# राजेन्द्र प्रसाद प्रसाई ।
गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ र संघको संविधान, ई.स.२००३, अनुसार स्थापित गैर आवासीय नेपाली संघ बिभिन्न उतार चढाव पार गर्दै अगाडी बढिरहेको देखिन्छ। विश्व सम्मेलन, अन्तर्राष्ट्रिय महाधिवेशन, क्षेत्रीय सम्मेलन र बैठकहरू नियमितरुपमा संचालन गर्दै आएको यस संघको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सी राज्यमा यही अगष्ट २७ र २८ मा आकर्षक तथा सामयिक नाराका साथ सम्पन्न हुन गैरहेको छ । “NRNA Vision 2020 & Beyound (एन आर एन ए को २०२० सम्मको भिजन र त्यस पछि) भन्ने नारालाई पुरा गर्ने शोच र अठोट बोकेको यस सम्मेलनले ठोस नीति र कार्यक्रमहरू तयार गरी उक्त नारालाई सार्थकता दिनुपर्ने सर्बत्र अपेक्षा गरिएको छ ।
हाल सम्म यस गैर आवासीय नेपाली संघले विश्वका ७४ मुलुकहरूमा आफ्नो संजाललाई बिस्तार गरिसकेको पाइन्छ । युरोप अमेरिका लगायत विश्वका अतिविकशित मुलुकमा बसोबास गरी काम गरेर ज्ञान,शीप र प्रविधि आर्जन गरेका गैरआवासीय नेपालीहरु नेपाल र नेपालीहरूकालागि आशा र भरोसाका केन्द्र बन्दै गएको पाइन्छ! यिनीहरूको आर्जित ज्ञान,शीप,र प्रविधिलाई नेपाल तथा नेपालीहरूबीच पुर्याऊँन नेपाल र संघको बीचमा सहकार्य गरिनु समयको माग बनिसकेको छ। आफ्नालागि आधारभूत नीति,संविधान र आवश्यक कानून निर्माण गरी विधिवत स्थापना भएको यस संघकासामु परिवर्तित समयसंगै धेरै चुनौतीहरू पनि स्वाभाविक रुपमा खडा हुँदै आएका देखिन्छन् । यस्ता चुनौतीहरूको पहिचान नगरी र समाधान नखोजी संघलाई सहज र सफलरुपमा अगाडी बढाउन कठिन देखिन्छ । सम्मेलन संघारमा आइपुगेका बखत यस संघमा रहेका समस्याहरू र तिनका समाधानका केही सम्भावनाहरू निम्नानुसार विश्लेषण गर्न सकिन्छ ।
व्यबस्थापकीय बोझ र जटिलता:
संसारका विभिन्न भूभागमा रहेका र बिभिन्न पेशा र परिवेशमा काम गर्ने गैरआवासीय नेपालीहरूको यो संघ व्यवस्थापकीय बोझ र जटिलताबाट माथि उक्लिन तल्लिन देखिन्छ । हालको विद्यमान अवस्थामा सामयिक सुधार नगरी यसले समयको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न सहज देखिन्न । प्रत्येक बिषयगत हाँक र समस्या समाधानका लागि संघले गहन छलफल तथा विचार-विमर्श गरी ब्यबस्थापकीय बोझलाई सरल र धारणयोग्य बनाउन छुट्टा छुट्टै शाखा तथा महाशाखाहरू सिर्जना गरेर यथेष्ट कार्याधिकार दिइनु आजको आवश्यकता भैसकेको छ । संरचनाको मूल्याकंन र यसमा सुधारको खाँचो:
गैरआवासीय नेपाली संघ भित्र प्रत्येक देशमा रहने “ राष्ट्रिय समन्वय परिषद” र यसबाट पठाइने प्रतिनिधि समेत मिलेर हुने “अन्तर्राष्ट्रिय समन्वय परिषद”जस्ता महत्वपूर्ण अंगहरू लगायत बबिध विषयका कमिटि तथा टास्क फोर्सहरू हाल कार्यरत रहेका छन् । नेपालमा यसको सचिवालयको रुपमा एउटा सम्पर्क कार्यालय पनि रहेको पाइन्छ । तर समयको बढ्दो माग अनुरुप यसका यी अंगहरूले मात्र प्रभावकारी रुपमा काम गर्न सकिरहेको पाइन्न ।
ग्रासरुट सम्म संघको बिस्तार हुन नसक्नु:
