आस्मा न्यौपाने के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ ? भयानक हुन्छ, होइन त ? यसले तपाईंलाई साह्रै नाजुक बनाउँछ । यसले तपाईंको छाती खोलिदिन्छ, तपाईंको हृदय उघार्छ र यसको मतलब कोही त्यहाभित्र पसेर तपाईंलाई भद्रगोल पारिदिनसक्छ ।’ अँग्रेजी लेखक नील गइम्यानका यी परिभाषाहरुसँग तपाई सहमत नहुन सक्छ । प्रसिद्ध अभिनेता तथा संगीत सर्जक जोन क्रफोर्ड भन्छन् ‘प्रेम आगो हो । तर यसले तपाईंको हृदयलाई न्यानो दिनेछ वा तपाईंको घर जलाइदिनेछ, केही भन्न सकिँदैन ।’ यी भनाईसँग तपाई सहमत हुनुहोस् या नहुनुहोस् तर प्रेमका यी दुई परिभाषाहरुसँग हाम्रो मलुकमा भइरहेको हत्या र आत्महत्याका पछिल्ला श्रृङ्खलाहरु मिल्दाजुल्दा छन् । पछिल्ला श्रृङ्खलाहरु : घटना १ कास्कीकी नेहा पुन उनैले दाइ मानिएका व्यक्तिसँगको प्रेममा थिइन् । अन्ततः तिनै दाइसँगको विश्वास, प्रेम र समर्पणले उनको ज्यान गयो । घटना २ -झापाकी भेनिसा लिम्वु एक युवासँग प्रेममा परिन् । प्रेम, नशा र रोमान्स भेनिसाको हत्यासम्म पुग्यो । घटना ३ -नवलपरासीकी मनिषा घर्तिमगर । स्थानीय युवासँग प्रेममा थिइन् । तर त्यही परेम उनको अन्त्यका लागि काफी भयो । घटना ४ -वारा कलैयाका सन्तोष साहलाई प्रेमिका निभाले घरैमा वोलाएर हत्या गरिदिए ।
उल्लेखित दुखद घटनाहरुको एउटै कारण देखिन्छन्,प्रेम । कतै प्रेम विषाक्त बन्दै गएको त होइन ? आम मानिसहरुमा आशंका छ । समाजमा आत्महत्या वृद्धि भैरहेको छ । प्रहरीको अनुसन्धानले समेत पुष्टि गर्छ, अनेक आयामहरुमध्ये प्रेम मृत्युका कारक बन्दै गइरहेको छ । सामाजिक, धार्मिक, कानुनी र स्वास्थ्यसम्बन्धी दृष्टिकोणहरू आत्महत्यालाई अलगअलग ढङ्गले व्याख्या गर्दछन् । मनोचिकित्सकहरु मानसिक रोग, डिप्रेसन, स्क्रिजोफ्रेनिया, आत्तिने रोगलगायतले आत्महत्यासम्मको स्थितिमा मानिसहरु पुग्ने बताउँछन् । सम्वन्धमा दिक्क लाग्ने, जाँगर नलाग्ने, थकावट, नकारात्मक विचार, जीवनप्रति घृणालगायतले मनिसहरुलाई मृत्युसम्म पु ¥याउने दावी गर्छन् ।
प्रेम गर्ने मान्छेहरु क्रुर हुनै सक्दैनन् भन्ने मान्यता बोकेकाहरुका लागि नेपालको माथि उल्लेखित घट्नाक्रमहरुले एकपटक सोच्न बाध्य बनाएको छ । प्रेममा महत्वकांक्षा, स्वार्थ, आशक्ति, घृणा, तनाव र वदालाका भावले मानिसहरु प्रेमका लागि र प्रेमकै कारण जीवन वमन गरिरहेका छन् । यसमा आधुनिक जीवनशैलीको प्रभाव र प्रेमका नाममा भित्रिएका छाडा प्रवृत्ति मूख्य जिम्मेवार छन् ।