अमित अधिकारी
आयो टप्प टिप्यो मिती पुग्यो टारेर टर्दैन त्यो ……सायद यो भनाईको रचना मृत्युको कहालीलाग्दो दृश्य कल्पना गरेर त्यसलाई थामथुम गर्न गरिएको थियो होला । हुन त आफन्तलाई त यो भनाईले के असर गर्ला र ? जसले आफ्नो सन्तान, आफ्नो काख अनि आफ्नो आड, भरोसा गुमायो उसले यो भनाई पढेर मनन त गर्ला तर विपतको वेला आफ्नो संसार कापेको बेला के उसले यो भनाईले मन बुझाँउला ? यो पक्तिकारलाई त कत्तिपनि विश्वास छैन ।
मृत्यु ध्रुवसत्य हो अझ भनौ अन्तिम सत्य तर बाचुन्जेल आफन्तवियोगको पिडा कहिल्यै भोग्न नपरोस् भन्ने सामान्य कामना सबैले गर्छन, हरेक मठमन्दिर हरेक पर्वको पुजा अनि भाकलमा आफ्नाको दिर्घायुको कामना गरिन्छ । आशिषमै भनिन्छ चिन्जिवी आयु होस् । तिजमा पत्नीले पतिको दिर्घायुको कामना गर्छिन, तिहारमा दिदी भाईले दाजुबहिनीको, दशैमा ठूलाले सानाको, हरेक पर्वमा आफ्नाको लागी आयू मागेरै सकाइन्छ । हुन त दिन मिल्ने कुरा भइदिएको भए, प्राप्त गर्न सकिने कुरा भइदिएको भए दिर्घायू थूप्रैले किन्थे होलान् तर कहाँ त्यस्तो हुन्थ्यो र संसारका कहलिएका तानशाह हुन् वा समाजसेवी, विश्वकै धनी हुन् वा शक्तिशाली अन्तिम गन्तव्य सबैको एउटै रहेको छ, मृत्यु । हो कसैको ढिलो हुन्छ कसैको चाडो, तर टारेर टार्न अनि फेरेर फेर्न नसकिने एक मात्रै सत्य हो मृत्यु ।
आफन्तलाई अल्पायूको निधन अति पिडादायी हुन्छ, तर घाटको नजिक बसेर हेर्नुहोस् के अल्पआयू के पूर्णआयू आफन्त भूईमा लडेर रोइरहेका हुन्छन्, चिच्च्याएर विलौना गर्छन्, यसको अर्थ व्याख्या फरक भएपनि आफन्तसंगको साथ टुगिंदाको खल्लोपनले पिडाले सबैको मन अवश्य भक्कानिन्छ, आफ्नालाई विदा गर्दैगर्दा विगतका याद र भविष्यको शून्यताले मनमा आधीबेहरी ल्याउँछ, जसलाई सामना गर्न जति कठोर मन भएपनि हम्मेहम्मे नै पर्छ ।
कल्पना गर्नुहोस् तपाईको आफ्नो कोही बिहान घरबाट निस्कियो, अंगालो हाल्दै हास्दै गयो तर केही समयपछि ऊ निर्जिव भएर सुतेको छ, बोलाउँदा बोल्दैन, हलचल गर्दैन र अब ऊ कहिल्यै फर्कने छैन, त्यो समय तपाईलाई संसारको ठूलोभन्दा ठूलो सफलता अनि खुसी पनि अर्थ राख्ने छैन किनभने तपाईले कसैलाई गुमाउनुभयो जसको भौतिक उपस्थिती कुनै हालतमा अनि कुनै शर्तमा सम्भव छैन, कल्पना गर्नुहोस्, मुटु चिसो पक्कै भयो होला, हो यो आज अहिल्यै हुदैन र नहोस् पनि तर एक न एकदिन यो अवस्थाको सामना अवस्य नै गर्नुपर्ने छ, यसबाट गुजर्नुनै पर्नेछ ।
