एजेन्सी ।
टेनेसी – संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यस्थित चाटानुगामा भएको बस दुर्घटनामा कम्तिमा ६ बालबालिकाको निधन भएको छ भने दुई दर्जन घाइते भएका छन् ।
५ देखि १० वर्षका स्कूले बालबालिका बोकेको बस सोमबार स्थानीय समयअनुसार साँझ ४ बजे दुर्घटना भएको थियो । दुर्घटनापछि सार्वजनिक भएको तस्विरमा एउटा रुखको बीचमा बस पल्टेर अड्किएको र बसको छत दुई टुक्रा भएको देखिएको छ ।
चाटानुगा प्रहरीका अनुसार बस तीव्र गतिमा भएको कारण दुर्घटना भएको हुन सक्ने बताएको छ । ‘बसको गति यस दुर्घटनाको मुख्य कारण हुन सक्ने भएकोले त्यसबारेमा अध्ययन भइरहेको छ,’ प्रहरी प्रमुख फ्रेड फ्लेचरले बताए ।
अनुन्धानकर्ताका अनुसार बसले पहिले पोलमा ठोक्किएर नियन्त्रण गुमाएर रुखमा ठोक्किन पुगेको बताएका छन् ।
दुर्घटनामा ड्राइभर भने सुरक्षित रहेको उनीसँग प्रहरीले सोधपुछ गरिरहेको छ । ५ जनाको घटनास्थलमा नै निधन भएको र एक जनाको उपचारको क्रममा निधन भएको बताइएको छ ।
चटागुना फायर डिपार्टमेन्टका अनुसार बसमा ३५ जना बालबालिका सवार थिए जसमध्ये २३ जनालाई अस्पताल लगिएको छ ।