काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका जाने कार्यक्रम पहिले नै तय भएपनि देशकाे विविध राजनीतिक समस्या समाधान गर्नुपर्ने भएका कारण भ्रमण स्थगित भएकाे प्रचण्डका स्वकिय सचिवालयले बताएको छ ।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत भारतबाटै न्यूयार्क प्रस्थान गरिसकेका छन् । साथै प्रधानमन्त्री प्रचण्डकाे उच्चस्तरिय चाइना भ्रमणकाे तयारी लगायतका कामहरूले भ्रमण स्थगित गर्नु परेकाे सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको थियाे ।
आइतबार मात्र भारतको चार दिने भ्रमण पुरा गरेर फर्किएका प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि न्यूयोर्क जाने कार्यक्रम थियो । र, भ्रमण टोली समेत सार्वजनिक भइसकेको थियो । तर, आइतबार राति अबेर भ्रमण स्थगितको निर्णय भएको छ ।