेम्बर ११ को आक्रमणका पीडितले साउदी सरकारका कुनै पनि यस्ता सदस्यविरुद्ध मुद्दा चलाउन सक्छन्, जसको यो आक्रमणमा भूमिका रहेको मान्न सकिन्छ ।
साउदी अरबले भने २००१ मा भएको यो आक्रमणमा आफ्नो भूमिका अस्वीकार गर्दै आएको छ । वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको यो आक्रमणाा ३००० मानिसको ज्यान गएको थियो ।
आक्रमणमा प्रयोग गरिएको विमान अपहरण गर्ने १९ जना व्यक्ति मध्ये १५ जना साउदी अरबका नागरिक थिए ।
सेप्टेम्बर ११ को आक्रमणबारे अध्ययन गर्न बनेको आयोगले साउदी सरकारको कुनैपनि संस्था र वरिष्ठ अधिकारीहरुले स्वतन्त्र रुपले सहयोग गरेको कुनै प्रमाण नभएको रिपोर्ट बुझाएको थियो ।
यो आक्रमणको जिम्मा चरमपन्थी संगठन अल कायदाले लिएको थियो । अलकायदाका प्रमुख ओसामा बिन लादेन साउदी अरबकै नागरिक भएपनि साउदी सरकारले उनको नागरिकता खारेज गरिसकेको थियो ।