एजेन्सी फ्लोरिडा, ३० जेठ अमेरिकाको फ्लोरिडामा एक रात्रिक्लबमा भएको गोलाबारीमा परी कम्तीमा पनि ५० जना मारिएका छन् । अमेरिकामा गोलाबारीमा यतिधेरै संख्यामा सर्वसाधारण मारिएको यो पहिलो घटना हो । घटनापछि ओल्र्याण्डो सहरका मेयर बुढ्डी डायरले आपतकालको घोषणा गरेका छन् । फ्लोरिडाको ओल्र्यान्डोमा समलिंगीहरूले सञ्चालन गरेको रात्रिक्लब ‘पल्स’मा भएको भीषण गोलाबारीमा अन्य ५३ जना घाइते भएका छन् । ओल्र्यान्डो प्रहरीले पल्स क्लबलाई तीन घन्टा नियन्त्रणमा लिएर बन्दुकधारीले सर्वसाधारणको हत्या गरेको जनाएको छ । आक्रमणकारी ओमार मातिनपनि सोही क्लबमा मारिएका छन् । अधिकारीहरूले आक्रमणकारी इस्लामिक समर्थक आतंकवादी विचारधाराको भएको प्रतिक्रिया दिएका छन् । तर, अन्तर्राष्ट्रिय आतंकवाद हो वा घरेलु आतंकवाद भन्नेबारेमा भने केही खुलाएका छैनन् । आक्रमणमा घाइते भएकाहरूलाई उपचारका लागि भर्ना गरिएको छ । अस्पतालबाहिर घाइतेहरूका आफन्तहरूको भीड लागेको छ । ओल्र्यान्डो प्रहरी प्रमुख जोन मिनाले २ बजे आक्रमण सुरु भएको र त्यसअघि आक्रमणकारीले ड्युटीमा रहेका प्रहरीको बन्दुक लिएको जानकारी गराएका छन् । प्रहरी प्रमुख जोनले आक्रमणकारीको समेत मृत्यु भएको जनाएका छन् । घटनास्थलमा प्रहरीले ५० जनाको शव फेला पारेको जनाएको छ । आक्रमण गरिएको पल्स क्लब फ्लोरिडाको सबैभन्दा ठूलो समलैंगिक क्लब मानिन्छ । सो क्लबमा आक्रमणका समयमा सयजना भन्दा बढी सहभागी रहेको जनाइएको छ ।
इन्टरनेबाट साभार घटनास्थलको तस्विर अमेरिकामा गत वर्ष मात्रै यसप्रकारका गोलाबारीका ३ सय ७२ घटना भएको र ती घटनामा ४ सय ७५ जनाको मृत्यु हुनुका साथै १ हजार ८ सय ७० जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । शनिबार मात्रै पनि ओल्र्यान्डामा गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या भएको थियो । स्टेजमा गीत गाएर अटोग्राफ दिइरहेका बेला २२ वर्षीय क्रिस्टिनामाथि २६ वर्षीय केभिन जेम्सले गोली प्रहार गरेका थिए । तर, उनले आक्रमण गर्नुको कारण भने अझै खुल्न सकेको छैन ।