अभावको अक्करे भीरमा परेकाहरुको विकल्प नै के हुन्छ र! हुनु भन्दा नहुनुको पिडा बाँच्ने र भोग्नेहरुलाई मात्र थाहा हुन्छ । पहिलो विश्वयुद्ध सुरु भएकै वर्ष ओखलढुंगाको कुनै गाउँमा जन्मिए देउराम मुखिया । लाखौं लाख उनकै पनाति पुस्ता गरिवीलाई डाँडा कटाउन देश छोडन बाध्य छन । सानो तिनो रोजगारी अनि थोरै पैसाको लागि विदेशिएका देउराम मुखियाको नाती पुस्ता दैनिक सात-आठ वटा बाक्समा लास बनेर फर्किन्छन ।
अन्ठानब्वे वर्ष अघि जन्मिएर परमधाम भैसकेका देउराम मुखिया र उनको पनाति पुस्तामा तात्विक अन्तर छैन । केहि कुरा मात्र बेग्लै हो । देउराम मुखियाको पुस्ता सेना बन्थ्यो र अर्कै देशको लागि लडथ्यो । उनको पनाति पुस्ता खाडी मुलुक र मलेशियाको विकासको लागि आ-आफ्नो ज्यान र जवानी सिध्याउन बाध्य छ । त्यो अर्कै कुरा हो । देउराम मुखियाले आफ्ने थात बास छोडदा देशमा निरंकुश जहाँनिया राणा शासन थियो । देउरामको लाखौं लाख पनाति पुस्ता कामका लागि विदेशिंदा वर्तमान नेपालमा जनताद्वारा जनताको लागि जनताको शासन भनिने गणतन्त्र छ । त्यो गणतन्त्र जनताको लागि हो कि नेता र बाठा-टाठाको लागि हो भन्ने बहसकै विषय हो ।
देउराम काम खोज्दै भारत झरे । भारतीय सेनामा भर्ना भए । दोश्रो विश्वयुद्धमा परचक्री देशको लागि लडे । मन कुमारी मुखियासंग भारतको उत्तर पूर्वी राज्यमा अवस्थित सालुगढामा घरजम गरे । ८४ वर्षीय गुमनाम जिन्दगी बाँचे । चौध वर्ष अघि यस संसारबाट विदा भए ।
बाउको सैनिक जिवन देखेका पुर्खा राम मुखियाले बाउको बाटो पछ्याएनन् । देउराम मुखियाले छोरो पुर्खौली थलो फर्केला भनेर छोराको नाम समेत पुर्खाराम मुखिया राखे । पुर्खाराम नेपाल त फर्किएनन् तर भारतीय सरकारी जागीर खाए । मन माया मुखियासंग बिहे गरे । अहिले निवृतीभरणमा बाँचिरहेका छन । तर सालुगढामा जन्मिएको मुखिया परिवारकै छोरी मोतीलाई आफ्नो बुवाको जस्तो जीन्दगी बाँच्न मन लागेन ।
पढाईमा मध्यम मोती मुखियाले नौ कक्षा पछिका कक्षाहरु नेपालको काकडभिट्टामा फुपुको घरमा बसेर सिद्धयाईन । मोतीको ठूलीआमाले आफ्नो धेरै नातागोताले भारतीय भूमीमा जिवन विताएको मन पराएकी थिईनन् । एसएसएलसी सकेर काठमाडौं पुगेकी बहिनीकी छोरीले भारतमै बिहे गर्लीन र उतै हराउलीन भन्ने पिर थियो मोतीको ठूली आमालाई । सानै उमेरमा रामेछापका अशोक सुनुवारसंग ठूलो आमाको पहलमा विहेवारी भयो ।
नामले मात्र होईन कामले पनि मोती बन्ने उत्कट चाहना राख्ने मोती मुखिया केअर गिभरको रुपमा बाह्र वर्ष अघि ईजरायल पुगीन । केअर गिभरको काम गर्दा गर्दै मोती मुखियालाई पश्चिमा संसार जान्ने, बुझ्ने र त्यहाँ केही गर्ने हुटहुटी जाग्यो । क्यानडाको एडमन्टन सहरमा काम गर्नेगरी प्रवेशाज्ञाको लागि आवेदन हालीन । त्यसका लागि लाग्ने झण्डै दश लाख रुपियाँको जोहो केअर गिभरको आम्दानीबाटै गरिन ।