यो भूमिका अनि यो मृत्युको कल्पना कुनै पनि मानिसलाई जाति लाग्दैन, कतिलाई यो पढ्दासम्म नै मुटुमा गाठो परिसकेको होला, वा भनौ म अगाडीको केही पनि पढ्दिन भन्ने पनि होला तर चर्चा यस्तै विषयको हुदैं छ जसले बिहान हासीखुसी आफन्त विदा गरेर त पढाए तर केही घन्टा नबित्दै सदाको लागी गुमाउन पुगे । अब सोच्नुहोला, मृत्यु सत्य हो भन्ने उदाहरण माथि दिएर मृत्युकै लागी पंक्तिकार विलौना गर्दै छ । तर मृत्यु पिडाभन्दा पनि ठूलो पिडा बोकेर आएपछि त्यसको चर्चा नगरी बस्न सकिदैन, त्यो पनि अर्काको देशमा, अमेरिकामा ।
घटना हो यही २० तारिख राति ११ः५५ को, टेक्सासको गारल्याण्डमा रहेको एक ग्यास स्टेशनमा काम गर्दा गर्दै मनिष पान्डेको गोली प्रहारबाट हत्या भयो । बिहान काममा आएका ३५ वर्षिया पान्डे स्टोर बन्द गर्ने तरखरमा थिए । १२ बजे बन्द हुने स्टोर अन्दाजी ११ः५५ बज्दा नबज्दै पान्डेले सदाका लागि यस धर्तीबाट बिदा लिए । पान्डेले पाँच महिने गर्भवती पत्निलाई छाडेर विदा भए । विधिको विधान, चलिआएको चलन, मर्न नै जन्मिए पछि कोही ढिलो कोही चाडो, एक गितको यो पंक्ति सत्य हो तर बावु बन्न लागेका पान्डे आफू त गए नै आफ्नो पछाडी गर्भमै रहेको एक बालक र पत्नी छाडेरै गए जसले आफ्नो पूरा जीवन बुवाविना बिताउनु पर्ने छ । प्रहरीले सिसिटिभी भिडियोमा हेरेर बताएको अनुसार, पैसा लुट्न आएक दुई अस्वेत नागरिक र पान्डेबिच ठेलमठेलको अवस्था आएको थियो जसले गर्दा बन्दुक बोकेका ती दुई व्यक्तिले पान्डेमाथि गोली हाने जसको घाँउ अहिले उनको पत्नी र उनका परिवारलाई दुख्दैछ । गोली पान्डेलाई लाग्यो, एकछिन पिडा र अनि निधन तर दिर्घकालिन चोटले उनको परिवारले बाँकी जिवन विताउनेछन्, एक अवोध बालकले आफू गर्भमै हुँदाको घटना सुनेर केवल आँशू मात्र झार्न सक्नेछ एकदिन ।
सन् २ हजार ६ अप्रिलमा प्रकाश कोइरालाको पनि यस्तै प्रकारले गोली हानी हत्या गरिएको थियो । वियर स्टोरमा काम गर्दै गर्दा कोइरालालाई गोली हानी हत्या गरिएको थियो । भने सन् २ हजार ८ सेप्टेम्बरमा २० वर्षिया आशिष भट्टराई अर्का एक अस्वेत नागरिकको गोलीको सिकार बने, ह्युस्टनमा ग्यास स्टेसनमा काम गर्दै गर्दा १७ वर्षिया रेमण्ड विट्चरको गोली लागी ज्यान गुमाउन पुगे । सिसिटिभी भिडियोमा अपराधी रेमण्डले स्टोरमा पस्नासाथ गोली प्रहार गरेको देखिन्छ, कुनै विवाद वा कुनै शव्द नै नसाटी एकाएक हानिएको गोली आशिषले भेउ पाउँदा नपाउँदै उनको प्राण लिइसकेको थियो । हत्याराले त्यस समय करिव ५ हजार डलर लुटेर लगेको विवरण सावर्जनिक भएको थियो । त्यस्तै सन् २ हजार १५ मा टेक्सासकै डेन्टनमा समिरा सिवाकोटीको गोली प्रहारबाट हत्या भएको थियो । हत्याको समयमा सिवाकोटीका दुई छोरीहरु केवल तीन वर्ष र तीन महिनका मात्र थिए ।