एजेन्सी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्यान्डो सहरमा आइतबार भएको गोली काण्डमा संलग्नताको आरोपमा बन्दुकधारीकी श्रीमतीमाथि छानविन सुरु गरिएको छ ।
आक्रमणकारीसहित ५० जनाको ज्यान जाने गरी भएको उक्त घटनामा आक्रमणकारी ओमार मातिनकी श्रीमती नुर सलमानको समेत संलग्नताको आशंका गरिएको छ ।
फ्लोरिडाको पल्स नामक समलैंगिक रात्रि क्लबमा भएको गोलीकाण्डबारे मातिनकी श्रीमती नुर सलमानलाई पूर्वजानकारी हुनसक्ने आशंकामा उनीमाथि छानविन सुरु गरिएको हो ।
नुर उनका आक्रमणकारी पति ओमार मातिनले हतियार किन्दा समेतसँगै रहेको पाइएको छ । ओमारले आक्रमणको केही महिनाअघि कानुनी रुपमै केही हतियार खरिद गरेको पाइएको थियो ।
उनकी पत्नीमाथि हतियार खरिद गरेकोबारे प्रहरीमा जानकारी नदिएको आरोप समेत लगाइएको छ । उनले भने आफू यस्ता विद्रोही गतिविधिमा संलग्न नहुन पतिलाई आग्रह गर्दागर्दै थाकेको बताएकी छन् ।
अमेरिकामा पछिल्लो केही दशकयताकै सबैभन्दा ठूलो गोलीकाण्डमा परी थप ५३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
आक्रमणकारी मातिनले पल्स रात्रि क्लबमा आक्रमण गर्नुअघि पत्नीलाई यसबारेमा जानकारी गराएको हुनसक्ने आशंका प्रहरीको छ ।
मातिन समलिंगी विरोधी हुनुका साथै मानसिक रुपमा समेत पूर्ण स्वस्थ नभएका कारण घटना घटाएको बताइएको छ । आक्रमणपछि नुरलाई पक्राउ नगरिएपनि सोधपुछ गरिएको थियो ।