ठिक ठाक अंग्रेजी भाषा जानेकी मोती पूर्वी संसारबाट ईजरायल पुगीन । त्यसको तिन वर्ष पछि गोलार्धको उत्तरी ध्रुव पुग्न पखेटा हालीन । नभन्दै नौ वर्ष अघि तेलअभिभबाट एडमन्टन आईपुगीन । कामदार प्रवेशाज्ञामा क्यानडा टेकेकी मोतीले एडमन्टन सहरको मुटु जसपर एभ्न्यूको गाबना रेष्टुरान्टमा वेट्रेसको रुपमा डेढ वर्ष काम गरीन । हावामा कावा खाने र संसारमै पखेटा फिजाउन चाहने मोतीलाई अन्तै काम गर्न मन लाग्यो ।
त्यसपछि रिकीज अल डे ग्रील जस्तो नामुद रेष्टुरान्टमा काम गर्न थालिन । वेट्रेसकोरुपमा छिरेकी मोती गर्दै भन्दै लाँदा सुपरभाईजर भइन । झण्डै छ वर्ष लगातार काम गरेपछि मोती मुखियामा आफ्नै लगानीमा रेष्टुरान्ट चलाउने तिव्र ईच्छा पैदा भयो । एडमन्टन किङ्ग्स वेमा रहेको मोती मुखीयाको रेष्टुरान्ट
अनुभव पनि कहाँ कम थियो र! घडीको पल र पलाको सुई झैं दैनिक सैयौं ग्राहकलाई सेवा गर्नु चानचुने कुरा थिएन । घन्टौं घन्टा काम गर्दा हुने अशिम थकानलाई बेवास्ता गर्नु सजिलो हुँदै होईन । तर अशिम थकानलाई पनि बालै नदिन अभ्यस्त भैसकेकि थिइन मोती । सैयौं ग्राहकले उत्कृष्ट सेवा गरेबापत दिएको टिप्स र पारिश्रमीक जोडदा मासीक चार-पाँच हजार डलर कमाउन थालिन ।
यसविचमा के चाहीँ गरिनन मोतीले ? आफूलाई स्थाई प्रवेशाज्ञा लिईन । चार वर्ष अघि छोरा र श्रीमान अशोक सुनुवारको लागि प्रेवेशाज्ञा लिईन । श्रीमान अहिले भान्छाको प्रमुख व्यवस्थापक छन । छोरो लेखा प्रणाली पढदैछन । पारिवारीक मिलनसंगै पाँच लाख डलर हालेर २ वटा कार अटाउने अट्याच गराज भएको छुट्टै घर एडमन्टन सहरको हडसनमा किनीन ।
कडा श्रम, अविच्छिन्न मेहनत, प्रगति र उन्नतिमा रमाउन अभ्यस्त मोतीले आफूले लामो समय काम गरेको किंग्स वेको रिक्की डे ग्रिल रेष्टुरान्ट अर्को नेपालीसंग मिलेर ६ महिना अघि किनीन । ५ लाख ५० हजार डलर संयुक्त लगानी गरिन । त्यस मध्ये ५० हजार डलर चालु पूँजीको रुपमा प्रयोग गरिन ।
सप्ताहन्तमा ३ सय देखि ३ सय ५० जना आउने मोतीको रेष्टुरान्टमा अरु दिन दैनिक २ सय मानिस आउँछन । यसरी हेर्दा हप्तामा औसत १ हजार ६ सय ग्राहकलाई सेवा दिन्छीन मोती ।
‘आफ्नो काममा सँधै खुशी भएँ । रेष्टुरान्ट चलाउने लामो अनुभव भयो । आफ्नै ब्यापार गर्ने ईच्छा थियो । लगानी गरियो । चलिरहेको छ । धेरै मुनाफा भएको छैन । दैनिक खर्च धानेर अलि अलि बचत हुन्छ ।’, कुरा गर्न सिपालु मोतीले भनिन ।
सपनाको उडान भर्ने मोती मुखिया अन्तराष्ट्रिय संजाल भएको फ्रेन्चाईज व्यापारबाट अली अली खुशी र अत्यन्त ब्यस्त मोति मुखिया भन्छिन, ‘यो बाहेक आफ्नो छुट्टै रेष्टुरान्ट खोल्ने तयारीमा छु । भने जस्तो ठाउँ र क्षेत्रको खोजीमा छु । मैले सोचेको र चाहे जस्तो रेष्टुरान्ट जमेर चल्यो भने त्यसकै रेष्टुरान्ट संजाल बनाएर सहरभरी फैलाउँछु ।’ मेहनती मोती अशिम उर्जासहीत आफ्नो सपनाको संसारमा डुब्छिन, ‘अझ बढी चल्यो भने क्यानडाभरी रेष्टुरान्टको संजाल चलाउने छु ।’ सून्यबाट सुरु गरेकी मोतीले तिब्र गतिमा आफ्नो उद्यमशिलता अगाडी बढाउँदै छिन ।
