साहित्य सिर्जना

‘तरङ्ग’ ग्रन्थ लोकार्पण

By canadakhabar

November 12, 2016

काठमाडौं । सामाजिक सञ्जाल तरङ्ग चौतारीको पहिलो प्रकाशन ‘तरङ्ग’ ग्रन्थको आज एक समारोहका बीच लोकार्पण गरियो । वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ग्रन्थ लोकार्पण गर्दै भूगोलमा जतिसुकै टाढा रहे पनि प्रविधिले हामीलाई नजिक ल्याएको बताउनु भयो । साहित्य र प्रविधिलाई जोडेर तरङ्ग चौतारीले एउटा नयाँ र सुन्दर काम गरेकामा बधाइ ज्ञापन गर्नुपर्छ, उहाँको कथन थियो ।

लोकार्पित ग्रन्थ बारे समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा. लक्ष्मणप्रसाद गौतमले यसमा समेटिएका साहित्यिक सिर्जनाले समसामयिक नेपाली सहित्यको प्रतिनिधित्व गर्ने बताउनु भयो । साहित्यकार उषा शेरचनले साहित्यलाई प्रविधिसँग जोडेर छोटो अवधिमा यति गहन ग्रन्थ प्रकाशित गर्ने तरङ्गले हामी सबैलाई तरङ्गित पारेको छ भन्नुभयो ।

कवि मञ्जुलले ग्रन्थमा प्रकाशित महाकवि देवकोटामा समर्पित कविता र बालकवि रेहानले भूकम्पसम्बन्धी आफ्नो कविता वाचन गर्नुभएको थियो ।

ग्रन्थका कार्यकारी सम्पादक प्राज्ञ नरनाथ लुइँटेलको अध्यक्षतामा सम्पन्न समारोहमा प्रकाशन संस्थाका तर्फबाट सुस्मिता नेपाल र तरङ्ग चौतारीका तर्फबाट कृष्ण उपाध्याय, रजनी ढकाल र करुण थापाले तरङ्ग चौतारी एवम् प्रकाशन प्रक्रियाका बारेमा प्रकाश पार्दै सिर्जना प्रदान गर्ने देश विदेशका सबै स्रष्टाहरूप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालनमा कवि गीता कार्की संलग्न हुनुहुन्थ्यो ।

देश विदेशमा रहेका १ सय ३९ स्रष्टाका विविध विधाका सिर्जना सङ्कलन गरिएको यस ग्रन्थलाई तरङ्ग चौतारीका लागि फेलाम नामक संस्थाले प्रकाशित गरेको हो । तरङ्ग प्रकाशनको लागि लोक सुब्बा (नर्वे) सल्लाहकार,  वासु शर्मा (वेलायत) संयोजक र  प्रज्ञा नरनाथ लुइँटेल नरनाथ लुइँटेल रहनुभएको थियो भने ऋषि बस्ताकोटी र  भानु पौड्यालले उत्तर अमेरिका संयोजक, सुस्मिता नेपाल, रजनी ढकाल र करुण थापाले  एसिया संयोजक, न्यौपाने ( वेलायत) ले बालकविता संयोजक, डा. कृष्ण उपाध्याय (वेलायत) ले आर्थिक संयोजक, विनोद  र तीर्थ कोइराला ( नेपाल ) ले प्रचारप्रसार संयोजकको रुपमा काम गर्नुभएको थियो ।