काठमाडौं । ‘जनयुद्ध’को बाटो छोडेर शान्तिपूर्ण राजनीतिको मार्गमा ल्याउने बहुचर्चित चुनवाङ बैठकपछि विभिन्न टुक्रामा विभक्त हुँदै आएका माओवादी घटकहरु फेरि एक जुट भएका छन् ।
२०६२ असोल १८ देखि २२ सम्म रोल्पाको चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको बैठकले शान्तिपूर्ण राजनीतिमा फर्किने गरी लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पास गरेपछि मंसिरमा दिल्लीमा तत्कालीन सात राजनीतिक दलसँग १२ बुँदे समझदारी भएको थियो ।
सो १२ बुँदे समझदारीलगत्तै नेताहरु रविन्द्र श्रेष्ठ र मणि थापाले २९ फागुन २०६२ मा वक्तव्य जारी गर्दै त्यसको विरोध गरेका थिए ।
चुनुवाङ बैठकमा मणि थापा सहभागी भएका थिएनन् भने बैठकमा गएका रविन्द्र श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रले मात्रै नपुग्ने भन्दै ‘नयाँ लोकतान्त्रिक गणतन्त्र’ लेखिनुपर्ने बताएका थिए ।
शान्तिपूर्ण राजनीतिक प्रक्रियामा आउने तयारीसँगै त्यसबेला प्रवास ब्युरो प्रमुख रहेका टोपबहादुर रायामाझीलाई फिर्ता बोलाउँदै रविन्द्र श्रेष्ठलाई प्रवास ब्युरोमा पठाइएको थियो ।
मोहन वैद्य र सीपी गजुरेल भारतीय जेलमा रहेका बेला भएको चुनुवाङ बैठकमा नै रामबहादुर थापा र बाबुराम भट्टराईले अश्रुधारासहित आफूहरु अध्यक्ष पुष्पकमल दाहालमा विलीन भएको घोषणा गरेका थिए ।
शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै माओवादी पार्टीमा थप विभाजन आयो । पहिलो संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको माओवादीसँग नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको नेकपा (एकताकेन्द्र) को एकीकरण भएलगत्तै मातृका यादव विभाजित हुन पुगेका थिए ।
पहिलो संविधानसभा विघटन भएपछि २०६९ असार ४ गते बौद्धमा भेला गरी मोहन वैद्य किरणको नेतृत्वमा नेकपा–माओवादी गठन भयो । तर वैद्यले पनि पार्टीलाई एकढिक्का बनाईराख्न सकेनन् ।
२०७१ मंसिरमा नेत्रविक्रम चन्द विप्लव बाहिरिएर नेकपा माओवादी गठन गरे भने प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी)बाट डा.बाबुराम भट्टराईको समूह अलग भएर नयाँ शक्ति अभियानमा लागेका छन् ।
माओवादी आन्दोलनमा आएको विभाजनसँगै माओवादी पार्टीहरु कमजोर बन्दै गए भने उनीहरुमाथि लागेका युद्धकालीन मुद्दाहरुमा धमाधम पुरानै कानुनी आधारमा फैसला हुँदै गएपछि माओवादी घटकहरुलाई जबरजस्ती एकता अभियानमा धकेलिदियो ।
‘संक्रमणकाल लम्बिदै जाँदा विद्रोही पक्षलाई जसरी पनि ध्वस्त पार्ने अभियानमा अन्य राजनीतिक दलहरु लागे र उनीहरुमाथि लागेका मुद्दालाई समेत सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउने सहमति तोडिदै गयो यसले माओवादीहरुलाई एक बनाउन सहयोग पु¥यायो’, वाम विश्लेशक तथा माओवादी सल्लाहकार नरेन्द्र जंग पिटर भन्छन्, ‘आवेग, आग्रह, उत्तेजना, कुन्ठा र आक्रोशले फुटेका थिए । त्यसको पनि समीक्षा गर्दै गए र एक ठाउँ आइपुगे ।’
संक्रमणकालीन न्याय भन्दा पनि पुरानै कानुनअनुसार भटाभट जनयुद्धकालीन मुद्दाहरुको फैसला गरिन थालेपछि सबै माओवादी घटकहरु मुद्दाका आधारमा एक हुँदै गए भने सबै विभाजित पार्टीहरुमा एकताको मत पनि बलियो हुँदै गएपछि एकताको विन्दुसम्म आइपुगेको उनको भनाई छ ।
माओवादी आन्दोलनलाई एकताबद्ध बनाउँन भन्दैं एक वर्षअघि मात्रै नेताहरु नन्दकिशोर पुन , जनार्दन शर्मा, हितमान शाक्य, कुलप्रसाद केसी सोनाम र धर्मेन्द्र बास्तोलालगायतका नेताहरुले माओवादी आन्दोलन पुर्नगठन अभियानको सुरुवात गरेका थिए । उनीहरुले एकताको अभियान प्रचण्ड र वैद्यकै स्वीकृति लिएर सञ्चालन गरेका थिए ।
‘दोस्रो संविधानसभाको निर्वाचनअघि नै माओवादी पार्टीहरु एक हुने चर्चा चलेको थियो तर खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउने विषयमा कुरा मिल्न सकेन र प्रक्रिया भाँडियो’ एकता अभियानका पहलकर्ता नेता कुलप्रसाद केसीले भने, ‘दोस्रो पटक एकतको लागि गरेको प्रयास मुख्य दलबीच संविधान निर्माणका क्रममा भएको १६ बुँदे सहमतिले भंग हुने अवस्थामा पु¥यायो ।’
माओवादी आन्दोलनको एकताको विषयमा पटक पटक बहस र छलफल भएपनि त्यसले सार्थक रुप लिन सकेको थिएन । ‘एकताका विषयमा बहसले तिव्रता पाइरहेका बेला कार्यदिशाको विषयलाई लिएर हाम्रो पार्टीमा विभाजन आयो’, केसी भन्छन्, ‘यो सहि गरियो वा गलत गरियो समीक्षाकै पाटो हो ।’
केसीले सेना समायोजनका विषयमा पार्टीभित्रै देखिएको मतभेदका बिचमा सेना समायोजनका लागि बनेको सेना समायोजन विशेष समितिको सदस्यबाट राजिनामा दिएर वैद्यको लाइनलाई समर्थन गरेका थिए ।
‘फुटबाट माओवादी आन्दोलनले खाएको धक्काबाट पाठ सिकेर माओवादी आन्दोलनलाई एकताबद्द बनाउँन हामीले प्रयत्न ग¥यौं । एकता अभियानको एउटा अभियन्ताको हिसाबले मलाई आज अत्यन्तै गर्व लागेको छ’, उनले भने, ‘आफ्नै पार्टीलाई हाक्ने कुरा त चुनौतीपूर्ण हुन्छ भने, ‘धेरै पार्टी र तीनका नेताहरुलाई समेत छलफलमा ल्याएर एक ठाउँमा उभ्याउने काम झनै जटिल हुँदो रहेछ ।’
माओवादी आन्दोलनलाई एक बनाउने अभियानमा उभिएका एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले आफूहरुलाई विभाजनकै बेला पनि चित्त नबुझेको भन्दै नेताहरु फुटेपनि कार्यकर्ताहरु नफुटेका कारण अहिले आएर एकता सम्भव भएको बताए ।
‘एकताका विषयमा हामीले लामा लामा छलफल ग¥यौं’, हामीले भनेपनि नेताहरु एकतामा जाने अवस्था थिएन तर, कार्यनीति, कार्यदिशा, कार्यक्रमलगायतका विषयमा भएका निरन्तरका छलफल र बहसले आज सार्थक निश्कर्ष पाएको छ ।’
‘पार्टी विभाजनबाट कमजोर भयौं र हाम्रा मुद्दाहरु व्युताउन थालियो भन्ने कोणबाट मात्रै एकताको कुरा उठेको होइन’, उनी भन्छन्, ‘आन्दोलनका उपलब्धिको रक्षा र थप उपलब्धि हासिल गर्नका लागि पनि सबै एक हुनुको विकल्प थिएन ।’
विभिन्न १० माओवादी टुक्राबीच एकीकरण भएपनि अझै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा माओवादी र बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति बाहिरै रहेका छन् ।
उनीहरुसँग पनि एकताको पहल गर्ने एमाओवादी नेता शर्माले बताए । उनले सबै माओवादीहरुलाई एक ठाउँमा ल्याउने अभियानलाई निरन्तरता दिने उनको भनाई छ ।
पार्टी शीर्ष नेताहरुबीच एकताका विषयमा फरक फरक धाराणा आइरहेपनि तल्लो स्तरका कार्यकर्ताको तिव्र दबाब र दोस्रो पुस्ताका नेताहरुको निरन्तरको एकता अभियानका सार्थक परिणाम हो, माओवादीहरुको एकता ।
आजको राजधानी दैनिकमा केशरमणि कटुवालको विश्लेषण