घटना घटेको एक वर्ष पुग्दा नपुग्दै पत्नीपिडा सहन नसकेर सिवाकोटीका पति नवराजले हाइवेको नजिक आत्महत्या गरे । जसले गर्दा उनका दुई छोरीहरु पूर्ण रुपमा अभिभावक विहिन बन्न पुगे । पंक्तिकारको आशय उहाँका आफन्तले ती दुई बच्चाको ख्याल गर्नु भएको छैन भन्ने होइन तर अवस्य पनि जन्म दिने आमाबुवा भनेका आमाबुवा नै हुन् पिटे पनि आमै जााति पोले पनि घामै जाति त्यसै भनिएको होइन ।
सन् २ हजार ११ मा क्यालिफोर्नियमा रोशन भण्डारी सन् २ हजार १३ मा न्यू जर्सीमा बाल कृष्ण कार्की, सन् २ हजार ९ मा ४५ वषिर्या जस बहादुर राईको टेक्सास फोटवोर्थमा काममै हत्या गरियो । यसरी हरेक वर्ष र समयको अन्तरालमा काम गर्ने स्थानमा हालसम्म दर्जर्नौ नेपाली लगायत अन्यको हत्या भइसकेको छ । अधिकांशमा घटनामा संलग्न अभियुक्तको मुख्य उद्देश्य पैसा लुट्नकै लागि रहेको देखिन्छ यद्यपि समिरा सिवाकोटीको हत्याराले भने गोली प्रहार गरी केही पनि नलुटी लगेकाले स्पष्ट कारण भने कतिपय अवस्थामा खुल्न सकिदैन ।
अमेरिकामा पढाई र काम वा काम वा पढाई जे गर्दै गरेपनि थूप्रैको सुरुवाती काम भने ग्यास स्टेसन र कन्भिनियन्ट स्टोर रहने गर्छन । कतिपय स्थानमा काम गर्न कानुनी पत्र वा भनौ वर्क पर्मिट आवश्यक पर्ने भएपनि यस्ता स्थानमा काम गर्न कानुनी पत्र आवस्यक नपर्ने र सबैसंग काम गर्ने कानुनी हैशियत नभएकाले कतिपय अवस्थामा सुरक्षाका सामान्य विषयमा समेत हेलचेक्रयाई भएको पाइन्छ ।
कसैको बाध्यता कसैको फाइदा
अमेरिकामा करिव ५० हजार वियर, वाइन, वा भनौ लिक्अर स्टोरहरु रहेको बताइन्छ । त्यस्तै कन्भिनियन्ट स्टोरको संख्या करिव १ लाख ६० हजारको हाराहारीमा रहेका छन् । यी सबैमा गरेर लाखौले काम गर्छन् जसमध्ये धेरै कानुनी हैसियत विना गर्ने गरेका छन् । अमेरिका आँउदाको शुरुवाती कामका रुपमा रहेको यो काममा कामदार लगाउदा मालिकलाई फाइदा हेरेर लगाइन्छ ।
चेकमा काम लगाउदा कानुनी सुविधाहरु, विमा, ओभरटाइम आदि सुविधाको कुरा हुने साथै कर पनि भर्नुपर्ने हुँदा आफ्नो सुविधाका लागी सिधै क्यासमा अर्थात चेकमा काम गर्न लगाइदैन जसले गर्दा स्टोर मालिकलाई केही फाइदा अवस्य हुने गर्छ । त्यस्तै यसरी काम गर्नेहरुले कानुनी रुपमा आफूलाई कमजोर पाउछन् जसले गर्दा कुनै पनि विषयमा आवाज उठाउने वा गुनासो गर्ने आधार कर्मचारीले पाउदैनन् भने अर्को तिर शुरुवाती काम भएकाले नेपालको लगानी र यताको बसाई अनि कलेजको शुल्क तिर्न जस्तोसुकै अवस्था अनि स्थानमा पनि काम स्वीकार्नु र रोज्नु बाध्यता बनेर रहेको छ ।
किन हुन्छन् लुटपाट अनि हत्या ?
