काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङलाई क्यान्सर समेत भएको खुलासा भएको छ । उपचारकै क्रममा राजधानीको ग्राण्डी अस्पतालमा मंगलबार बिहान निधन भएका संगीतकार गुरुङका परिवारको स्वीकृतिमा अस्पतालले उनलाई क्यान्सर भएको औपचारिक रुपमा जानकारी गराएको हो ।
गुरुङ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका थिए । उनलाई गतसाता एस्पिरेसन निमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) भएको थियो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचारत गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको थियो ।
मंगलबार विहान अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले गुरुङलाई क्यान्सर भएको जानकारी गराएका हुन् ।
यसअघि उनलाई क्यान्सर भएकोबारे औपचारिक जानकारी बाहिर ल्याइएको थिएन । पाण्डेका अनुसार सुरुमा खाना पेटमा जान रोकिएपछि अस्पताल भर्ना भएका थिए । त्यसक्रममा क्यान्सर भएको पत्ता लागेको थियो ।
पेटमा प्वाल पारेर खाना पठाउनुका साटो कृत्रिम पाइप राखेर खाना पेटमा पठाइएको थियो । सोही पाइप खुस्किएपछि गत सोमबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा त्यो पाइपलाई फेरि राख्न चिकित्सकहरु सफल भएपनि केही दिन अघि खाना खाने क्रममा फेरि ब्लिडिङ भएर रगतको कणहरु फोक्सोमा गएपछि गुरुङलाई निमोनिया भएको थियो ।