एजेन्सी । अमेरिकी राष्ट्रपति पदका हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन उम्मेदवार बन्ने निश्चित भएको छ ।
हिलारीले उम्मेदवारी हासिल गर्नका लागि आवश्यक प्रतिनिधिहरुको समर्थन पाएकी हुन् । अमेरिकी समाचार एजेन्सी एपीले हिलारीले आवश्यक २ हजार ३ सय ८३ प्रतिनिधिको समर्थन हासिल गरेको जनाएको छ ।
पार्टीको उम्मेदवारको अन्तिम र निर्णयक फैसला भने जुलाईमा हुने पार्टीको सम्मेलनबाट तय हुनेछ । पार्टी प्रतिनिधिको को यस समर्थनसँगै हिलारी अमेरिकाको कुनै राजनीतिक पार्टीबाट चयन हुने पहिलो महिला उम्मेदवार समेत बनेकी छन् ।
हिलारीका प्रतिद्वन्द्वी बर्नी स्याण्डर्सले भने हिलारीको यस जितमाथि प्रश्न उठाएका छन् । उनले हिलारीले अझै जित्नका लागि सुपरडेलिगेट्सको मतमाथि निर्भर हुनुपर्ने बताएका छन् ।
यी डेलिगेट्सहरुले आगामी जुलाईमा हुने पार्टी सम्मेलनमा भोट हाल्नेछन् । अमेरिकाको इतिहासमा राष्ट्रपति चुनाबमा कुनै महिलाले २ सय २७ वर्षपछि उम्मेदवार बन्ने मौका पाएका हुन् ।