एजेन्सी । हाल पाकिस्तान–अफगानिस्तान सीमामा बढिरहेको तनाव एक शताब्दी पुरानो क्षेत्रीय विवादको हिस्सा हो ।
केही अफगानिस्तानीहरुले यस क्षेत्रीय विवादतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्नका लागि पाकिस्तानले यो तनाब बढाएको आरोप लगाएएका छन् ।
केहीदिनअघि मात्रै पाकिस्तान अफगानिस्तानको सीमा क्षेत्र तोर्खममा भएको गोलाबारीमा एक पाकिस्तानी मेजरको समेत मृत्यु भएको थियो । पाकिस्तानले सो क्षेत्रको सीमामा गेट निर्माण कार्य सुरु गरेपछि दुईदेशबीच विवाद सुरु भएको हो । पाकिस्तानले आफ्नो सीमा क्षेत्रमा गेट निर्माण गर्दै दुईदेशबीच भिषा प्रक्रिया सुरु गर्ने तयारी गरेपछि अफगानिस्तान आक्रोसित बनेको हो ।
सन् १८९३ मा अफगान राजा र ब्रिटिस शासित भारतका विदेशन्त्री सर मोर्टिमर डुरन्डबीच भएको सम्झौतामा अफगानिस्तानको केही हिस्सा ब्रिटिस इण्डियालाई दिइएको थियो । सन् १९४७ मा पाकिस्तानको जन्मपछि अफगानी शासकले डुरन्ड सम्झौताको वैधतामाथि प्रश्न उठाएका थिए । सोही विवादका कारण अफगानिस्तान र पाकिस्तानबीच विवाद चलिरहेको छ ।
पाकिस्तानले उक्त सम्झौता भइसकेको भन्दै त्यसको बचाउ गर्दै आएको छ भने अफगानिस्तानले त्यसलाई अस्वीकार गर्दै आएको छ । पाकिस्तानले अफगान तालिवान विद्रोहको समर्थन गर्दै यसैका आधारमा डुरंड सीमाको स्थायी बनाउँन खोजेको अफगानिस्तानको बुझाई छ ।
वर्तमान सिमानालाई मान्यता दिएमा शान्ति स्थापना हुने पाकिस्तानी पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफको प्रस्तावलाई अफगानिस्तानका तत्कालीन राष्ट्रपति हमिद कारजाईले अस्वीकार गरेका थिए ।
छ दशक पहिले पाकिस्तानको जन्मपछि अफगानिस्तान, भारत र सोभियतसंघले पख्तुन राष्ट्रवादलाई बढवा दिए तर पाकिस्तानले विरोधी देशको खतरला अन्त्यका लागि इस्लामिस्ट गुटलाई बढवा र समर्थन गर्न सुरु ग¥यो ।
अफगानिस्तानले डुरन्ड समस्या समाधान त्यस क्षेत्रमा चरमपन्थ र उग्रवादको समस्या समाधानसँगै हुने बताउँदै आएको छ । आफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले यसै विषयलाई लिएर पाकिस्तानको भ्रमणका क्रममा २२ पटक प्रयास गरेपनि सम्भव भएको थिएन ।
पाकिस्तानलाई खुसी बनाउँनका लागि उनले पाकिस्तान विरोधी भनेर चिनिएका केही अधिकारीहरुलाई समेत हटाएका थिए । गत अप्रिलमा पनि उनले डुरन्ड आफ्नो क्षेत्र भएको दावी गरेका थिए ।