साहित्य सिर्जना

रहरको असामयिक मृत्यू !

By canadakhabar

March 26, 2017

मुक्ति गौतम ।

बिबाह गर्ने उमेरमा अरुलाई झै मलाई पनि केटी हेर्ने रहर थियो । कुरा गर्ने, बिचार बुझ्ने या त्यहि निहुँमा केटीहरु हेर्ने रहर । सायद मजस्तै हाम्रो समाजका अरु युबकहरुमा पनि केटीहरु हेर्ने रहर हुँदो हो त्यसबेला । मैले चिनेका एकजना दाई अलि हामी सानै हुँदा हो केटी हेर्नेमा नामै कहलिएका थिए । “जति हेरेपनि मन पर्दैनन् यीनलाई त केटीहरु!” ठूला बडाहरु उनको पछिल्तिर यसरि कुरा गर्थे । तर दुर्भाग्य, मलाई त्यसरी बिहेको निम्ती केटी हेर्न जाने अवसर एक चोटी पनि जुरेन । एकचोटी बल्ल बल्ल जुट्न लागेको अवसर पनि त्यसै गयो । “धेरै नक्कली केटी रहिछे, हुँदैन त्यो त !” दाईले हेरेर आएपछि यसो भन्दा जुर्नै आँटेको अवसर पनि फुत्कियो । बामपन्थी धारको राजनिती गर्ने दाईलाई त्यो बेलाको “लिपस्टीक पाउडर वाला” केटी के मन पर्थ्यो ! पछुतो नै त होईन हेर्न नपाएकोमा तर त्यसरी केटी हेर्दा कस्तो अनुभव हुन्थ्यो होला भन्ने चाही अझै लागिरहन्छ ।

म दुर्गम गाउको स्कुलमा पढेको । हाम्रो क्लासमा कति बर्षसम्म त केटीहरु नै आएनन्, पछि ९,१० कक्षामा आउँनुभएको एकजना पनि उहाँ बिबाहित हुनुहुन्थ्यो । अलि अलि पढेलेखेको आफूलाई नपढेका केटीहरु मन नपर्ने र पढ्नेहरु त्यो पनि तल्लो क्लासमा निकै थोरै । कलेज पढ्दा, जागिर खाँदा र अरुबेला पनि केटी हरुको संगतको खासै अवसर मिलेन । त्यसैले पनि मन भित्र कतै केटीहरु हेर्ने अब्यक्त ईक्षा जागेको हुँदो हो कि त्यसबेला, त्यो त दैब जानून् ! फेरी हेरिसकेपछि मन नपरेको अवस्थामा नकार्दा अरुको अपमान हुन्छ कि भन्ने पनि त्यत्तिकै डर थियो मलाई । तर त्यो संकट नआएकोमा भने खुसी छु अहिले ।

रहर बिभिन्न थरिका हुन्छन् । आफूले बनाएका, समाजले मलजल गरेर हुर्काएका या परिस्थितीले थोपर्दै बोकाएका । देखेर, सुनेर, लागेर या आफै बनेका रहरहरु । राम्रा, नराम्रा, जायज, नजायज र अरु परिभाषा बाहिरका रहरहरु । निरन्तर चलिरहने, समयक्रममा हराउँने, फेरी फर्कने या कहिल्यै नफर्किने रहरहरु । स्वभाबिक, अस्वाभाबिक, डरलाग्दा या कोमल, नरम रहरहरु । रहर हुनु आफैमा जीवन्त हुनु हो । रहरले गती थप्छ, उत्साह र सार थप्छ जीवनमा । रूखको आकास छुने रहर, चराको हावामा तैरिने रहर, छालको जून छुँने या मान्छेको उड्ने रहर नभएको भए यो संसार सायद यती रहरलाग्दो हुदैनथ्यो कि ?

मेरो त्यो रहर कसरि बन्यो, किन पुरा भएन या त्यो अपुरो रहर भित्रको रहस्य के थियो – मैले कहिल्यै त्यतातिर सोचिन । सोच्नु पर्थ्यो या पर्दैनथ्यो – यो पनि अर्को बिषय होला । मैले केहि गुमाएँ या पाएँ- त्यो पनि थाहा छैन मलाई । कसैको बिचारमा सागरका अनगिन्ति छालहरु हुनसक्छन् रहरहरु- त्यसो हुँदा हरेक छालहरुलाई किनारा नमिल्न पनि सक्छ । तेसो त हरेक वस्तुको जीवन उसले पार गर्ने निर्दिष्ट दुरी पनि त हो । यो अर्थमा फेरी जिवन बाहिरको दुरी या जीवन खोज्नुको पनि अर्थ रहदैन । सहजरुपमा नियती स्विकार्नु नै बुध्दिमानी हुन्छ । तर एकाएक बाहिरिने या अपराधबोधले मर्ने वा मारिने रहरहरु के त ?

