समाचार

आशा र आशंकामा प्रवासका नेपाली, समृद्ध नेपालका लागि सहकार्य, एनआरएनए

By canadakhabar

June 26, 2018

बद्रि तिमिल्सिना नेपालको नयां संविधानमा गैर आवासिय नेपालीहरुको हक र अधिकार सुनिश्चित भएपनि यसको कार्यान्वयनका विषयमा विदेशमा रहेका नेपालीहरुमा आशंका र आशा दुवै देखिन थालेको छ । केहि अधिकार बाहेक अन्य विषयहरु नयां संविधानमा लेखिएपनि कतै वर्तमान सरकारले यसलाई हेरफेर गरि कटौति गर्ने हो कि भन्ने आशंका गैरआवासिय नेपालीहरुमा पर्न थालेको छ । प्रवासमा रहेका दशौं लाख नेपालीको पृष्ठभूमि नेपाल नै भएको र आफ्ना पुर्खेउली सम्पति पनि उतै भएकाले वर्तमान सरकार यसप्रति उद्दार बन्ने आशा पनि उतिकै छ ।

सरकारका केही मन्त्रीहरुले पछिल्लो समयमा दिएका केहि फरक अभिव्यक्तिकै कारण पनि यस्ता आशंकाहरु उब्जिनु स्वभाविक नै हो । तर यसको कार्यान्वयनका लागि गैर आवासिय नेपालीका प्रतिनिधिहरुले के कस्ता पहलहरु गरेका छन् भन्ने कुरा नै यस समयमा महत्वपूर्ण हुन आउ छ । नयां संविधानमा लेखिए अनुसार केही राजनीतिक अधिकार बाहेक अन्य विषयमा एन आर एन एका अधिकारहरु समावेश गरिएको भनिएपनि पैत्रिक सम्पतिका विषयमा अझै प्रष्ट हुन सकेको छैन । एन आर एन एका लागि सरकारले छुट्टै नागरिकताको व्यवस्था गर्ने भनिएपनि यसको कार्यान्वयन तर्फ खासै चासो नदेखाएको भन्दै एन आर एन ए क्यानडाका प्रतिनिधिहरुले यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

एन आर एन ए क्यानडाले टोरोन्टोमा गरेको कार्यक्रममा क्यानडाका अध्यक्ष गोपीकृष्ण काफले, महासचिव चिरनजिवी घिमिरे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले गैर आवासिय नेपाली संघ ग्लोवलका अध्यक्ष भवन भट्टलाई नेपाल सरकारलाई झकझक्याउन आग्रह गरे । एन आर एन ए क्यानडाले नागरिकता, सम्पतिको किन बेचको प्रावधान लगायत प्रवासी नेपालीहरुका लागि बनेको संविधान व्यवहारमुखि बनाउन माग गर्दै ग्लोवल अध्यक्ष भट्टलाई ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा ग्लोवल अध्यक्ष भट्टले यस विषयमा आफूले नेपाल सरकारसंग पहल गरिरहेको र सरकारले प्रवासीहरुको मागलाई सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

गैर आवासिय नेपालीहरुका लागि दिइने नागरिकताका विषयमा सरकारले अब चांडै नै एउटा छुटट्ै कानुन बनाउनु पर्ने भन्दै भट्टले यसका लागि एन आर एन एले सरकारलाई घच घच्याइरहेको स्पष्ट पारे । नेपालको दुर्गम भेग जुम्लामा सर्वसाधारणको आकस्मिक सेवाका लागि सुलभ भाडामा एयर एम्बुलेन्स संचालन गर्ने एन आर एन एको तयारी भइरहेको भन्दै उनले सडक सुरक्षाका लागि पनि विशेष कार्यक्रम लैजाने बताए । कार्यक्रममा रोटरी क्लवका नेपाल प्रतिनिधिहरुको पनि सहभागिता थियो ।