टोरोन्टो,क्यानडा
काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कप फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।
शनिबार बिहान भएको खेलमा संयुक्त राज्य अमेरिकालाई २–० ले पराजित गर्दै कोलम्बियाले विजयी सुरुवात गरेको हो । कोलम्बियाको जितमा रोड्रिग्वेज र क्रिष्टियन जपटाले एक एक गोल गरे । प्रतियोगितामा सहभागी १६ अमेरिकी देशलाई चार समूहमा विभाजन गरिएको छ । विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा भएको प्रतियोगिता पहिलो पटक अमेरिकामा भएको छ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन चिलीले आगामी मंगलबार गत वर्षको उपविजेता अर्जेन्टिनासँग खेल्ने छ ।
पाँच पटकको विश्व विजेता ब्राजिलले सन् २००७ देखि कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन । ८ पटक कोपा अमेरिकाको उपाधि जितेको ब्राजिल यसपटक बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार बिना खेल्दै छ ।
ब्राजिलमा आउँदो अगस्टमा हुने रियो ओलम्पिकसको तयारीका लागि नेइमारले कोपा अमेरिका नखेल्ने भएका हुन् । यस्तै ब्राजिलको टिममा राफिन्हा मांशपेसीको चोटका कारण टिममा छैनन् । यस्तै काका पनि यो प्रतियोगितामा उपलब्ध छैनन् । ब्राजिलले आइतबार इक्वेडरसँग आफ्नो पहिलो खेल खेल्ने छ ।