देश

‘आलु खाउ ,पेडाको धाक लगाउ, नेपालीपन बचाउ’

By canadakhabar

March 13, 2017

मिति २०१७-०३-१

पुज्य पिताजी प्रणाम

आराम रही आराम कामना गर्दछु र खुसीको खबर सुनाउन आतुर छु पिताजी।

विदेशिएको कैयौ वर्ष हुदा पनि मैले नेपालीपन जस्ताको तस्तै जोगाउन सकेकोमा हर्षविभोर छु आज र त औपचारिकतामा समय नफाली सिधै बिषय प्रवेश गर्न खोज्दैछु।  ३ कक्षा पढ्दै राजनीति सुरु गरेको मेरो विगत तपाइलाई थाहा छदैछ , त्यो मैले यहाँ पनि निरन्तरता दिएको छु।  त्यो नेपालको गनाउने राजनीतिक सिनोको गन्धलाई मैले प्रवासमा पनि मन वचन  र कर्मले भ्याएजति फैलाएको छु। तपाइलाई यो कुरोले शरम लाग्न सक्ला तर मैले यसलाई ठुलो उपलब्धि मानेको छु पिताजी।  ऐले भर्खरै खुलेको नया पार्टीको यो देशमा नेपालीहरु माझ  दुर्गन्ध फैलाउने अवसर मैले पाएको छु आजै मात्र। आफै दङ्ग पर्छु पिताजी यो वर्ष मात्र ३ वटा पार्टी फेर्न भ्याएछु प्रवासमै बसेर ।

समयलाई पनि आफ्नो नेपालीपन कै वन्दि बनाएको छु पिताजी ऐलेसम्म। कुनै पनि कार्यक्रममा ढिला पुग्ने, ढिला सुरु गर्ने, सकेसम्म भाड्ने , केहि नलागे उपलब्धि विहिन  बनाउने मेरो प्रयास जारी छ।  तपाइ प्रकृतिको पुजारीलाई यो समयको लापर्बाह मन नपर्न सक्ला  तर म अभ्यस्त भैसके।  मैले नेपालमै शहर छिरेर सिकेको यो अमुल्य निधिको यहाँ पनि राम्रै सदुपयोग गरेको  छु पिताजी , गर्ब लाग्छ।

‘पर निन्दा पर चर्चा हाम्रो नेपाली मौलिकता’, यो प्रेरक भनाइलाई  प्रवासमा पनि जिवन्त राखेको छु पिताजी। अर्कोको राम्रो हुनलाग्यो भने खुट्टो काट्ने ,माथि जान लाग्यो भने खुट्टो तान्ने,   सधै मनमा नकारात्मक सोच मात्र राख्ने आदि मैले सिकेको सीपलाई दुरुस्त राखेको छु।  यहाँ हुने,  साना ठुला संस्थागत कार्यक्रममा, चुनावहरुमा यो सिपको राम्रै  अभ्यास गर्ने अवसर पाएको छु।  खुसि छु पिताजी यति टाढा प्रवासमा पनि आफ्नो सिप देखाउने अवसर  पाएको छु।

जातियता, धार्मिक, भौगोलिक, भाषिक आधारमा विभेद गर्ने मेरो नेपालीपनमा अझैँ चमक ल्याएको छु पिताजी ।  खासमा म कुनै पनि नेपालीलाई  नेपाली भन्दा पैले बाहुन, जनजाती, मधिसे, तामांग बोल्ने , पुर्बेली, पश्चिमे, हिन्दु, मुसलमान  के हो तेस्को आधारमा व्यहवार गर्छु।  कत्तिको मलाई सास नै गनाउछ र म तिनले राम्रै कामकुरो गरे पनि न्वारान देखिको बल निकालेर बिगार्न तिर लाग्छु।  हाम्रा महान क्रान्तिकारी नेताहरुले बर्षौ लगाएर, सयौ नरबलि चढाएर  रोपेको त्यो विभेदको गोढ्मेल गर्ने अवसरलाइ मैले प्रसाद सम्झेको छु पिताजी।  प्रवासमा बसेर पनि सके जति बिभाजन र विभेद ल्याउन  मैले खेलेको भूमिका इतिहासले मुल्यांकन गर्ला सायद । सदियौ देखि सबै संग मिलेर, दुख सुख बाँडेर बसेको तपाइलाई यो मन नपर्न सक्ला तर ऐले येसैको बजार राम्रो छ।  सुन्दछु उता त यसमा कमाइ पनि राम्रै छ रे।

“आलु खाउ , पेडाको धाक लगाउ, नेपालीपन बचाउ” भन्ने भनाइलाई शिरोधार्य गरेको छु पिताजी ।  फेसबुकमा एउटा अकाउन्ट खोल्नोस न तपाई पनि ! छोरोको बहादुरी देखेर तपाई दङ्ग पर्नु  हुनेछ । अग्लो घरको  छेउको  चिल्लो बाटोमा छाती फुलाएर उभिएको फोटो देखेरै मेरा कति साथीले विदेश जाने निर्णय गरेछन् । रेस्टुरेन्टमा खान गए पछि त प्रत्यक्ष प्रसारण हुन्छ,  गाडी किनेको त  स्थानीय नेपाली अनलाइन पत्रिका मै समाचार छपाए । समुन्द्रको छेउ, नदीको किनार, संग्रालयको भित्तो, जहाजको छेउ, रेलको बाटो , परिवारको उन्माद, छिमेकिको रंग आदि भ्याएजति देखाएको छु पिताजी।   मैले उपभोग कम र देखाउने बढी गर्ने गौरबशाली कर्मलाई निरन्तर दिएको छु  सकेजति।  कतिले मन पराएका छन् कतिले नहोलान तर धन्य भगवान मैले जो भाको नभाको देखाउने अवसर पाएको छु।

पुज्य पिताजी,  यो त मैले प्रवासमा पनि कसरि नेपालीपनलाई निरन्तरता दिएको छु त्यसको एक झलक मात्र हो।  बाँकि अर्को पत्रमा लेख्ने नै छु।

पुत्र , रविन थपलिया क्यानाडा

Save