समाचार

संक्रमित रगतबाट भारतमा २२ सय बढीलाई एचआईभी

By canadakhabar

June 01, 2016

एजेन्सी । भारतमा संक्रमित रगतका कारण २२ सय ३४ जनालाई एचआईभी संक्रमण भएको तथ्यांक सार्वजनिक भएको छ ।नेसनल एड्स कन्ट्रोल अर्गनाइजेसन (नाको)ले अक्टुबर २०१४ देखि मार्च २०१६ के बीचमा संक्रमित रगतका कारण यति धेरै मानिसहरू एचआईभी संक्रमित भएको जनाएको हो ।

नाकोले संक्रमित रगतका कारण सबैभन्दा बढी उत्तर प्रदेशमा ३ सय ६१ जना र त्यसपछि गुजरातमा २ सय ९२ जनालाई एचआईभी संक्रमण भएको जनाएको छ ।

चेतन कोठारीसहितले दायर गरेको आरटीआईको जवाफमा नाकोले यस्तो खतरनाक तथ्यांक प्रस्तुत गरेको हो ।

भारतमा ब्लड बैंकहरूले नियम उल्लंघन गरिरहेको र यसका कारण मानिसहरू एड्सजस्तो खतरनाक रोगको चपेटामा पर्ने गरेको जनाइएको छ ।

हालै सार्वजनिक गरिएको रिपोर्टअनुसार सन् २०१४ मा मात्रै नाकोले कुल ३० लाख युनिट रगत संकलन गरेको थियो । नाकोले निःशुल्क रूपमा दान गरिने रगतमध्ये करिब ८४ प्रतिशत स्वेच्छापूर्वक दान गरिने गरेको र यो नै समस्याको जड रहेको जनाएको छ ।

कानुनअनुसार रक्तदान गर्न एचआईभी, हेपाटाइटिस ‘सी’, मलेरियालगायतका रोग रहे/नरहेकोबारे परीक्षण गरिनुपर्छ ।

नाकोले २०१५ को वार्षिक प्रतिवेदनअनुसार सन् २०११ मा भारतमा एचआईभी संक्रमण र एड्सका बिरामीको संख्या २० लाखभन्दा बढी थियो । त्यसमध्ये ८६ प्रतिशत रोगी १५ देखि ४९ वर्षभित्रका थिए ।