आफूहरूलाई प्रत्यक्षरुमा लागुहुने र प्रभाव पार्ने नेपालका संविधान तथा ऐन कानूनहरूको सन्दर्भमा पनि संसार भरी छरिएर बसेका सबै गैरआवासीय नेपालीहरू यस संघको सदस्यता लिएर अभिरुची पूर्व सामेल हुनु पर्नेमा सारै कम संख्यामा सरिक भएको पाइन्छ ! संघले सबैलाई समेट्न सकिरहेको छैन ! संघको सबै भन्दा तलको निकाय भनेको राष्ट्रिय समन्वय परिषद हो, जो सम्बन्धित देशको केन्द्रीय निकायको रुपमा खडा भएर अन्तर राष्ट्रिय समन्वय परिषद्को अन्तर्गत काम गर्ने गर्दछ । राष्ट्रिय समन्वय परिषद, सम्बन्धित देशको कानून संघ मेलखाने गरी त्यहाँको By Laws अनुसार छुट्टैरुपमा त्यहाँ दर्ता गैरआवासीय नेपाली संघको अंगको रुपमा रही काम गर्दै आएको देखिन्छ । तर, त्यो देशका सबै राज्य वा प्रान्तहरू,सिटी र वडा वा टोलहरू सम्म विस्तार भएका यसका अंगहरू अनिवार्यरुपमा हुनु पर्ने गरी संघको बिधान,त्यस देशको By Laws र गैर आबासीय नेपाली ऐन र नियममा व्यवस्था छैन ! ग्रासरुट सम्म यसको बिस्तार हुन नसक्नु यहींनेर कमजोरी भएको छ ! हालै मात्र क्यानाडाले आफ्नो By Laws संशोधन गरी NRNA Canada का प्रत्येक प्रान्तीय कमिटीहरू गठन गरिने कुरा उल्लेख गरेको पाइन्छ । यो कदम अरूहरूकालागि पनि प्रेरणा बन्न सक्छ । तर यो कदम अझ अगाडी बढाई सिटी,वडा र टोल सम्म एन आर एन कमिटीहरू रहने गरी संशोधन हुनु र सबैलाई स्वायत्त अधिकार दिएर संघमा सामेल गरिदिएर ब्यापक तथा ग्रास रुटसम्म पुग्ने बनाईनु पर्दछ !
साधन श्रोत र आम्दानीको कमी:
गैरआवासीय नेपाली संघ जन्मजात नाफामूलक संस्था नभएको र राजनीति नगर्ने संस्थाको रुपमा रहीआएको छ ! तर,मानव अधिकारप्रति प्रतिबद्ध भएको आफ्नो बिधान अन्तर्गत यसले जनाएर सबै यसका सदस्यहरूलाई मानव अधिकारको पालन र संरक्षण गर्न राम्रो राजनीतिक भिजन राखी अभिप्रेरित गरेको छ ! त्यस्तै गरी, हरेक देशमा त्यहाँको कानून अनुसार NRNA दर्ता हुँदा अनाफा मुलक संस्थाको रुपमा मात्र नभई आय आर्जन गर्न सक्ने र सम्बन्धित देशलाई लागेको कर तिर्ने संस्थाको रुपमा पनि काम गर्न सक्ने संस्थाको रुपमा दर्ता हुनु पर्छ र बिभिन्न प्रान्त,सिटी, वडा र टोलका स्वायत्त एन आर एन कमिटीहरूले अन्य ब्यबसायी संग साझेदारी गरी आयमूलक ब्यापार ब्यबसाय समेत गर्न पाउने र केही निश्चित प्रतिशत नाफा माथिल्लो निकायमा पठाउने ब्यबस्था हुनुपर्छ ! यसरी हरेक देशको राष्ट्रिय समन्वय परिषदले प्राप्त गरेको केही आम्दानीको केही प्रतिशत अन्तर्राष्ट्रिय समन्वय परिषद्मा कार्य संचालनकालागि पठाइन सके संघका बिभिन्न कार्यालय संचालन गर्न सजिलो हुनेछ ! धन र ज्ञान भित्र्याउनेलाई तक्मा पुरस्कार आदि प्रदान गरी प्रोत्साहित गरिनु पर्छ ! संघकालागि नेपाल ऐन कानूनहरूमा के कस्ता सुधार गर्नु पर्छ ? शब्द र बोलीमा गैरआबासीय भने पनि सबै गैरआबासीय नेपालीहरू नेपालको सबैथोक लिएर विदेश गएका छैनन् ! छोरा छोरी पढ्न गए, उतै काम गर्न थाले,बस्ने हैसियत बनाए,बाबु आमा वा आफन्तलाई बोलाएर गए ! कोही नेपालमा भन्दा राम्रो अवसर र रोजगारी खोज्दै विदेशिए ! तर नेपालमा भएको आफ्नो घर जग्गा कर,पेन्सन खानेको र बैंकमा बचत राख्नेको,ब्यापार उद्योग वालाले आयकर तिरिरहेको हुन्छन् ! बिदेशमा दुखले कमाएको पैसा नेपाल पठाउँदा रेमिट्यान्स भित्र्याई रहेका हुन्छन् ! ज्ञान,प्रविधि र आय आर्जन गर्न विदेश बस्ने कतिपय नेपालीले राम्रो सरकारी काम पाऊँन सम्बन्धित देशको ग्रीन कार्ड र नागरिकता लिएको हुन्छ ! यसरी नागरिकता लिनेहरूले विदेशको नागरिकता नत्यागेसम्म नेपालमा राजनीतिक अधिकारबाहेकको अन्य अधिकारहरू प्राप्त गर्न सक्ने कुरा नेपालको संबिधानमा “गैरआवासीय नेपाली नागरिकता”को प्रावधान राखिएर सहज बनाएको पाइन्छ ! तर नेपाल नागरिकता ऐन लगायत गैरआवासीय नेपालीलाई सरोकार पर्ने नेपाल राहदानी ऐन, बिदेशी लगानी ऐन,बिदेशी मुद्राको कारोबार गर्ने आदि सम्बन्धका ऐन नियमहरू संशोधन हुन बाँकी रहेका देखिन्छन् ! संविधानको व्यबस्था अनुकुल छिटो भन्दा छिटो यस्ता ऐन नियमहरू संशोधन हुनु पर्ने देखिन्छ !
