चित्रांगदा, मेरी बहिनी ! तिमी यहाँ भेटिनेछ्यौ भन्ने मलाई कल्पनै थिएन । बग्गी रोक्न लगाएर डा. कामिनी मेनन बाटैमा उत्रिन् र अँगालो हाल्दै गीत गाए जस्तो स्वरमा भनिन् । उस्तै परिधानमा, निकै प्रसन्न र चहकिली देखिन्थिन् उनी । अचम्म मान्दै चित्रांगदाले सोधी— कहिले आयौ तिमी देवी ? तिम्रो यता आइहाल्ने त योजना थिएन ! तत्कालै आएँ चित्रांगदा !… यसो भन्दा कामिनीको अनुहारमा अझ बढी खुसी देखियो । चित्रांगदालाई तानेर सडक छेउको बेन्चीमा पु¥याइन् उनले, दुवै त्यहीँ बसेर बात मार्न थाले । तिमी हिँडेको केही दिनमै गन्धर्वदूत डा. विधाता सौरीपुर धर्मशालामा आएर बसेका थिए । याम्यपुरमा भैरहेको दंगाको निरीक्षण गर्न आएका रहेछन् । धर्मशाला व्यवस्थापनको खूब प्रशंसा गरे । चित्रनगरमा गन्धर्व दूतावासको गृह–व्यवस्थापनका निम्ति पात्र खोजिरहेका रहेछन् । मलाई कामको प्रस्ताव गरिहाले, मैले पनि स्वीकार गरें । र, उनैसँग विमानमा सोझै आएँ देवी । ईश्वर दयालु छन् कामिनी ! राम्रो भएछ तिमीलाई…
हो चित्रांगदा । मलाई गन्धर्व दूतावासमै आवासको प्रबन्ध छ । मुद्रा बढी दिएका छन्, ठूलो ठाउँको आफ्नै आकर्षण… र, सबै भन्दा राम्रो कुरा— विधाता पनि एक्ला रहेछन् । उनीसँग झगडा गरेर पत्नी उषा गन्धर्वदेश गएकी रहिछन् । केटाकेटी उतै पढ्छन् रे । बिचरा एक्लै… त्यस माथि सुगरका बिमारी । मैले विधाताको भोजनगृह आफैं हेरिदिएकी छु, सँगै गर्छौं हामी साँझको भोजन । कहिले अबेला रातिसम्म बसेर पुराना सिनेमा हेर्छौं । कहिले म पुराना गीत गाउँछु, उनी आँखा चिम्लेर मग्न भएर सुन्छन् । हामी दुवैको एक्लोपन हटेको छ । हामीलाई रूचि लाग्ने कुरा पनि धेरैजसो साझा छन् देवी— कला संस्कृतिका पारखी छन् विधाता । आफ्नो स्तरको कुरा बुझ्ने बौद्धिक मान्छेसँग आफ्ना दुःख सुख बाँड्न पाउँदा प्रसन्न छु म । उनकी पत्नी फर्कन्नन् र देवी ? खै के गर्छिन् ? अंश लिएर छुट्टै बस्न खोजेको कुरा पनि गर्थे विधाता । केटाकेटी आफूसँग राखेर तिनको भरणपोषणका निम्ति भनेर सम्पत्तिको ठूलो भाग दाबी गर्ने सुरमा छिन् रे उनी । कमलो स्वरमा फेरि भनिन् उनले— डा. विधातामा उनीप्रति वितृष्णा छ । आइमाई बढी महङ्खवाकांक्षी भए पुरूषले धेरै दुःख पाउने निश्चित हो चित्रांगदा । परिवारको आनन्द नै समाप्त हुन्छ त्यस अवस्थामा । सामान्य परिवारबाट आएका सरल स्वभावका विधाता भन्थे— कामिनी, पत्नीको उपस्थितिमा मलाई सकस अनुभव हुन्छ । हर सानातिना कुरामा लैंगिक मान–अपमानको विषय निकालेर सधैं रडाको मच्चाउँथिन् रे उषा । दुई विषयमा पीएचडी गरेकी मेधावी महिला रहिछन् उनकी पत्नी । तर, जति पढे पनि परिवारलाई जोड्न नसक्ने आइमाईको के अर्थ, होइन र चित्रांगदा ? चित्रांगदा चकित थिई उनको बदलिएको मनस्थिति देखेर । उनै कामिनी थिइन् यी, जसले आफ्नो पतिले अर्की आइमाई मन पराएकोमा खिन्नता व्यक्त गर्थिन्, पुरूष चरित्रको कमजोरी माथि बारम्बार टिप्पणी गर्थिन् । डा. विधाता मलाई के भन्छन् थाहा छ चित्रांगदा ? उनले प्रसन्न हुँदै भनिन्— उनी भन्छन्— कामिनी, तिम्रो आगमनले मेरो जीवनमा शान्ति र आनन्द फिर्ता आएको छ । हराएको खुशी पाएको छु मैले । भगवान जस्ता छन् विधाता ! यस्तो असल मान्छेलाई दुःख दिने त्यो आइमाई कस्ती होली भनेर मलाई अचम्म लाग्छ ! कामिनीको कुरा सकिएको थिएन— म असाध्यै खुशी छु मेरी बहिनी ! पृथ्वीमा कहिल्यै नपाएको सन्तुष्टि ईश्वरले मलाई यहाँ दिएका छन् । …अपरम्पार छ तेरो लीला प्रभु… भावुकतावश दुवै हात जोडेर निधारमा पु¥याएर निहुरिइन् उनी… आँखा भिजेर गाजल लत्पतिएको थियो । अचम्म मानेर उनलाई हेरिरही चित्रांगदाले । बाटै छेउ बसेर कामिनीले फररर्र यी सबै कुरा भनिभ्याएकी थिइन् । तिमीलाई एक दिन म बोलाउँछु दिउसो । एकान्तमा बसेर दिदीबहिनीले मनका कुरा गरौंला… नभए केही दिन मसँगै यहीं बस । यति भनेर कामिनी बग्गीमा उक्लिन् ।
० ० ०
बग्गी पठाइदिएकी थिइन् कामिनीले अतिथि भवनमा । कृपासुरलाई नलिई एक्लै गई चित्रांगदा गन्धर्व दूतावासतिर । कामिनी प्रांगणमै कुरेर बसेकी रहिछन् । बडो स्नेह गरेर उसलाई भित्र लगिन् । सबै कोठा चोटा देखाएपछि आफ्नो कोठामा लगिन् र पलङमा बसाइन् । आफूले यहाँ आएर जोडेका ठूलो किनार भएका कटनका साडी र चाँदीका गहनाहरुको कलेक्शन देखाइन् । भित्ताभरिको एउटा विशाल दराज पूरै भरिएको थियो । डा. विधाताले सुटुक्क सुनाएको एउटा ठूलो रहस्य मेरा मन भित्र लुकेको छ चित्रांगदा । कसैसँग बाँड्न नपाउँदा उकुसमुकुस भएको छ मलाई, यताउति हेर्दै भनिन् उनले । भन न देवी…. चित्रांगदाले भनी । नजीकै आइन् कामिनी र सुस्केरामा बोल्न थालिन्— बुझ्यौ… यतिखेर गन्धर्वदेशले यमलोक माथि ठूलो षडयन्त्र रचिरहेछ । म आफैं पनि यमलोकको भविष्यप्रति चिन्तित छु । तर, के गर्नु, मैले चिताएर मात्र केही हुँदैन । डा. विधाता समेत यस्तो षडयन्त्रमा शामेल हुनुपरेकोमा दुःखी छन् । उनी त जागीरे मान्छे; आफ्नो लोकको नीति अनुरुप चल्नैप¥यो । नभए छोड्नुप¥यो जागीर । उनको पनि बाध्यता छ । बूढा बा आमा छन् घरमा, तीन वटी बहिनीको बिहे गर्न बाँकी छ भन्थे । उनीहरुको समुदायमा दाइजोको चलन धेरै छ । उनकी पत्नीका कुरा त सुनिहाल्यौ । कस्तो षडयन्त्र भन्यौ कामिनी ? …गन्धर्वदेशले यमलोकलाई अधीनस्थ बनाइराख्न विशेष नीति बनाएर अघि बढिरहेछ । यमलोकलाई निरन्तर तनावग्रस्त बनाउने, त्यस पछि पृथ्वीलोकबाट आउने जीवात्मालाई यमलोकको सट्टा गन्धर्वदेशको बाटो हिंडाउँदै धर्मराजकहाँ पु¥याउने लक्ष्य छ गन्धर्वदेशको । यसो गर्दा ठूलो राजस्व संकलन हुन्छ रे । यसबाट गन्धर्वदेशको ख्याति पनि तीन लोक चौध भुवनमै फैलिन्छ रे देवी ! कार्ययोजना कस्तो रैछ त देवी ? सानो स्वरमा सोधी चित्रांगदाले । यमलोकको सीमावर्ती भागलाई गन्धर्वदेशमा मिलाउने योजना तयार हुँदैछ भन्छन्, देवी । सीमाक्षेत्रमा शुरु भएको उपद्रव त्यसैका निम्ति हो अरे । कथंकदाचित् यमलोकमा नयाँ नागरिकता नीति पारित भयो भने चाहिं अप्ठेरो पर्छ रे । त्यसलाई रोक्न सीमाक्षेत्रमा