देश

के कसैको मृत्युमा खुसी सुहाउँछ ?

By canadakhabar

November 20, 2017

दिनेश लुइटेल –  AP

बाबुले छोरालाई दागबत्ती दिएको दृश्य कति हृदयविदारक होला ? दस वर्षे माओवादी सशस्त्र युद्धका अगुवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार छोरालाई दागबत्ती दिँदै थिए। प्रकाश दाहालको पार्थिव शरीर धुवाँ बनेर पशुपतिनाथ मन्दिरको गजुरलाई छुदै बादलमा विलय भयो।

सयौंको भिडमा प्रकाश धुवाँ बनेको साक्षी अर्थात् मलामी म पनि थिएँ। म जस्तै प्रकाशको निधनले उनको परिवारमा परेको पीडामा साथ दिन हजारौँ शुभचिन्तक आर्यघट पुगेका थिए। मलामको नियम नै हो, सबै मलामी घाटमा मलिन अनुहारमा हुन्छन्। तर, आइतबार आर्घघाटमा केही फरक दृश्य देखिए। ती दृश्यले मनमा केही प्रश्न उब्जिए। मलामी किन जाने ? ‘किच्च हाँस्न ?’ आफैँ जवाफ दिएँ, ‘यो हुनै सक्दैन ।’

अर्काको दुःखमा साथ दिनु संसारका मानिसको एउटै धर्म हो। सबैलाई थाहा छ, हामी जन्मिएकै मर्नका निम्ति हो। निधन कुनै पनि समसामयिक हुँदैन। प्रकाश दाहालको निधन आकस्मिक हो। प्रकाश पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’का पुत्र मात्र होइनन्। ज्यानको बाजी थापेर युद्धमा होमिएका नेपाली युवा मध्ये एक हुन्। फरक एउटा थियो। उनका पिता प्रचण्ड सबै लडाकुका सुप्रिम कमाण्डर थिए। त्यत्ति मात्र होइन, प्रचण्ड आम नेपाली युवा समान छोरालाई युद्ध लडाउने एक कमाण्डर थिए। आम मानिसझैं उनका पनि सबलता र कमजोरी दुवै थिए। त्यसको बारेमा छुट्टै समीक्षा आवश्यक पर्ला। तर उसको नश्वर चोला उठ्दै गर्दा अरुले उसप्रति देखाउने भावना कस्तो हुँदोरहेछ, मेरा लागि यो प्रश्न निकै महत्वपूर्ण बन्न गयो ।

युद्ध सकिँदा प्रकाश त सहीसलामत थिए, तर १० वर्षमा राज्य र विद्रोही पक्षका हजारौंले ज्यान गुमाए। मृत्यु जस्तोसुकै किसिमको भए पनि दुःखको क्षण हो। मृत्युमा शत्रु पनि दुःखी हुन्छ। भनिन्छ नि, ‘शत्रुको साथ जीवनमा होइन मृत्युमा मात्र पाइन्छ ।’ तर, त्यो शत्रु मलामी जाँदा मलिन अनुहारमै हुन्छ। मनमा जेसुकै भए पनि उसको अनुहार झुकेकै हुन्छ।

तर, आइतबार आर्घघाटमा प्रकाशको मलामी बनेका केही व्यक्ति कुनै कन्सर्टमा सहभागी भए झै हल्लाखल्ला गर्दै थिए। हल्लाखल्ला मात्र होइन हुटिङमै थिए। किन ? यसको उत्तर म सँग छैन। के प्रकाशको निधनमा खुशीयाली मनाउन केही व्यक्ति आर्यघाट पुगे ? के मृत्युमा खुशी पनि सुहाउँछ ? आर्यघाटमा रहदा र त्यहाँबाट कार्यालय आइपुग्दासम्म यस्तै यस्तै प्रश्नले पिरोलिरहयो। यसको जवाफ माग्ने कोही भेटिन। सोध्न पनि कसैलाई सोधिन। सँगै आर्यघाट पुगेका सहकर्मी रवि (रविराज बराल)लाई भने, ‘मलामीले पनि होहल्ला गर्दै हुटिङ गर्छन ?’ जवाफ छोटो आयो, ‘त्यस्ता मानिसको कुरै नगर्नुहोस्, तिनमा मानवीय भावना नै देखिएन ।’

हो मानिसका दुई प्रवृत्ति हुन्छन्। केही मानिस ‘नियती’ अनुसार चल्न बाध्य हुन्छन्। केही मानिस ‘नियत’ अनुसार दौडिन्छन्। प्रकाशको आकस्मिक निधन नियती हो। उनको मलामी गएर रमाइलो गर्नु केही मानिसको नियत हुन सक्छ। अल बिदा प्रकाश ।