माथि भनिएको जस्तै माग्नेले विकल्प कमै पाउँछ, जसरी पनि काम गर्नुपर्ने अवस्थामा रहेको व्यक्तिले कुनै पनि विषयमा आपत्ति कमै जनाउँछ । उदाहरणका लागि खतरनाक र जोखिमपूर्ण स्थानमा पनि एक्लैले काम गर्नु पर्ने, अपराध घटिरहने स्थानमा, सुरक्षाको बन्दोबस्दी राम्रोसंग नगरिएको स्थानमा अवेर रातीसम्म एक्लै काम गर्ने (सुरक्षाको बन्दोबस्ती भन्नाले, पर्याप्त स्थान र संख्यामा सिसीटिभी, बलियो र भरपर्दो बुलेटप्रुफ सिसा, अटोमेटिक ढोका भन्ने बुझिन्छ), स्टोरमा पैसा राख्ने लकरको राम्रो बन्दोबस्ती नभएको स्थान आदिमा काम लगाउँदा समेत नाइनास्ती गर्न नसक्ने अवस्थाले लुटेरालाई राम्रो मौका दिन्छ जसको फाइदा उठाउन उनीहरु कुनै कसर बाँकी राख्दैनन् ।
त्यसैगरी कहिलेकाँही कर्मचारीको आफ्नो सजकता नहुनु वा काममा ध्यान नहुनु, थकान, निन्द्रा, भोक आदि कारणले कमजोर अनि एकाग्रता नहुदाँ पनि लुटेराले मौका पाउने गरेका छन् । यद्यपि केही घटनामा हत्याको कुनै कारण समेत थाह नभएको अवस्था पनि छन् । तर पनि घटनाको पछाडि मूख्य कारण पैसा नै रहेको छ । कुनै पनि स्टोरमा एकपटमा कम्तिमा पनि २ सय अमेरिकी डलर वा त्यो भन्दा बढी रहन् र काम गर्ने व्यक्ति एकजना मात्रै हुने हुँदा हत्यारालाई आफ्नो जरुरी आवस्यकता पूरा गर्न स्टोर लुट्नु बाहेक अन्य सजिलो स्थान कुनै पनि हुदैन । विशेषतः अपराधमा संलग्नको अवस्था र विवरणहरु हेर्दा अपराधी लागुपदार्थको कुलतमा फसेको र आफ्नो आवश्यकताको लागी पैसा अझ भनौ इन्स्ट्यान्ट क्यास पाइने हुनाले स्टोर रोजाइको स्थानका परेको हो । अन्य सामान लुटेको खण्डमा मूल्य कम पाइने र बेच्न पनि समय लाग्ने गर्छ, अझ त्यसैबाट नै प्रहरीले समात्ने सम्भावना रहन्छ त्यसैले पनि लुटेराको रोजाइमा पैसा नै प्राथमिकतामा पर्ने गरेको हुन्छ ।
लुटपाटबाट बच्ने सामान्य उपाय
१, हुन त लेखेर ल्याएको भन्छन् नेपाली चलनचल्तीमा सायद त्यस्तै होला तर पनि कतिपय घटना सामान्य सजकताले पनि टार्न सकिन्छ । स्टोर वा ग्यास स्टेसनमा काम गर्नेले सर्वप्रथमत काममा रहँदा आफ्नो कामको स्थान र परिवेशको बारे बुझ्नु जरुरी पर्छ , काम ठूलो हो तर जीवन पहिलो रोजाइमा पर्नु पर्छ । २. घटना जुनसुकै बेला पनि घट्न सक्छ, त्यसैले आफ्नो स्टोरको अधिकतम हिस्सा ओगट्ने गरि सिसीटिभी जडान भएको छ छैन हेक्का राख्नु पर्छ अन्यथा, स्टोर म्यानेजरलाई जानकारी गराई कम्तिमम जडान गर्न लगाउन सकिन्छ ।
३. स्टोरमा रहदाँ फोनमा मात्रै गफ गरिरहने वा भनौ बाहिर वा स्टोर भित्र भइरहेको गतिविधीबारे ध्यान नदिदाँ पनि लुपपाटका घटना हुने गर्दछन् त्यसैले स्टोरमा पस्ने हरेक व्यक्तिलाई आफूले हेरेको छु भन्ने जानकारी दिने व्यवहार गर्नुपर्छ ।
४. स्टोरमा चाप नहुदाँ रजिष्टरमा मात्रै बस्दा पनि लुटेरलाई लुट्ने मौका प्रदान गर्छ त्यसैले खाली हुदाँ रजिष्टर भन्दा बाहिर हिड्ने र वरिपरिको अवस्थाको बारे चनाखो हुनु आवस्यक छ ।
५. प्रहरीले पनि सुरक्षाको दृष्टिकोणले स्टोरका भित्रि भाग बाहिरबाट स्पष्ट देखिने हुनुपर्छ भन्छ, जसले गर्दा बाहिरबाटै स्टोरको हरेक गतिविधि देख्न सकियोस् र लुटेरलाई लुट्न दई पटक सोच्न परोस् ।