५ हजार भन्दा बढी नेपाली एडमन्टनमा बसोबास गर्छन । त्यसमध्ये उद्यमशिलता रुचाउने नेपालीको संख्या सुन्य बराबर छ । बहुसंख्यक नेपाली ईन्जिनियर, नर्स, शिशु स्याहारकर्ता, शिक्षण सहयोगी, चौकिदार, सवारी चालक, निर्माण मजदुर र अपागं सहयोगकर्मीको नियमीत काममा अल्झीरहेका छन । झण्डै ७५ प्रतिशत नेपाली महिलाहरु शिशु स्याहार केन्द्रमा काम गर्छन । सबै नेपाली महिलाले एक दिन काम गर्दिन भनेर भने देखि शिशु स्याहार केन्द्रहरु वैकल्पिक जनशक्ति नभएसम्मको लागि ठप्प हुन्छन । तर यति धेरै नेपाली महिला शिशु स्याहार केन्द्रमा काम गर्ने भएपनि एकजनाले आफ्नो लगानीमा शिशु स्यहार केन्द्र खोलेका छैनन्। फाट्ट फुट्ट रेष्टुरान्ट, किराना पसल र सफाई कम्पनीमा लगानी गरेका नेपालीहरु माझ मोती मुखिया एउटा सफल दृष्टान्त बनेकी छन । उनको यो व्यवसायीक सफलता उद्यमशीलता रुचाउने मानिसहरुको लागि एउटा प्रेरणा हो । भनिन्छ, ‘जहाँ दु:ख र चुनौती छैन, त्यहाँ उपलव्धी र सफलता पनि छैन ।’
नगन्य संख्यामा नेपाली महिलाले नारी सौन्दर्य केन्द्रमा लगानी गरेको सुनिन्छ तर सफलता हात लागीसकेको छैन । यहाँका नेपालीहरुमा उद्यमशीलता प्रतिको अरुची हुनुमा अनेकौं कारणले काम गरेको हुनुपर्छ । चुनौती सामना गर्न डराउनु, अनेकौं नीति-नियम, कानुन, आचार संहिता बुझ्न झन्झट मान्नु, देश र समाज सुहाउँदो हुनेगरी अंग्रेजी भाषा माथि सघन पकड नहुनु, दुख: गरेर बल्ल बल्ल जुटाएको पैसा लगानी गर्दा डुब्यो भने के गर्नु भन्ने जोखिम मोल्न नचाहनु, अधिकांश नेपाली परिवारको केटा केटी हुर्किसकेको नहुन, पाश्चात्य समाजमा आएर पनि नेपाली पुरुष प्रधान प्रवृती जस्ताको तस्तै रहनु र यहाँको विषम मौसमले गर्दा नेपालीलाई उद्यमशीलता प्रति अरुचि पैदा गरेको हुनसक्छ ।
सफलताको सुत्र के हुन? ३९ वर्षीय मोती भन्छिन,’कडा मेहनत, मिठो बोलि वचन, ईमान्दारीता, काम अनुसारको फूर्तिलो शरिर, अत्यन्तै व्यस्ततामा रमाउने बानी र ग्राहकसंग कुरा गर्न रमाउने, मित्रवत र सहयोगी भावनाले म सफल भएको हुँ ।’
उद्देश्यहरुको सगरमाथा प्रत्येक मानिस पिछे आ-आफ्नै हुन्छन । आफैंले बनाएको सगरमाथाको शिखरमा चुम्ने सोचाईमा छिन मोती मुखिया । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भने झैं अनवरत अथकनिय यात्रा तय गर्दैछिन मोती ।
आत्म बिश्वाशी मोती मुखिया
‘गहिराईमा डुब्दै नडुब डुबिसकेका छौ भने मोती नटिपी नफर्क मोती नटिपी नफर्क ‘ गीतकार निर शाहको ति दार्शनिक पंक्ति मानौं मोती मुखियाकै उद्यमशिलताका लागि लेखिएका हुन ।***
(प्रो.प्रज्वल चापागाईको ब्लगबाट)