‘काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो । उनको कसैसँग प्रेम सम्बन्ध थियो । घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन । दबाब बढ्दै गएपछि भने आमालाई मात्र भनिन् ।
आमाबाट त्यो कुरा बुवासम्म पुग्यो । उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने । धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन् । आफ्नो प्रेमीलाई सम्झाउने हिम्मत भने गरिनन् ।
प्रेमी उनका छिमेकी थिए, विवाहको कुरा थाहा पाइहाले । प्रेमीकालाई सम्पर्क गर्ने प्रयास गरे, कसैगरी सकेनन् । युवकमा बदलाको भावना जाग्यो । प्रेमीकाको बदनाम गर्ने मनसाय पाले, फेसबुकको सहारा लिएर । प्रेमिकाको फेसबुक पासवर्ड उनलाई थाहा थियो । उनले पासवर्ड परिवर्तन गरिदिए र आफूले मात्र चलाउन मिल्ने बनाए ।
प्रेमिकाको फेसबुकमा उनले धमाधम उनीहरू दुई जनाका गोप्य तस्वीर हाल्न थाले । तस्वीरमा अनेकथरि लेखेर प्रेमिकाको चरित्र हत्या गर्न थाले । उनीहरुका गोप्य तस्वीर सामाजिक सञ्जालमा फैलियो ।
प्रेममा विश्वास गरेर आफ्नो पासवर्ड प्रेमीलाई दिएकी ती युवतीले आफूहरूको गोप्य तस्वीर फेसबुक मार्फत सार्वजनिक हुन्छन् भन्ने कल्पना समेत गरेकी थिइनन् । प्रेमीलाई विश्वास गरी पासवर्ड दिनु गल्ती सावित भयो ।’
यतिबेला फेसबुक, ट्वीटर, म्यासेन्जर, भाइबर, इमो, इमेल ह्याक लगायतबाट धम्की दिने, गाली गर्ने, अश्लील र नभएका तस्वीर जोडेर चरित्र हत्या गर्ने जस्ता आपराधिक घटना बढिरहेका छन् ।
साइबर अपराध सम्बन्धी मामिला हेर्दै आएको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार इन्टरनेट दुरुपयोगका घटनाबाट युवतीहरू बढी पीडित हुने गरेका छन् ।
महाशाखाले गत असोजमा फेसबुक तथा इमेल ह्याक गरी ठगी गर्ने कार्यमा संलग्न दुई जना नाइजेरियन र दुई जना नेपाली नागरिक गरी चार जना पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
महाशाखाका अनुसार ती नाइजेरियन नागरिकले फेसबुक र इमेल मार्फत नेपाली सेनाका जवानलाई अमेरिकामा सुरक्षा गार्डमा भर्ती गराइदिन्छौं भन्दै लाखौं ठगी गरेका थिए । यसैगरी नेपालकै ट्राभल एजेन्सीका एक व्यक्तिको इमेल ह्याक गरेर धेरै पर्यटकबाट लाखौं पैसा स्नेहा नाम गरेकी नेपाली नागरिकको खातामा हाल्न लगाएका थिए ।
महाशाखाको तथ्यांकअनुसार यस वर्षको साउनमा १५४ र भदौमा १०४ वटा साइबर अपराधका मुद्दा दर्ता भएका थिए । असोजमा ७८ वटा उजुरी परेका थिए । जसमा ५४ जना महिला र २४ जना पुरुष पीडित छन । उजुरी परेका घटनामा सबभन्दा बढी फेसबुकसँग सम्बन्धीत छन । चरित्र हत्या गर्ने, अश्लील तस्वीर राख्ने, धम्की दिने र ठगी गर्ने जस्ता ६७ वटा फेसबुक सम्बन्धी उजुरी छन् ।
देशभरबाट अपराध महाशाखाले मात्र साइबर अपराध मुद्दा हेर्नुपर्दा महानगर बाहिरका पीडित उद्दारमा कठिनाइ भएको प्रवक्ता उप्रेती बताउँछन् । ‘देश संघीय प्रदेशमा गइसक्यो । अब साइबर अपराध जस्तो संवेदनशील विषयका मुद्दा स्थानीय स्तरमा पनि हेर्न र कारवाही गर्न मिल्ने बनाइनुपर्छ,’ उनले भने ।
नेपालमा फेसबुक, भाइबर जस्ता कम्पनीको स्टेशन नभएकाले पनि साइबर अपराध अनुसन्धान गर्न कठिनाइ भएको डिआइजी मनोज न्यौपाने बताउँछन् । ‘इन्टरनेटको सर्भर अरुकै हातमा छ, हामीसँग केही छैन,’ डिआइजी न्यौपानेले भने, ‘यसैकारण सुरक्षा र गोपनियतामा हामी चुकिरहेका छौं । यसले अपराधीलाई सजिलो र पीडितको उद्दारमा कठिनाइ भएको छ ।’
नेपालमा साइबर अपराध नियमन गर्न ‘विद्युतीय कारोबार ऐन २०६३’ बनेको छ । ऐनको धारा ४७ मा कम्प्युटर इन्टरनेट लगायत विद्युतीय सञ्चार माध्यममा नैतिकता, शिष्टाचारविरुद्ध सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन गरे एक वर्षदेखि ५ वर्षसम्म जेल सजाय र १ लाख रुपैयाँ जरिवानाको व्यवस्था छ ।
उता, नेपालको संविधान २०७२ को धारा १७ मा अभिव्यक्ति स्वतन्त्रता उल्लेख छ । यसमा इन्टरनेट प्रयोग अधिकारअनुसार कुनै पनि नागरिकले कुनै माध्यमबाट आफ्नो विचार, धारणा र अभिव्यक्ति दिन पाउने उल्लेख गरिएको छ । यही विचार अभिव्यक्ति अधिकारमाथि टेकेर अरूको मान, मर्यादामाथि आघात पुर्याउने, अश्लील भिडियो तथा तस्वीर बनाउने र पोस्ट गर्ने जस्ता समस्या फैलिँदै छन ।