गन्धर्वदेशले आन्दोलन उठाइदिएको छ । आन्दोलनमा गए बापत गोप्य रुपमा व्यापक मुद्रा बाँडिएको छ । यमदूत, महिला, चिकित्सक, धार्मिक लगायत जनलाई आन्दोलनमा उतार्ने काम यही गुरूयोजनाकै अंग हो । दिनहुँ गोली चलेको चल्यै छ । चारैतिर आगजनी र लूटपाट भैरहेछ । दृश्यमा गन्धर्वदेश छैन, काम गर्ने पात्र सबै यमलोककै छन् । सीमाक्षेत्रमा तनाव बनाइराख्न त्यतैका बासिन्दाहरु गोप्य रुपमा खटिएका छन् । प्रतिपक्षी नेता वक्रतुण्ड पनि यसमा शामेल छन् । उनीहरु सबै धर्मसभाका सदस्य हुन् देवी, पत्याउँछ्यौ ? आश्चर्यचकित भएर हेरी चित्रांगदाले । उसलाई लाग्यो— कत्रो धोखा ? कामिनी भने बोलिरहिन्— अझ आश्चर्य त, महाराजपुत्र चन्द्रशेखर समेत गन्धर्वदेशसँग मिलेका छन् । युवराज हुन नपाएको झोंकमा उनी यमलोकलाई धोका दिन तत्पर छन् । त्यस बापत ठूलो मुद्रा लिन्छन् उनीहरुले विधाताबाट । बिचरा विधातालाई पनि सजिलो छैन, मौका यही हो भनेर मोलमोलाइ गर्छन् सबै । दिनरात नभनी ऐरेगैरेका ढोका ढोकामा गएर चित्त बुझाउनुपर्छ । ’छिमेकी चिढ्याउने नागरिकता नीति बनाउन तत्काल रोक’ भनेर चित्रपाटीमा सम्पादकीय लेखाउन मात्रै तीन करोड मुद्रा खर्च गरे विधाताले । चित्रांगदा ! मलाई त उनीहरु यहाँ आएर विधातासामु गिडगिडाएको देख्ता घीन लागेर आउँछ ! अर्काको प्रलोभनमा परेर आफ्नो राष्ट्रमाथि गद्दारी गर्नेहरु नीच कोटिका जीव हुन् । आज राति पनि उनीहरु आउनेवाला छन्, मोक्ष भोजनालयले भोजन व्यवस्थापनको जिम्मा पाएको छ । यो कुरा महाराज विचित्रलाई थाहा छ ? चित्रांगदाले सोधी । उनलाई थाहा हुनु र नहुनुले कुनै अर्थ राख्तैन; उनका पुत्र चन्द्रशेखरलाई हात लिएपछि उनलाई जे गराउन पनि सकिन्छ भन्छन् विधाता । उद्दालक नि ? उनको विद्वत्ताको ठूलो चर्चा छ, यमलोकमा । उनी धर्मसभामा पनि छन्… चित्रांगदाले सोधी । रहस्यमय मुस्कुराइन् कामिनी । भनिन्— उद्दालक विद्वान हुन्, सुन्दर व्यक्तित्व र तीक्ष्ण स्मृतिशक्ति भएका उनी शास्त्रचर्चामा विख्यात छन् । मधुर र प्रिय बोल्छन् । पतिपत्नी दुवै विधाताका निकट मित्र पनि हुन् । प्रायः भोजन गर्ने गरी आइरहन्छन् यहाँ । उनका धेरै नाता सम्बन्धी र मित्र गन्धर्वदेशमा भएकाले प्रायः उतै बस्छन् । चित्रनगर धर्मसभाका सदस्य भए पनि धेरैजसो अनुपस्थित नै रहन्छन् । यसपल्ट भने लामो समय पछि यमलोक आएका छन्… अनि देवी ? अति मद्यप्रेमी, उनका कमजोरीलाई राम्ररी समातेको छ गन्धर्वदेशले । आप्ना दैनिक आवश्यकता पूर्तिका निम्ति मात्रै पनि प्रदाताहरुसँग सम्झौता गर्नुपर्ने स्थिति छ उद्दालकको । यति बाँधिएका छन्, गन्धर्वदेशको नीति विपरीत उनी जान सक्तैनन् चित्रांगदा । यतिखेर पनि उनको आगमनको कारण छ, यमलोकमा नागरिकता नीतिको विरोधमा जनमत बनाउने अभिभारा उनैलाई दिएको छ गन्धर्वदेशले । साँचो बोलिरहिछौ देवी ? चित्रांगदाका आँखा अविश्वासमा ठूला भए । कामिनी भने वास्तै नगरी भनिरहिन्— मलाई चाहिं खास गरी उनकी पत्नी तारा मन पर्दिनन् । अति नै