६. स्टोरमा पर्याप्ट सिसीटिभी जडान गर्ने र एक पटकमा रजिष्टरमा दुई सय डलर भन्दा कम पैसा मात्र राख्ने गर्नुपर्दछ, त्यति मात्रै होइन स्पष्ट सुचना समेत सबैले पढ्न मिल्ने गरि देखिने स्थानमा राख्नुपर्छ । (कम पैसा लुट्न कमैले मात्रै जोखिम मोल्ने गर्छन)
७. स्टोर बन्द गर्दाको समय सबैभन्दा जोखिमपूर्ण र खतरायुक्त मानिन्छ, पैसा सबै गन्ने समय भएकाले लुटेराले कम मेहनतमा धेरै पैसा लुट्ने समय भएकाले पैसा गन्दा ढोका बन्द गरेर गन्नु उपयुक्त हुन्छ । ८. स्टोरको दैनिक गतिविधी कुनै पनि ग्राहकलाई दिनु उचित मानिदैन, स्टोरमा चाँप छ भनेको अवस्थामा पैसा धेरै छ भन्ने संकेत बुझिन्छ भने स्टोर निकै सुस्त छ भनेको खण्डमा लुटेराले लुट्ने दाउ बनाउन बेर लाग्दैन, त्यसैले उत्तर दिँदा चतराई अपनाउनु पर्छ ।
९. स्टोर बन्द हुने समय सधै एउटै भएपनि सुरक्षाको दृष्टिकोणले सधै एकै समयमा बन्द गर्नु जोखिमपूर्ण मानिन्छ समय हेरफेर गर्दा लुटेराले लुट्ने समयको योजना बनाउन गाह्रो हुने मानिन्छ ।
१०. स्टोर बन्द गरेर निस्किदा पार्किंगमा पनि लुटिन सक्ने सम्भावना हुन्छ त्यसैले आफ्नो गाडी भएको स्थानमा सिसीटिभी छैन भने निकै सजकताका साथ गाडीमा जाने गर्नु उचित हुन्छ ।
स्टोरमा कोही लुट्न आए के गर्ने ?
यी माथिका त केही सामान्य उपाय हुन् जसले घटना नघटोस् भन्ने आशय राख्छ तर सजकता अपनाउदा अपनाउदैं पनि कोही तपाई अगाडी कुर्न हतियार लिएर आए के गर्ने त ?
१. हतियार लिएर वा नलिएर कोही तपाईसंग पैसा जे जति छ दे भन्छ भने, रजिष्ट्रमा भएका सम्पूर्ण पैसा यिनै हो लिएर जाउ भन्ने जवाफ दिनु उपयुक्त हुन्छ ।
२. लुटेराले अन्य पैसा पनि मागेको खण्डमा अन्य पैसा राखेको लकर देखाउन सकिन्छ तर फुटालेर लाने नलौजने त्यो उसको हातको कुरा, तपाईले उसलाई केही नभन्नु नै बुद्धिमानी हुन्छ । ३. लुटेरा जतिसक्दो छिटो तपाईको स्टोरबाट बाहिर निस्कियो सुरक्षाको दृष्टिले उति राम्रो त्यसैले धेरै गफमा अल्झिनुभन्दा हात उचालेर आफू छेवैमा बस्नु बुद्धिमानी हुन्छ ।
४. लुटेरा आएको बेला स्टोरमा अन्य ग्राहक पनि छन् भने उनीहरुलाई केही नगर्न र लुटेराले भनेको मान्न आग्रह गर्नु उचित हुन्छ, कुनै ग्राहकको गल्तीले पनि तपाईको ज्यान जोखिममा पर्न सक्छ ।
५. कोही पनि व्यक्तिको हलचल अनि अचानक उपस्थितीले लुटेरालाई डर पैदा गर्छ त्यसैले आफ्नो हात बाहिर राख्ने र भित्र शौचालय वा कुलरमा अन्य व्यक्ति भएकोबारे लुटेरलाई जानकारी दिनु उचित हुन्छ, झ्वाट्ट कुनै व्यक्ति प्रवेश गर्दा लुटेराले गोली प्रहार गर्ने सम्भावना बढी हुन्छ ।
६. लुटेरलाई ध्यान दिएर नहेर्नु उचत हुन्छ त्यस्तै लुटेर गइसकेपछि प्रहरीलाई स्टोरको फोनबाट फोन गर्दा तपाइ रहेको स्थान उनीहरुले ट्रयाक गर्न समय लाग्दैन ।
७. लुटेराको पछि लाग्नु, उनीहरुलाई लखेट्नु, उनीहरुसंग झगडा गर्नु, कुनै पनि प्रतिकार र प्रतिवाद गर्नु हुदैन ।
तपाईको स्टोरको पूर्ण विमा गरिएको हुन्छ, तपाईको जीवनको पनि विमा गरिएको होला, तर त्यसले जीवन फिर्ता गर्दैन त्यसैले संयमित व्यवहार र चनाखो भएर काम गर्नु अत्यन्तै आवश्यक छ । आफू हिरो बन्ने नाममा गल्ती नगरौं प्रहरीलाई काम गर्न दिऔं, बुद्धिमानी त्यसैमा हुनेछ ।