भाषा, साहित्य,कला र खेलकुदकालागि तहगत निकायको खाँचो:गैर आवासीय नेपालीसंघले आफ्नो बिधान र सम्बन्धित ऐन नियमहरूमा नेपाली भाषा,साहित्य, कला र खेलकुदकालागि अनिवार्यरुपमा अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद र अन्तर्गतका तल्लातह सम्म ब्यबस्था गरी यस क्षेत्रमा लाग्न प्रोत्साहित गरिनु पर्छ ! नेपालको प्रज्ञा प्रतिष्ठानले संसार भर छरिएर रहेका नेपालीहरूको लेखा जोखा राख्न र मूल्याकन गर्न सम्भव देखिन्न ! बिदेशमा रहेर पनि, नेपाली भाषामा किताब प्रकाशित गर्ने,देश भक्तीको गीति एल्बम निकाल्ने,साहित्य संस्था दर्ता गर्ने र संचालन गर्ने व्यक्ति समेतको नाम उल्लेख गर्न छुटाउने नेपाल स्थित प्रतिष्ठानले संसार भरी छरिएर रहेका नेपालीहरूलाई नियमन र प्रोत्साहन गर्न सकिरहेको देखिन्न ! त्यस्तै युबा जगतलाई एन आर एन शील्डको ब्यबस्था र प्रतियोगिता गराई,एन आर एन प्रज्ञा पुरस्कारको व्यबस्था गराई भाषा,साहित्य,कला र खेलकुदको तीब्र विकास गरी नेपाल र नेपाली चिन्हाउने काम गरिनु पर्दछ !
एन आर एन र नेपाली निकायको सहकार्यको खाँचो:
बिदेशमा काम गर्न गएका वा रहेका नेपाली जो कुनै आपत बिपत वा संकट सास्तीमा रहेकाछन् त्यस्ता नेपालीको उद्धारकालागि नेपालका सम्बन्धित निकाय र नियोगमा संयन्त्र स्थापना गरी नियमितरुपमा एन आर एन संग सहकार्य गरिनु आवश्यक भएको देखिन्छ । त्यस्तै नेपालमा आइपर्ने प्राकृतिक प्रकोपमा पर्नेको उद्धार गर्न र नेपालीहरूलाई आवश्यक तालिम र प्रबिधि दिइन नेपाल सरकारका सम्बन्धित निकाय र एन आर एनको सहकार्यकालागि विभिन्न तहमा बिभिन्न विषयका संयन्त्रहरू बनाइनु आवश्यक देखिएको छ ।
गैरआवासीय नेपाली संघले आफ्ना राष्ट्रिय समन्वय परिषदमा विभिन्न बिषयगत शाखा संयन्त्रहरू खोलेर, अन्तर्राष्ट्रिय समन्वय परिषद्मा बिषयगत महाशाखाहरूको व्यवस्था गरेर तथा नेपाल स्थित संघको कार्यालयमा समेत बिषयगत अनुगमन शाखा र पर्याप्त संख्यामा कर्मचारी राखिनु पर्छ । त्यस्तै गरी आबश्यक बिषयगत कमिटीहरूको र टास्कफोर्सको नियमित बैठक राखिएर प्रगतिको अपडेट गराइनु पर्दछ ! यिनै र यस्तै भिजन तर्जुमा र कार्यन्वयन गर्न उद्यत भएमा सम्मेलन वास्तविकरुपमा सफल हुने र गैर आवासीय नेपाली संघ नेपाल र नेपालीकालागि चिताएको पुर्याउने कल्पवृक्ष बन्न सक्छ ! हाम्रा धन,मन,बुध्दी र समय भएका शीर्षष्त अगुवाहरूमा अझ बढी सिर्जनात्मक र उन्नत शोच र शैली जागेर आओस् यही हार्दिक कामना ! सम्मेलनको पूर्ण सफलताको कामना !
(लेखक-एन आर एन क्यानाडाका सल्लाहकार, अन्तर राष्ट्रिय समन्वय परिषद्को नागरिकता सम्बन्धी टास्कफोर्समा कार्यरत तथा नेपालका अधिबक्ता हुनुहुन्छ)