आक्रामक र छुच्ची छिन् ती आइमाई, सहिष्णुता पटक्कै नभएकी झगडालु । आफैं मात्रै जान्ने–सुन्ने भन्ठान्छिन् । मद्यले टिल हुन्छिन् र बहाना पारीपारी विधातासँग टाँस्सिन जान्छिन् ! रिसाएको अनुहार पारिन् कामिनीले र भनिन्— नखरमाउली नारी ! हे भगवान ! चित्रांगदाले दुवै हातले आफ्नो टाउको समाती । कामिनी भनिरहेकी थिइन्— गन्धर्वदेशको षडयन्त्रबारे जानकार भएर पनि त्यसमा सहमत नहुने चित्रपुर नायक सुकर्ण मात्रै छन् नीति निर्माणका तहमा । त्यसैले त शुरुदेखि उनी माथि प्रहार भैरहेछन् देवी । उनलाई कलंकित देखाएर लोकका नजरमा गिराउने प्रयत्न चालू छ । उनी भने जसरी भए पनि नागरिकता नीति पारित गराउने उद्देश्यमा केन्द्रित छन् । नत्र यत्रो अपमान सहेर बसिरहने थिएनन् । …यमलोक माथिको यो षडयन्त्र थाहा पाएदेखि मेरो मुटु कामेको काम्यै छ चित्रांगदा । यस्ता दुर्नियत र दुर्विचार राखेर कसरी हिंड्न सकिन्छ कुन्नि ? हुन त विधाताले यो रहस्य अरुलाई नचुहाउनू भनेका थिए मलाई । तिमी त आफ्नै हौ नि मेरी बहिनी ! तिमीले चाहिं कसैलाई नभन्नू… कामिनीले उसलाई सतर्क बनाइन् । एक छिन रोकिएर फेरि भनिन् उनले— सुकर्णप्रति मेरो श्रद्धा छ देवी ! डा. विधाता पनि भित्री रुपमा उनलाई सम्मान गर्छन् । सुकर्णकी पत्नी स्वस्थानी यहींको आभिजात्य भारदारी परिवारकी उच्च शिक्षित नारी हुन्, हिरण्यलोकबाट उच्च शिक्षा हासिल गरेकी । उनलाई मात्तिएकी घमण्डी पनि भन्छन् जनले । तर सुल्झिएको विचारकी शीलवती सुन्दरी छन् उनी । उनलाई महाराजपुत्र चन्द्रशेखरले मन पराएर विवाहको प्रस्ताव पठाएका रहेछन् । त्यसलाई अस्वीकार गरेर सुकर्णसँग प्रेमविवाह गरेकीले पनि चन्द्रशेखरको सुकर्णप्रति डाहा छ । एकपल्ट स्वस्थानीलाई तिमी पनि भेट… मन प्रसन्न हुनेछ । चित्रांगदाले कामिनीसँग बिदा मागी । म पनि जान्छु तलसम्म… भन्दै कामिनी ऊसँगै ओर्लिन् । तल बैठकमा बसिरहेका स्वामी ऋषिकेशव र भुवनलाई देखेर चित्रांगदा तीनछक्क परी । उठे दुवै, नमस्कार गरी उसले । तिनका घाँटीमा स्वामी परिमलले दीक्षामा लगाइदिएको रक्तचन्दनको माला थियो । भुइँचालोमा दुवै आ–आफ्ना कार्यालयमा पुरिएछन् । कामिनीसँग राम्रो परिचय रहेछ उनीहरुको, कुशलक्षेम गरे तिनले । कामिनीले भनिन्— म चित्रांगदालाई बाहिर बग्गीसम्म छोडेर आउँछु… बस्तै गर्नुहोला देव… बाहिर निस्केपछि चित्रांगदाले सोधी— ऋषिकेशव र भुवन यहाँ किन आएका हुन् ? वरिपरि हेर्दै कामिनीले बिस्तारै भनिन्— जल–माफिया हुन् देवी । आइरहन्छन् । दुवै गन्धर्वदेशका निम्ति काम गर्छन् । यमलोकले वैतरणी र पुष्पभद्रा नदीबाट बिजुली निकाल्ने ठूलो योजनाको टेण्डर खोलेको छ । त्यसैको ठेक्का हात पार्न विधातालाई भेट्न आएका हुन् । यी दुई वटा नदी हात पार्नु भनेको यमलोकलाई नाङ्गेझार पार्नु हो भन्ने गन्धर्वदेश राम्रोसँग जान्दछ… ।
(सोमबार सार्वजनिक हुन लागेको उपन्यास ‘कम्प’बाट लिइएको अंश । यो पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो )