समाचार

को बन्ला अमेरिकाको नयाँ राष्ट्रपति ?

By canadakhabar

November 05, 2016

केशरमणि कटुवाल ।

लामो समदेखि विश्व राजनीतिमा सुपर पावरका रूपमा आफूलाई उभ्याएको अमेरिका यतिबेला आफ्नो देशको नयाँ राष्ट्रपतिको निर्वाचनमा केन्द्रित छ । तर, विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्रप्रमुख, सरकार प्रमुख र सेनाको कमान्डर–इन–चिफसमेत हुने अमेरिकी राष्ट्रपति निर्वाचनले यतिबेला विश्वकै ध्यान आकर्षित गरेको छ र यो स्वाभाविक पनि हो । अमेरिकी राष्ट्रपति निर्वाचन विश्वकै लामो राष्ट्रपतीय निर्वाचन प्रणाली पनि हो । हाल रिपब्लिकन पार्टीका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पसँग पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार बनेका टेड क्रुजले आफ्नो चुनावी अभियान ठीक १८ महिनापहिले सुरु गरेका थिए । तर, त्यसपछि क्रमशः चुनावी अभियानमा होमिएका उम्मेदवार अब अन्तिम प्रतिस्पर्धाका लागि तयार भइसकेका छन् । महिना, हप्ता र दिन गन्दै अब राष्ट्रपति निर्वाचनका लागि घन्टा गन्न सुरु भइसकेको छ । अब मंगलबार हुने निर्वाचनले अमेरिकाको आगामी नेतृत्वमा को पुग्छ ? भन्ने कुराको फैसला गर्नेछ ।

जसरी अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिँदै छ, यसको चर्चा परिचर्चा र लोकतान्त्रिक पद्धति माथिको बहस पनि चुलिँदो छ । आज अमेरिकी राष्ट्रपतीय प्रणालीलाई हेरेर आप्mनो देशमा पनि राष्ट्रपतीय प्रणाली लागू गर्ने सपना देख्ने नेताको कमी छैन, संसारमा । यस व्यवस्थामा राष्ट्रपति र संसद् समानान्तर संस्थाजस्तो देखिन जान्छन् तर अमेरिकी प्रजातान्त्रिक इतिहासलाई केलाउने हो भने त्यहाँ राष्ट्रपति र संसद्बीच अन्योन्याश्रित सम्बन्ध स्थापित भएको छ । महाअभियोगजस्ता जटिल परिस्थितिलाई छाडेर सत्ताको एक निश्चित समयसम्म स्थायित्व रहन्छ । राष्ट्रपतीय प्रणालीमा जनताले सीधै राष्ट्रपति निर्वाचित गर्ने भए पनि अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रक्रिया अलि जटिल, लामो र विश्वमै खर्चिलो चुनाव पनि हो । अमेरिकी संविधानमा व्यवस्था गरिएको यो व्यवस्थामा संविधानको १२औं, २२औं र २३औ संशोधनबाट सुधार गरिएको हो ।

हरेक चार वर्षमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्छ र उम्मेदवार बन्नका लागि अमेरिकामै जन्मिएको तथा ३५ वर्ष उमेर पूरा गरेको हुनुपर्छ । त्यतिले मात्रै पुग्दैन उम्मेदवार हुनुभन्दा अघि लगातार १४ वर्षसम्म अमेरिका नै बसेको हुनुपर्छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले बढीमा दुई कार्यकाल काम गर्न पाउँछन् । फ्रेंकलिन डी रुजवेल्ट अपवाद हुन् जसले चार प्रेसिडेन्सियल निर्वाचन जित्ने रेकर्ड कायम गरेका थिए । अमेरिकामा कुनै राष्ट्रपतिका लागि अधिकतम दुई कार्यकालको अलिखित कानुन त्यसबेलादेखि लागू भएको थियो, जतिबेला जर्ज वासिंगटनले सन् १७९६ मा तेस्रोपटक राष्ट्रपति बन्न अस्वीकार गरेका थिए । युलिसिस ग्रान्टले तेस्रोपटक राष्ट्रपतिको उम्मेदवार बन्ने प्रयास गर्दा आलोचनाका पात्र बन्नुप¥यो । अमेरिकी संविधानमा गरिएको २२औं संशोधनमार्फत कुनै राष्ट्रपति दुई कार्यकालभन्दा बढीपटक रहन नपाउने व्यवस्था गरिएको हो । हालसम्म ४४ जनाले अमेरिकी राष्ट्रपति पदमा पुगिसकेका छन् र यो ५८औं अमेरिकी राष्ट्रपतिको निर्वाचनले ४५औं राष्ट्रपति चयन गर्नेछ । चार अमेरिकी राष्ट्रपति (विलियम हेनरी ह्यारिसन, जेकरी टेलर, वारेन हार्डिंग र फ्रेंकलिन रुजवेल्ट) को पदमा रहँदा नै मृत्यु भयो भने चार अमेरिकी राष्ट्रपति (अब्राहम लिंकन, जेम्स गार्फिल्ड, विलियम म्याकन्ली र जोन केनेडी) को हत्या भयो । रिचर्ड निक्सनले वाटरगेट कान्डका कारण राष्ट्रपतिको पदबाट राजीनामा दिनुपरेको थियो । ठीक यतिबेला जिम्मी कार्टर, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन र जर्ज डब्लु बुस गरी चार जना मात्रै अमेरिकी पूर्वराष्ट्रपति जीवित रहेका छन् । लामो र झन्झटिलो निर्वाचन प्रक्रिया

अमेरिकी राष्ट्रपति पदका लागि हुने निर्वाचनको मिति निश्चित छ । हरेक चार वर्षमा हुने राष्ट्रपतिको निर्वाचन फेब्रुअरी महिनाको पहिलो मंगलबार र पहिलो मंगलबार १ तारिख परेमा भने दोस्रो मंगलबार राष्ट्रपतिको निर्वाचन हुने गर्छ । तर, अमेरिकी राष्ट्रपति पदको निर्वाचनको प्रक्रिया भने धेरै लामो, पेचिलो र जटिल प्रक्रिया पनि हो । डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अमेरिकी राष्ट्रपतिका उम्मेदवारले पार्टीका प्रतिनिधिहरूका आवश्यक समर्थन पाएर पार्टीको राष्ट्रिय सम्मेलनबाट औपचारिक रूपमा उम्मेदवार चयन भएपछि मात्रै चुनावमा भाग लिन पाइन्छ । धेरै लामो अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रक्रिया अत्यन्तै खर्चिलो पनि छ । निर्वाचन प्रक्रिया कहिलेबाट सुरु गर्ने भन्ने अन्य देशमा जस्तो कुनै नियम छैन । जस्तो कि रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा पछि परेका टेड क्रुजले मार्च २०१५ देखि निर्वाचन अभियान सुरु गरेका थिए । तर, त्यसको २० महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुन लागेको छ तर उनी राष्ट्रपतिको दौडमा डोनाल्ड ट्रम्पसँग पछि परे । लामो यस प्रक्रियामा कति खर्च हुन्छ भनेर हामीले कुनै अनुमान नै लगाउन कठिन छ । इलेक्सन डे : यस्तो हुन्छ निर्वाचन प्रक्रिया

रिपब्लिकन र डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनबाट आ–आफ्ना उम्मेदवार चयन हुन्छन् र पार्टीको राष्ट्रिय सम्मेलनबाट आप्mना प्रत्यासीको घोषणा गरिन्छ । आमरूपमा अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्राइमरी विशेष गरी फेबु्रअरीदेखि मार्चसम्ममा भइसक्छ । पार्टीको राष्ट्रिय सम्मेलनबाट औपचारिक रूपमा प्रत्यासीको घोषणा गरिएपछि ‘इलेक्सन डे’ का लागि प्रचार अभियान सुरु हुन्छ । आमरूपमा नोभेम्बरको पहिलो साता अमेरिकी राष्ट्रपतिको निर्वाचन हुन्छ । यसमा जनताले प्राइमरी निर्वाचनमा जस्तै इलेक्टर्स छान्छन् ।

यसलाई इलेक्ट्रोरल कलेज भनिन्छ । अर्थात् उनीहरू अमेरिकी जनताबाट छानिन्छन् र उनीहरुले अमेरिकी राष्ट्रपति छान्छन् । यसमा ५ सय ३८ जना इलेक्टर्स हुन्छन् । यो संख्या अमेरिकाको दुवै सदन (सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ) को सदस्य संख्याको कुल जोड हो । प्रतिनिधि सभामा ४ सय ३५ र सिनेटमा १ सय सांसद हुन्छन् । दुवैलाई मिलाएर ५ सय ३५ सदस्य हुन्छन् भने बाँकी ३ जना ५१औं वासिंगटन डीसीबाट आउँछन् । प्रत्येक राज्यबाट प्रतिनिधिसभा र सिनेटका सदस्य जति छन् त्यतिकै संख्यामा इलेक्टर्स चयन हुन्छन् र ५ सय ३८ जनाको इलेक्ट्रोरल कलेज बन्छ । यी नै इलेक्टर्सको बहुमत अर्थात २ सय ७० भन्दा बढी मत ल्याउने व्यक्ति अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन्छ । कसका के एजेन्डा ?

अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचनको दिन नजिक आइसकेको छ । अरू पनि प्रतिस्पर्धी भए पनि मुख्य गरी दुई उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच यसपटकको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा हुँदै छ । दुवै नेताले आफ्ना नीति तथा कार्यक्रमलाई जनतासाथ प्रस्तुत गरिसकेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनअघि हुने मुख्य तीनवटा टेलिभिजन बहस पनि सेप्टेम्बर महिनामा नै सकिएका छन् । यी बहसमा दुवैले आफ्ना नीतिको बचाउ गर्दै एकअर्काका नीतिको तिखो आलोचना गरेका छन् । राष्ट्रपतिको निर्वाचनका क्रममा हिलारी र ट्रम्पबीच रुस, इराक, यौनशोषण र इमिग्रेसनलगायतका विषयमा पटकपटक बहस भएका छन् । हिलारीले अमेरिकी जनताले हतियार राख्ने विषयमा चलिरहेको बहसका क्रममा हतियार राख्ने परम्पराको सम्मान गर्ने तर त्यसको सही सञ्चालन हुनुपर्ने आफ्नो मत राखेकी छन् । अमेरिकामा पटकपटक यसरी घरमा नै राखिने हतियार हत्या, आतंक सिर्जना गर्नेलगायतका कार्यमा प्रयोग भएपछि हतियारको सवाल उठेको छ । उनले ट्रम्पले महिलाको सम्मान नगर्ने गरेको, ट्रम्पले महिलाको सम्मान नगर्ने गरेको, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कठपुतली भएको, अमेरिकी राष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा खतरनाक उम्मेदवार भएको आरोप लगाएकी छन् । उनले गर्भपतनको सन्दर्भमा महिला अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाएकी छन् । बिन लादेनजस्तै अबु बकर अल बगदादीको अन्त्य गर्ने, मोसुल आईएसको कब्जाबाट स्वतन्त्र पार्ने, करवृद्धि नगर्ने, सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र रोजगारीको सिर्जना आफ्नो प्राथमिकतामा पर्ने बताएकी छन् ।

यसैगरी, ट्रम्पले इस्लामी कट्टरपन्थको अन्त्य गर्ने, अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासी हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने, आफूले जति महिलाको कसैले पनि सम्मान नगर्ने, अफ्रिकी–अमेरिकीका लागि हिलारीले १० जन्ममा पनि गर्न नसक्ने काम आफूले गर्ने, पुटिन आफ्ना साथी नभएर रुस र अमेरिका मिलेर काम गर्नु राम्रो हुने आफ्नो भनाइ रहेको बताएका छन् । यसैगरी, उनले ओबामा र हिलारीले आफ्नो चुनावी ¥यालीमा हिंसा फैलाएको, उनी खुला सीमाको पक्षमा रहेकोलगायतका आरोप लगाएका छन् । यद्यपि, अमेरिकाको खासगरी विदेशनीति र आतंकवादविरोधी अभियानका बारेमा भने शब्द फरक राखेर एक अर्कालाई गाली गरे पनि सार रूपमा त्यसमा परिवर्तन आउने सम्भावना देखिँदैन ।

एक एक मतका लागि संघर्ष

निर्वाचनको दिन नजिकिँदै जाँदा दुई उम्मेदवारमध्ये कसले जित्ला भन्न कठिन पर्दै गएको छ । डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा मत सर्वेक्षणमा अगाडि देखिँदै आएकी थिइन् । तर, पछिल्लो समयमा हिलारी क्लिन्टनको इमेल प्रकरणको एफबीआईले पुनः छानबिन गर्न सुरु गरेपछि हिलारीका समर्थक निराश देखिएका छन् । जसका कारण ट्रम्प र हिलारीबीच मत सर्वेक्षणमा तीव्र प्रतिस्पर्धा देखिएको छ भने कतिपय क्षेत्रमा ट्रम्प अगाडि देखिएका छन् । ह्वाइट हाउसको दौडमा तीव्र प्रतिस्पर्धापछि उनीहरूले एकअर्काको स्वास्थ्य अवस्थाबारे प्रहार गर्नसमेत भ्याइसकेका छन् । ट्रम्पले हिलारीको इमेल प्रकरणलगायतलाई लक्ष्य गर्दै उनीमाथि थप छानबिनको माग गर्नाका साथै इमेल प्रकरणको छानबिनको अन्त्य अपराध पुष्टिसँगै अन्त्य हुने दाबी गरेका छन् भने हिलारीले ट्रम्पले महिलामाथि हेर्ने दृष्टिकोण नै गलत रहेको बताएकी छन् । दुई उम्मेदवारबीच पछिल्लो समयमा केही निर्णायक राज्यमा एकअर्काको भोट आफूतिर तान्ने प्रयासस्वरूप प्रचार अभियानलाई जारी राखेका छन् । ठूलो जनसंख्या भएको मुलुक अमेरिकामा राष्ट्रपति पदमा कसले बाजी मार्ला भनेर अहिले नै भन्न कठिन छ । सानो मत नमुना लिइने मत सर्वेक्षणले परिणामको थोरै छनक दिए पनि परिणाम नै सोहीअनुसार आउँछ भन्ने कुनै ग्यारेन्टी हुन्न । अमेरिकाको राष्ट्रपति निर्वाचनमा केही राज्य जहिले पनि निर्णायक रहँदै आएका छन् । ती राज्यमा जता मत गयो सोही पार्टीका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने सम्भावना रहन्छ । एरिजोना, कोलराडो, फ्लोरिडा, जर्जिया, ओहायो, मिसिगन, नेवाडा, न्यु हेम्पसायर, नर्थ क्यारोलिना, आयोवा, पेन्सिलभेनिया, भर्जिनिया र विस्कनसिन राज्य राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्ने निर्णायक राज्य हुन् । अहिलेसम्मको सर्वेक्षणमा यी निर्णायक १३ राज्यमध्ये ९ राज्यमा हिलारी र चार राज्यमा ट्रम्प अगाडि रहेको देखाइएको छ । तर, अहिले यसमा कडा प्रतिस्पर्धा छ । एरिजोना, जर्जिया, नेभाडा र फ्लोरिडा राज्यमा ट्रम्प अगाडि देखिएका छन् । गत अक्टोबर २३ मा एबीसी र वासिंगटन पोस्टले गरेको सर्वेक्षणमा हिलारी प्रतिस्पर्धी डोनाल्ड ट्रम्पभन्दा १२ अंकले अघि देखिएकी थिइन् । तर, उनको इमेल काण्डको पुनः छानबिन सुरु भएपछि त्यसको एक सातामा नै त्यो अन्तर १ प्रतिशतमा झरेको पाइएको छ । निर्णायक १३ राज्यमध्ये हिलारी ९ राज्यमा अघि देखिएकी थिइन् तर पछिल्लो समयमा सीबीएस पोलअनुसार त्यहाँ पनि हिलारीले मत हासिल गर्नका लागि धेरै प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । यद्यपि, अझै पनि उनको पक्षमा ५२ प्रतिशत मतदाता देखिएका छन् । गत ७ अक्टोबरमा सार्वजनिक भएको ट्रम्पको एक भिडियोले उनी धेरै पछि परेका थिए । यस्ता घटना कुनै पनि उम्मेदवारका लागि आफ्नो अभियान नै अन्त्य गर्न पनि पर्याप्त हुने गर्छ । तर, उनी यसबाट बच्न सफल भए । त्यसअघि ३ अक्टोबरमा भएको सर्वेक्षणमा हिलारीको पक्षमा ५१ प्रतिशत र ट्रम्पको पक्षमा ४५ प्रतिशत मत देखिएको यियो । त्यसलगत्तै हिलारीले १२ अंकको अग्रता बनाउन सफल भएकी थिइन् । सुरुवातदेखि नै ट्रम्पको पक्षमा साधारणतया ४० प्रतिशत मत देखिँदै आएको छ र निकै कम मात्रामा मात्रै ४५ प्रतिशत पुगेको छ । अहिले कतिपय क्षेत्रमा भएको सर्वेक्षणमा दुवैको बराबर सम्भावना औंल्याएको छ । त्यसकारण दुवै उम्मेदवारले कडा प्रतिस्पर्धा रहेका राज्यमा एक एक मत पनि आफ्नो पक्षमा पारेर जित निकाल्नुपर्ने आवश्यकता देखिएको छ । अरू उम्मेदवारसँगको प्रतिस्पर्धा अमेरिकी राष्ट्रपतिको दौडमा यसपटक हिलारी र ट्रम्पबाहेक अरू पनि उम्मेदवार मैदानमा रहेका छन् । ती उम्मेदवारले कुनै पनि राज्यमा अलि बढी भोट तान्ने अवस्था सिर्जना भएको अवस्थामा त्यहाँको परिणाम कता जान्छ भनेर भन्न कठिन पर्नेछ । सोही रणनीतिमा छन्, ग्रिन पार्टीका उम्मेदवार ६६ वर्षीय जिल स्टेन । उनी पेसाले डाक्टर हुन् । उनले डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका प्रत्यासी रहेका बर्नी स्यान्डर्स चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपछि लगातार हिलारीविरुद्ध अभियान सञ्चालन गरिरहेकी छन् । उनको पक्षमा अमेरिकाभर २ प्रतिशत मत देखिएको छ । यसैगरी, न्युमेक्सिकोका पूर्वगर्भनर ग्यारी जोनसन पनि राष्ट्रपतिको पदका प्रत्यासी रहेका छन् । उनले रिपब्लिकन पार्टीका ट्रम्पसँग असन्तुष्टहरूको भोट आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् । लिबर्टेरियन पार्टीका उम्मेदवार उनको पक्षमा गत सेप्टेम्बरसम्म ९ प्रतिशत भोट देखिएको थियो । अहिले त्यसमा केही तलमाथि हुनसक्ने अनुमान गरिएको छ । यस्तै, एक स्वतन्त्र उम्मेदवार इभान म्याक्मुलिन पनि चुनावी प्रतिस्पर्धामा छन् । पूर्वसीआईएका कर्मचारी उनले अक्टोबरसम्ममा आफ्नो पक्षमा राम्रो मत संकलन गरेको देखिएको थियो । अमेरिकामा उनको पक्षमा ६ प्रतिशत र युटा राज्यमा प्रतिस्पर्धामा देखिएका छन् । उनले आफ्नो राज्यमा राम्रो व्यवस्थापन गरी आफ्नो राज्यमा चुनाव जितेको खण्डमा सन् १९६८ पछि कुनै पनि राज्यमा चुनाव जित्ने पहिलो तेस्रो पार्टीको उम्मेदवार बन्नेछन् । यस्तो बन्नेछ नयाँ रेकर्ड

अमेरिकी राष्ट्रपतिमा सन् २०१७ देखि ट्रम्प या हिलारीमध्ये एकजना आसीन हुनेछन् । यसपटक हिलारीले चुनाव जितेको खण्डमा उनी पहिलो अमेरिकी महिला राष्ट्रपति हुनेछिन् भने ट्रम्प निर्वाचित भएको खण्डमा उनी ६० वर्षपछि गैरराजनीतिक पृष्ठभूमीका राष्ट्रपतिका रूपमा उदाउनेछन् । यसअघि, राजनीतिक अनुभव नभएका अमेरिकी राष्ट्रपति डेभिड आइजनआवर थिए । उनी दोस्रो विश्वयुद्धमा मित्रराष्ट्रको सेनाका सुप्रिम कमान्डर थिए । उनी १९५३ मा राष्ट्रपति बनेका थिए । यसअघि, १९२९ मा राष्ट्रपति बनेका हर्बट हुवर एक इन्जिनियर र मानवतावादी थिए । यस्तै, अहिलेको निर्वाचनले अमेरिकाको इतिहासमा दोस्रो वृद्ध राष्ट्रपति निर्वाचित गर्दै छ । सबैभन्दा बढी उमेरमा अर्थात् ७० वर्षको उमेरमा राष्ट्रपति बनेका रोनाल्ड रेगनभन्दा ट्रम्प केही कान्छा मात्रै हुनेछन् । हिलारी पनि ६९ पुगिसेकेकी छन् । अहिले दोस्रो सबैभन्दा बढी उमेरका अमेरिकी राष्ट्रपतिमा विलियम हेनरी ह्यारिसन छन् । सन् १८४१ मा राष्ट्रपति बनेका उनी बेलायती भूमिमा जन्मिएका अन्तिम अमेरिकी राष्ट्रपति हुन् । यस्तै, न्युयोर्कबाट ७१ वर्षीय अर्बपति राष्ट्रपति चयन हुन लागेको छ । सन् १९४४ मा न्युयोर्कका दुई प्रतिस्पर्धी थोमस ई डेभी र फ्रेंकसलन डी रुजवेल्टबीच प्रतिस्पर्धा भएको थियो । सिकागोमा जन्मिएकी हिलारी न्युयोर्कबाटै सिनेटर भएकी थिइन् । अन्त्यमा, लामो र झन्झटिलो प्रक्रिया पार गर्दै ४५औं अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रक्रिया नजिक आइपुगेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेढ वर्षअघिदेखि सुरु भएको प्रचार अभियान अबको केही घन्टापछि चार वर्षलाई समाप्त हुनेछ । त्यसभन्दा अघि जस्तोसुकै मूल्य चुकाएर पनि दुवै उम्मेदवार आफ्नो पक्षमा भोट तान्नका लागि व्यस्त नै रहनेछन् । यद्यपि, अमेरिकाजस्तो शक्तिशाली देशमा यसपटक पनि आफ्ना नीतिले आफूलाई बलियो साबित गर्नेभन्दा अर्कोलाई कमजोर तुल्याएर आफूलाई बलियो देखाउने प्रयत्न भयो । यो निर्वाचनका क्रममा संसारभरि नै चल्ने प्रक्रिया हो ।

राजनीतिक पृष्ठभूमि भए पनि विदेशमन्त्री हुदाँका इमेल काण्ड र आफ्ना पति बिल क्लिन्टन राष्ट्रपति हुँदा उनको विभिन्न महिलासँगको सम्बन्धलाई जोडेर हिलारीको प्रचार अभियानमा हिलो छ्याप्ने काम भयो भने व्यपारिक घरानाका ट्रम्पले महिलामाथि प्रयोग गरेका अश्लील शब्दसहितको भिडियो प्रकरण र उनको कडा अभिव्यक्तिले निर्वाचन प्रचारका क्रममा ठूलै तहल्का मच्चाउन सफल भयो । ट्रम्पले चुनावी प्रचार अभियानका क्रममा निर्वाचन परिणामलाई स्वीकार गर्ने प्रतिबद्धता जनाउन पनि सकेनन् । यी सबै घटनाक्रमले अमेरिकी लोकतान्त्रिक पद्धतिमाथि प्रश्नचिह्न उठायो । निर्वाचनको मत सर्वेक्षण विभिन्न समयमा विभिन्नखाले आइनै रहेका छन् । तर, यसले समग्र मतको प्रतिनिधित्व गरेको ठान्न सकिन्न । जे भए पनि आगामी मंगलबारको निर्वाचनले अमेरिकालाई नेतृत्व प्रदान गर्नका लागि छान्ने ४५औं राष्ट्रपति निर्वाचनका प्रचारका क्रममा आएका तिक्ततालाई बिर्सिएर अघि बढ्नु नै निर्विकल्प रहनेछ