एजेन्सी । दुर्घटनाअघि नै इजिप्ट एयरको विमानको क्याबिनमा धुवाको अलर्ट जारी गरिएको रिपोर्ट सार्वजनिक भएको छ ।
बिहीबार इजिप्ट एयरको विमान भूमध्य सागरमा दुर्घटनाग्रस्त हुदा ६६ जनाको मृत्यु भएको थियो ।
विमान उद्योगसँग सम्बन्धित वेबसाइट ‘एविएशन हेराल्ड’ मा प्रकाशित जानकारीका अनुसार पेरिसबाट कायरो जाँदै गरेको विमानको शौचालय र इलेक्ट्रिक सिस्टममा धुवाँ देखिएको थियो ।
विमानसँगको सम्पर्क टुट्नुभन्दा केही अघि धुँवा देखिएको बताइएपनि धुवाँ आउनुको आधिकारिक पुष्टि भने भएको छैन । एविएशन हेराल्डले यो जानकारी एयरक्राफ्ट कम्युनिकेशन एड्रेसिङ एण्ड रिपोर्टिङ सिस्टमबाट प्राप्त भएको जनाएको छ ।
बिहीबार स्थानीय समयअनुसार २ बजेर २६ मिनेटमा एयरबस ३२० को शौचालयमा धुवाँ निस्केको पत्ता लागेपछि अलर्ट जारी गरिएको थियो । यसआधारमा विमानमा कुनै प्राविधिक गढबढीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।