काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) को भाषा परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा विहान साढे आठ र अपरान्ह १२ बजेगरी दुई चरणमा सञ्चालन हुने छ ।
शनिबार र आइतबार दुई दिन हुने परीक्षाका लागि काठमाडौं उपत्यकामा १८ र पोखरामा ३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
ईपीएसमा पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको परीक्षा हुनेछ । यस वर्ष ५२ हजार दुई सय २२ पुरुष र आठ हजार चार सय चार महिलाले परीक्षाका लागि आवेदन दिएका छन् । जसमा कृषितर्फ ३७ हजार एक सय ७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार चार सय ५१ छन् ।
कोरियाले यस वर्ष तीन हजार १०० लाई कोरिया लैजाने बताएको छ । तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिने इपिएस शाखाले जनाएको छ ।
परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था गरिएको छ । आउँदो साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् ।