आश्मा न्यौपाने नेपाल ब्युरो/क्यानाडाखबर
महिलामाथि विभिन्न प्रकारका हिंसा भएका समाचारहरु प्रशस्तै आउँछन् । तर, पुरुषमाथि हुने गरेका हिंसा भने खासै सुन्न पाइँदैन । महिलामाथि हुने हिंसा जस्तै पुरुषहरुमाथि जघन्न हिंसा हुने गर्दछ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली ऐन कानुनहरुले महिला सशक्तिकरणका नाममा बनेका विभेदपूर्ण कानुनले दिएका अधिकारलाई प्रयोग गर्ने र पुरुषमाथि ज्यादती हुने गरेका घटनाहरु बढ्दो छ, घट्दो छैन ।
पुरुषविरुद्ध शारीरिक र मानसिक दुई खाले हिंसा समाजमा देखिने गरेका छन् । पुरुषहरुमाथि शारीरिकभन्दा मानसिक हिंसा बढी हुने गरेको पाइएको छ । पुरुष माथि हुने भौतिक रुपको शारीरिक हिंसालाई पहिचान गर्न सजिलो हुने भएता पनि मानसिक हिंसाको पहिचान गर्न सजिलो छैन । सरल र सहज रुपमा भन्नु पर्दा पुरुषलाई मानसिक वा मनोवैज्ञानिक रुपमा आघात पुराउने हिंसालाई मानसिक हिंसा भनेर बुझ्न सकिन्छ ।
पुरुषले मनग्गे कमाउन नसक्दा होस् वा छिमेकीका तुलनामा त्यस्तै बन्न वा हुन नसक्दा घर परिवार छिमेकी वा साथीभाईबाट भोग्नुपर्ने मानसिक हिंसाको कुनै मापन गर्न सकिने बिषय होइन ।
यस बाहेक पनि पुरुषले शब्दका झटारो मार्फत दिनानुदिन व्यहोर्नुपर्ने नामर्द, नपुंसक, जोइटिङ्ग्रे, हुत्तिहारा जस्ता शब्दको प्रयोग पनि पुरुषविरुद्धको हिंसा हो । यो मानसिक यातना नै हो जसलाई मानसिक हिंसाका रुपमा लिन सकिन्छ । यस प्रकारका हिंसा महिलाबाट मात्रै होइन पुरुषले पुरुषलाई पनि गरिएका हुन सक्छन् ।
तर, यस्ता हिंसा सतहमा खासै आउँदैनन् । पुरुषलाई गाली गर्दा प्रयोग गरिने शब्द जस्तै महिलालाई प्रयोग गरियो भने बबण्डर नै हुन्छ । तर, महिलाको तुलनामा पुरुषमाथि हुने हिंसा सतहमा नआउनुमा निम्न कारणहरुलाई लिन सकिन्छ-
१. कानुनी जटिलता
नेपालमा महिला र पुरुष समान बनाउने नाममा बनेका र राज्यले निर्माण गरेका ऐन कानुनलाई हेर्ने हो भने महिलाको निम्ति सम्बन्ध विच्छेदको प्रक्रिया जति सरल र सहज छ पुरुषको निम्ति त्यति नै झञ्झटिलो र दिक्दार लाग्दो छ । राज्यले महिलालाई दिएको कानुनी अधिकारहरु केलाउने हो भने पुरुषलाई दिइएको कानुनी अधिकारहरु भन्दा बलिया देखिन्छन् । नेपाली ऐन कानुनहरुमा पुरुषमाथि पनि हिंसा हुन्छ भन्ने परिकल्पना गरेको पाइँदैन । त्यसैले होला कानुन निर्माण हुँदा पनि त्यस्तैखाले कानुनहरु बनेका पाइन्छन् । पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्थामा गाबिस वा नगरपालिका कार्यालयबाट प्रक्रिया शुरु गर्नु पर्ने कानुनी बाध्यता छ । महिलाको हकमा भने त्यो लागु हुँदैन ।
महिलालाई कानुनी रुपमा सहयोग गर्ने धेरै संघ संगठनहरु छन् । राज्यले नै त्यसको व्यवस्थापन गरेको छ । जस्तै हरेक प्रहरी कार्यालयमा महिला सेलको व्यवस्था छ तर पुरुष बिरुद्धको हिंसा हेर्न कुनै छुट्टै व्यवस्था छैन । त्यस्तै महिला आयोग जुन सविधानले नै व्यवस्था गरिरहेको छ तर पुरुषका लागि छुट्टै पुरुषको हकहितमा बोलिदिने संघसंस्था भने न्युन छन् । महिलाले दायर गरेका मुद्दाहरुले बढी प्राथमिकता पाउने र छिटो फैसला हुने गरेका तथ्यांकहरुले देखाएको छ ।
२. पुरुष प्रधान समाज अहम र लोकलाज
पुरुष प्रधान समाजको आदत भएका नेपाली पुरुषहरु सामाजिक रुपमा आफूलाई बलियो र मुख्य ठान्छन् । त्यसैले महिला हुन् वा परिवार आफ्नो नियन्त्रणमा हुनुपर्छ भन्ने ग्रसित मानसिकताबाट पुरुषहरु गुजि्ररहेको पाइन्छ । महिलाहरु हुन् वा परिवारका सदस्यहरु पुरुषको नियन्त्रणमा छन् भन्ने आम मानसिकताका कारण पुरुषले पत्नीबाट होस् वा परिवारका सदस्यबाट पीडित छु, ममाथि हिंसा भएको छ, म मानसिक या शारिरीक हिंसाबाट पीडित छु भन्न नेपाली पुरुष तयार देखिदैन । यसो हुनुमा पुरुष प्रधान समाजको खोक्रो रवाफ, समाज अनि लोकलाजको त्रास मुख्य कारण मान्न सकिन्छ । समाजले पत्नीबाट नियन्त्रित पुरुषलाई जोइटिंग्रे भन्ने महिलामा निर्भर हुने पुरुषलाई हुत्तिहारा, नामर्द जस्ता शव्दले प्रहार गर्ने परिपाटीका कारण पनि यस्ता घटनाहरु सतहमा आउन पाउँदैनन् ।
३. जानकारीको अभाव
कस्तो प्रकारको हिंसालाई पुरुषविरुद्धको हिंसा भन्नेबारे जनचेतनाको अभावका कारणले मात्र होइन कानुनी प्रावधानहरुका अभावका कारणले पनि पुरुषले आफू उपर हुने मानसिक या शारिरीक हिंसा जाहेर गर्न लाज डरका कारण पनि पुरुषबिरुद्धको हिंसा सतहमा आउँदैनन् । शारीरिक हिंसाबारे केहि हदसम्मको चेतना भएतापनि धेरै पुरुषहरुमा मानसिक हिंसाबारेमा जानकारी पाइँदैन । हिंसा पहिचानको अभावमा पनि धेरै पुरुषविरुद्धको हिंसा सतहमा अर्थात बाहिर आउन पाउँदैन ।