म जागिर खाने शिलशीलामा एकचोटी बारा जिल्लाको अलि दुर्गम स्थानमा गएको थिएँ । घना जंगल बीचको सानो सुन्दर बस्तीको सम्झना अझै ताजै छ मेरो दिमागमा । त्यो भन्दा त्यहाँ घटेको एउटा सानो घटना झन ताजा छ । मेरै उमेरका एक दुईजना साथि बनाएको थिएँ जो त्यहाँको स्थानिय अफिसमा काम गर्थे । हामी घाम तापेर चिया खाँदै थियौं अफिस बाहिर । त्यहाँ काम गर्ने एकजना महिला हुनुहुन्थ्यो अबिबाहित र भर्खरको । उहाँ सुन्दर पनि हुनुहुन्थ्यो र अफिसको सरसफाईको काम गर्नुहुन्थ्यो । हामी जिस्कदै थियौं । “ म संग बिहे गर्ने?” जिस्कने क्रममै मेरो मुखबाट यो निस्कियो । मेरो बिहे त भएको थिएन तर मेरो अहिलेको श्रीमति र म एक अर्कालाई मन पराउँथ्यौं, बिहे छिटै नै हुँदैथियो । “सरले काम गर्ने भनेर हेप्नु भा होला, मलाई पनि बिहे गर्ने त कोही जन्मेको होला नी” – म निरुत्तर भएँ उहाँको उत्तरको सामु । सरसफाईको काम गर्ने भनेर अलि हेपेर हो कि वा आफ्नो पुरुषजन्य दम्भले हो या आफ्नो बयान सुन्ने वा यस्तै केहि लागेर त्यो सोधेको हुनपर्छ मैले । कहिलेकहि हामी थाहा नै नपाएर कुनै आकांक्षाले परिचालित भइरहेका हुन्छौं, सायद त्यस्तै केहि भयो मलाई ।

मेरो पुरुषजन्य दम्भ गर्ल्याम गुर्लुम ढल्यो । उहाँको सरल र हाँसि हाँसि दिएको जवाफ मेरा अभिमानका पहाडहरु भत्काउँन प्रयाप्त थियो । मैले कामकै शिलशीलामा मेरो अहिलेको श्रीमतिलाई मन पराएपछि नै मर्न थालेका मेरा केटी हेर्ने बाँकि रहरहरुले त्यो जबाफसंगै आत्महत्या गरें । पहिलोपटक ठूलो रुपमा मेरा रहरहरुको आत्महत्याको साक्षि त्यहि बाराको सानो गाउँमा म आफै भएँ ।

सानैदेखि प्लेन देख्दा देख्दा पलाएको पाईलट बन्ने रहर हरायो अब । एक समय पाईलटभन्दा ठूलो कोहि छैन जस्तो लाग्थ्यो । जागिर खाने रहर, पैसा कमाउँने रहर, आफ्नो घर बनाउँने रहर या यस्तै थुप्रै रहरहरु कुनै पुरा भएर मरे भने कुनै अकालमा । रहरै रहरमा कहिले कहि हामी जीबनका रमाईला क्षणहरु संग रम्न नै बिर्सिएर रहरकै पछि दौडिरहेका हुन्छौं । भुँईबाट उँठ्ने रहर, दौडिने रहर, कुद्ने रहर र कहि पुग्ने रहरमै हामी कहिले कहि महत्वपुर्ण र सुन्दर क्षणहरु गुमाईरहेका हुन्छौं । समयक्रममै कतिपय रहरहरु आफै मर्दै जान्छन्, थाहा नै हुँदैन कैयन रहरहरुको असामयिक मृत्यूको ।

हरेकदिन हामी सानो या ठूलोरुपमा रहरहरुको मृत्यू देखिरहेका हुन्छौं । मृत्यू आफैमा भयानक र डरलाग्दो हुन्छ । रहरहरुको स्वभाबिक या अस्वाभाबिक मृत्यू , रहरहरुको आत्महत्या या रहरहरुको मृत्यू भ्रम – हामी निरन्तर भोगिरहन्छौं । नयाँ रहरहरुको लागि पुराना रहरहरु मर्नु पर्छ कि पर्दैन ? रहरहरुको आयू नै निश्चित पो गरिएको हुन्छ कि? कुनै रहरहरु अकालमै पो मर्छन् कि ? प्रश्नहरु जति पनि उठ्नसक्छन् रहरहरुको मृत्यूमा तर मृत रहरको मलामी जान भने अत्यन्त कष्टकर हुन्छ ।

फेब्रुअरी ०६, २०१७ टोरण्टो, क्यानडा