काठमाडौं । पोर्चुगल फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबारराति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो मिनेटमै पोल्यान्डका रोर्बट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
उनी जारी युरोकप फुटबलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन् । उनी १८ वर्ष ३ सय १६ दिनका भए । सान्चेजको गोलपछि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत कुनै गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो । टाईबेकरमा पोर्चुगलले ५–३ ले पोल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । खेलको म्यान अफ दि म्याच पोर्चुगलका रेनाटो सान्चेज भए ।
सेमिफाइनलमा पोर्चुगलले बेल्जियम र वेल्समध्येको विजेतासँग खेल्ने छ । यी दुई टोलीबीचको खेल आज राति हुँदैछ ।