समाचार

सहमतिबिना स्थानीय निर्वाचन सम्भव छैन : सिंह

By canadakhabar

May 19, 2016

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सहमतिबिना स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन् ।

दक्ष जनशक्ति विकास केन्द्रले बागबजारमा आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता सिंहले सरकारलाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गरे ।

उनले भने, ‘सरकार भाषण गर्नुभन्दा राजनीतिक सहमति जुटाउन लाग्नुपर्छ तब मात्र सबै निर्वाचन गर्न सम्भव हुन्छ ।’

पूर्व स्थानीय विकासमन्त्रीसमेत रहनुभएका नेता सिंहले स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरी चुनावको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा काँग्रेसको जोड रहेको स्पष्ट पारे ।

उनले मधेसी दलहरु आन्दोलनमा गएकाले झन जटिलतातर्फ मुलुक गएको भन्दै वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरे ।