बोलीचालीमा ग्यास्ट्रिक भनिने ‘ग्यास्ट्राइटिस’ रोगका कारण झण्डै ८० प्रतिशत नेपाली पीडित छन् भन्ने अनुमान गरिन्छ। ग्यास्ट्रिकलाई गाउँघरतिर वायु, गानु, गोला पनि भनिन्छ। मुख्य गरी हाम्रो खानपान र रहनसहनले नै ग्यास्ट्रिकलाई निम्तो दिने हो। के हो त ग्यास्ट्रिक? यसबारे जानीराख्नु स्वास्थ्यका लागि फाइदाजक छ।
ग्यास्ट्रिक हुने ४ मुख्य कारण
१. हेलिकोब्याक्टर पाइलोरी खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन्। साथै खाना खाँदा आमाशयभित्र हाइड्रोक्लोरिक एसिड पनि उत्पन्न हुने गर्छ। आमाशयभित्रै हेलिकोब्याक्टर पाइलोरी नामक किटाणु उत्पन्न हुन्छ। यिनै दुई पदार्थको उत्पादनमा सन्तुलन नमिल्दा ग्यास्ट्रिक हुने गर्छ। विश्वमा करिब ५० प्रतिशत जनसंख्या यो किटाणुबाट संक्रमित रहेको जनाइएको छ, यद्यपि धेरैलाई कुनै लक्षण देखिँदैन।
२. भिटामिन ‘बी १२’को कमी
शरीरले भिटामिन ‘बी १२’ सही आवश्यक मात्रामा लिन नसक्दा पनि ग्यास्ट्रिक उत्पन्न हुने गर्दछ। यस्तो अवस्था रक्तअल्पता, पेटको शल्यक्रिया आदि कारणबाट आउन सक्छ।
३. औषधी सेवन
केही रोग निदानका लागि सेवन गरिने औषधीले पनि ग्यास्ट्रिक उत्पन्न गर्छ। दुखाइ कम गर्ने, किमोथेरापीका औषधी, आदिले ग्यास्ट्रिक बढाउने गर्दछ।
४. अम्लीय खानपिन
अम्ल बढी भएका खानेकुराहरु, बढी चिल्लो, तारेको, झानेका खानेकुरा आदिको सेवनले पनि ग्यास्ट्रिक बढाउँछ। यो रोग खासगरी जीवनशैलीसँग सम्बन्धित छ। लामो समयसम्म भोकै बस्ने, खानाको टुंगो नहुने, आवश्यकभन्दा बढी खाने, अमिलोपिरो बढी खाने, पचाउन कठिन खानेकुरा खाने, कसरत नगर्ने, खानेबित्तिकै सुत्नेजस्ता कारणबाट ग्यास्ट्रिक बढ्छ। अति व्यस्तता र मानसिक विकारसँग पनि यो रोग सम्बन्धित छ। त्यसका साथै मदिरा, धूमपान, चिया–कफी, कार्बनिक पेय पदार्थ बढी खानाले पनि यो रोगलाई बढावा दिन्छ। पेट सम्बन्धी अन्य रोगका कारण पनि ग्यास्ट्रिक लाग्न सक्छ।
यस्ता छन् लक्षण
सामान्य अवस्थामा ग्यास्ट्रिकको असर पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने भए पनि रोग बढ्दै जादाँ पेटमा घाउ हुने र त्यसकै कारण रोगीको मृत्यु समेत हुने जोखिम रहन्छ। यो रोगका अन्य लक्षणमा पेट भारी हुने, रिँगटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने, डकार आउने, अपच हुने, तौल घट्ने आदि हुन्।
ग्यास्ट्रिकका कारण पहिले आमाशयको भित्तामा ससाना घाउ हुन्छन्, जसलाई निरोजन भन्ने गरिन्छ। घाउ बढ्दै जाँदा त्यही अल्सर हुन्छ। घाउमा इन्फेक्सन बढेपछि क्यान्सर हुने सम्भावना पनि हुन्छ।
कसरी गर्ने रोकथाम
भनिन्छ, स्वस्थ खानपान नै ग्यास्ट्रिक निदानको मुख्य उपाय हो। सुरुवाती अवस्थाको ग्यास्ट्रिकलाई खानपान र जीवनशैलीमा ध्यान दिए आफैँ कम गर्न सकिन्छ। यसका लागि हेलिकोब्याक्टर पाइलोरी किटाणुलाई मार्ने खाना खान सकिन्छ।
ब्रोकाउली, लसुन आदि सेवन गर्दा यो किटाणु मर्छ। त्यस्तै ‘प्रोबायोटिक्स’को सेवनले भिटामिन ‘बी १२’ सोस्न सहयोग गर्दछ। पेट पोलाइ, दुखाइ आदिलाई कम गर्ने अदुवा, स्याउ, ग्रिन टी जस्ता खानेकुराको सेवनले पनि ग्यास्ट्रिक कम गर्न सहयोग गर्छ।
यसबाहेक समयमा सुत्ने, उठ्ने, तौल नियन्त्रण गर्ने, चिल्लोपिरो कम खाने, पर्याप्त पानी पिउने, धेरैबेर भोको नबस्ने जस्ता उपायबाट ग्यास्ट्रिकको रोकथाम गर्न सकिन्छ।