कला / मनोरञ्जन

‘उपियाँको निबन्ध’ यो साता मात्र

By canadakhabar

July 16, 2016

काठमाडौं । सबैले आफ्नो स्कुले जीवनमा विभिन्न जनावर, पशुपंक्षी, चाडपर्व, ऐतिहासिक स्थल लगायतबाट निबन्ध लेखनको सुरुआत गर्ने गर्छन् । विद्यालयमा यस्तै विषयका निबन्ध लेख्न लगाइन्छ र लेखिन्छ । तर अहिले काठमाडौंमा एक शिक्षक उपियाँको निबन्ध लेखाउँदैछन् र थुप्रै विद्यार्थीहरु त्यही निबन्ध लेख्दैछन् ।

यो निबन्ध लेख्ने क्रम अब सकिँदैछ । यो अन्तिम सातामा पुगेको छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा शिक्षक र विद्यार्थीहरु ‘उपियाँको निबन्ध’लाई प्रस्तुत गरिरहेको नाटक निर्धारित मञ्चन मितिको अन्तिम सातामा मञ्चन भइरहेको हो ।

यो नाटक साउन २ गतेसम्म मात्र हरेक साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुँन्छ । नियमित मञ्चन २ गते सकिने भएपनि बुकिङ शोहरु भने केही दिनसम्म चल्ने थिएटर मलका कार्यक्रम संयोजक सञ्जिता सञ्जीले जनाएकी छिन् ।

स्कुले परिवेशको कथालाई हाँस्य शैलीमा प्रस्तुत गरिएको नाटक ‘उपियाँको निबन्ध’मा लौरी बोकर कक्षा लिने नेपाली शिक्षकले नमुनाका रूपमा लेखिदिएको ‘उपियाँ शीर्षकको निबन्ध लेखिदिन्छन् । त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ ।

केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चित सो नाटकमा सामान्यतया स्कुलमा हुने पात्रहरु, हेडसर, शिक्षकहरु, विद्यार्थीहरु र पाले दाई सक्रिय छन् । उनीहरूबीचको दृश्य र संवादका साथ नाटक अगाडि बढ्छ । एक अवोध बालकले दुई सय शब्द पु¥याउनका लागि हरेक निबन्धमा उपियाँको निबन्धलाई ‘लजिकल्ली’ जोड्दा शिक्षकको शिक्षण पद्दतीमाथि प्रश्न नाटकले उठाउँछ । र पुरातन पद्दती अपनाइरहेका शिक्षकलाई तिनै बालबालिकाले आफ्नो कमजोरी महसुस गराएपछि शिक्षकले लिएको नयाँ अवतारसंगैं नाटक सकिन्छ ।

नाटकघरको बाहिरदेखिनै स्कुलको परिवेश झल्काउने बोर्डहरु, विद्यार्थीहरुको चलमल, चतु¥याईं, उट्पट्याङहरुले स्कुल र कक्षाकोठाको अनुभूत गराउँछ । नाटकघरको मुखैमा राखिएको ‘नेपाली स्पिकिङ जोन’ बोर्ड, नेपाली कक्षामा अंग्रेजी बोल्दा तिराउने जरिवानाले वर्तमान समयमा विद्यालयहरुले आवश्यकताभन्दा बढी अंग्रेजीलाई प्राथमिकता दिएकोप्रति नाटकले व्यंग्य गर्छ । विद्यार्थीहरुले प्रयोग गरेका बोराका झोलाले पनि विद्यार्थीहरुमाथि थोपरिएको अनावश्यक बोझप्रति संकेत गर्छ ।

नाटकलाई कलात्मक बनाउनका लागि निर्देशक श्रेष्ठले माक्सको सुन्दर प्रयोग गरेका छन्, जसबाटै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध देखाउने प्रयत्न गरेका छन् । बालबालिका रंगिन हुन्छन् भन्ने भावमा ‘कलरफुल’ देखिने सेटमा बिम्ब र प्रतीक खेलाउँदै मन्दिरमा प्रयोग हुने घण्टीलाई विद्यालयको घण्टी बनाएर ‘विद्यालय शैक्षिक मन्दिर हो’ भन्ने भाव नाटकमा देख्न पाइन्छ । त्यस्तै स्टेजमाथि झुण्डिएका कागजका डुंगालाई शिक्षक र हाँसलाई विद्यार्थीको रूपमा बुझ्न सकिन्छ । घरी बाल्यकालमा पु¥याउने, घरी शैक्षिक वहसले गम्भीर बनाउने नाटक ‘उपियाँको निबन्ध’ रमाइलो त छँदैछ, त्यससँगै शैक्षिक पद्धतीमाथि सोच्न समेत बाध्य बनाउँछ । निर्देशकको रुपमा श्रेष्ठको यो चौथो नाटक हो ।

बालबालिकाको भूमिकामा समेत वयस्क कलाकार उत्रेको यस नाटकमा फिल्म र रंगमञ्चलाई समानान्तर रुपमा बढाइरहेका अभिनेता अभय बराल मुख्य विद्यार्थी पात्रका रुपमा सुहाएका छन् । मुखले थोरै बोल्ने तर अनुहारको भाव धेरै बोल्ने चरित्रमा अभयले न्याय गरेका छन् । होस्टेल रिटन्र्सबाट फिल्मी दुनियाँमा चर्चा कमाउका अभयको अर्को फिल्म गाँठो प्रदर्शनको तयारीमा छ ।

पहिलो नाटकमै राजेन्द्र भट्ट नेपाली सरको चरित्रमा सुहाएका छन्, तर चरित्रमा अझै जमन सक्ने ठाउँहरु थुप्रै छन् । विद्यार्थीका भूमिकामा नेवार बनेका सञ्जिता सञ्जी, आइस्यो र गइस्यो लगाउने एना देउजा साँच्चिकै स्कुले बालिका देखिएकी छन । उट्पट्याङ गरिरहने विजय ताम्राकार दर्शकको ध्यान तान्न सफल छन् । हाँस्य कलाकारको क्यारिकेचरमा रमाउने पाले दाई जीवन भट्टराईले नाटकलाई रमाइलो बनाउन सघाएका छन् । त्यस्तै लक्ष्मी, वर्देवा, प्रकु पाण्डेय, शंकर भण्डारी, रोसन सुवेदी, ममता लामिछाने, दिपक चन्दले आ–आफ्नो भूमिकामा न्याय गरेका छन् ।

थिएटर मल नाटकघर स्थापना गर्ने नाट्य संस्था थिएटर सेन्टर फर चिल्ड्रेनले नाटक ‘उपियाँको निबन्ध’ निर्माण गरेको हो