साहित्य सिर्जना

न्याग्रा फल्सको अगाडि काव्य संगम

By canadakhabar

July 03, 2018

नेपाली साहित्य समाज, क्यानडाले गत जुनको ३० तारिखका दिन क्यानडामा अवस्थित विश्वप्रसिद्ध न्याग्रा फल्सको अगाडि उत्तरअमेरिका सीमा वारिपारि काव्य संगमको आयोजना गराएर एउटा नयाँ इतिहास बनाएको छ । न्याग्रा फल्सको अगाडि सम्पन्न न्याग्रा फल्स व्यवस्थापन समितिको स्वीकृति लिएर आयोजना भएको यस्तो प्रकारको साहित्यिक कार्यक्रम पहिलोपटक भएको न्याग्रा नगरपालिकाले जनाएको थियो । न्याग्रा फल्सबाट आउने बाछिटाको स्पर्श गर्दै ४६ जना कविहरुले आआफ्नो कविता वाचन गरेका थिए । प्रायः कविताहरु न्याग्रा फल्सको प्राकृतिक सौन्दर्यतामाथि लेखिएको थियो भने धेरै कविले न्याग्रा फल्सलाई नेपाको प्राकृतिक सौन्दर्यतासँग तुलना गर्दै दुवैको समानता देखाउने प्रयास समेत गरेका थिए । कविहरुले न्याग्रा फल्सलाई विभिन्न कतै मानव र मानवेतरसँग आरोपित गराएर त कतै मानवीय रीतिरिवाजसँग मिलाएर अभिव्यक्त गरेका काव्यानुभूति सुनाएका थिए ।

नेपाल र क्यानडाको झण्डा फरफराई रहेको प्रचण्ड गर्मीको मौसममा आप्रवासमा नेपाली साहित्यलाई परिचय दिलाउन नेपाली टोपी र कतिपयले द्यौरा सुरुवाल र महिलाहरुले साडी लगाएर न्याग्रा फल्समा उपस्थित भएका थिए । दिउसो ४ बजेदेखि बिना कुनै सम्बोधनका भुमिका बाधी ४६ जना कविहरुले एकपछि अर्को गर्दै आफ्ना कविता वाचन गर्दै ७६ जना स्रोतालाई साँझ ७.३० बजेसम्म काव्यात्मक शितल दिने प्रयास गरीरहेका थिए । महामहिम नेपाली राजदूत कालिप्रसाल पोखरेलद्वारा न्याग्रा फल्सको अगाडि उद्घाटन भएको सीमा वारिपारि काव्य गोष्ठीमा अमेरिकाबाट २३ जना कविहरु विभिन्न राज्यबाट उपस्थित भएका थिए भने क्यानडाबाट पनि विभिन्न राज्यबाट २३ जना कविहरुको उपस्थिति रहेको थियो ।

महामहिम राजदूतले काव्य वाचनको उद्घाटन गर्दै नभूतो र नभविष्यमा यस्तो कार्यक्रम हुन सक्छ भन्दै विश्वभरीका पर्यटक जम्मा हुने स्थलमा नेपाली झण्डा राखेर नेपाली टोपी लगाएर नेपाली कविता वाचन गर्र्नु आफैमा एउटा उदाहरण बन्न गएको भन्दै आयोजकलाई नेपाललाई चिन्हाउने काम गरेकोमा व्यक्तीगत र नेपाल सरकारको तर्फबाट दूतावास मार्फत धन्यवाद दिनु भएको थियो । सीमा वारिपारि काव्य संगमका संयोजक तथा नेपाली साहित्य समाज, क्यानडाका अध्यक्ष डा. गोबिन्दसिंह रावतले नेपाली साहित्यप्रति जति लगाव र माया आप्रवासी नेपालीहरुको छ त्यति नेपालमा नरहेको भन्दै उत्तर अमेरिकाका विभिन्न राज्यबाट आफ्नै खर्चमा आएर यो कार्यक्रम र यस्ता धेरै कार्यक्रममा सहभागिता जनाउने गरेको तर नेपालबाहिरका नेपाली साहित्यकारहरुको मूल्याङ्कन नेपालमा राम्ररी हुन नसकेको भन्नु भयो ।

अध्यक्ष रावतले समाजबाट दुई वर्षअगाडि उत्तर अमेरिका काव्य संगमको आयोजना गरिएको थियो र त्यसपछि केही नौंलो काव्य संगमको आयोजना गर्ने विचारकासाथ यो सीमा वारिपारि काव्य संगमको विचार आएको र यसको आयोजना यही न्याग्रा फल्सअगाडि गर्नु पर्छ भन्ने धारण लिएर आफुसहित समाजका डा. तुलसी धरेल, प्रदिप पौडेल, अनुप न्योपाने र रविन्द्र थपलिया काम गर्दै आएको जानकारी गराउनु भयो । उनले कार्यक्रममा सहयोग पु¥याउन सगुन डट कमसहीत अरु विज्ञापनदाताहरुसहित प्रविधिक सहयोगी उमेश खत्री, दिनेशसिंह मल्ल, प्रत्यक्ष प्रशारण गरि दिने ईनेपालिजका विश्वप्रकाश थापा र डिसि नेपालका खेम भट्चनको सहयोग महत्वपूर्ण रहेको बताउनु भयो । न्याग्रा फल्सअगाडि नेपाली काव्य वाचन गरेर इतिहास रच्ने कविहरुमा प्रदिप पौडेल, दिनार श्रेष्ठ, अनुप न्यौपाने, धन श्रेष्ठ, डा। तुलसी धरेल, सन्तोष लामिछाने, आविष्कार भारती, विरेन्द्र लम्साल, राधिका अर्याल, सुरेन उप्रेती, मित्र पौडेल, आरोह उप्रेती, भानु ढुङ्गाना, ज्ञानेन्द्र गदाल, रबिन थपलिया, कृष्णमुरारी ढुङ्गेल, रामप्रसाद खनाल, सुशिल नेपाल, कमला पोखरेल, रवि बस्नेत, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, गीता खत्री, पं। डा। श्यामप्रसाद खनाल, गोबर्धन पूजा, डा। गोबिन्दसिंह रावत, राम खत्री, मञ्जु आचार्य, राजेन्द्रप्रसाद अर्याल, डा। किस्मत भण्डारी, सीता अर्याल , मोहन खरेल , खगेन्द्र गौतम, चेतनाथ पोखरेल, समिर चौलागाई, केदार बस्नेत, प्रमीला बस्नेत, केसव भट्टराई ,योगराज पोखरेल , तीर्थ अधिकारी शसि सिग्देल रचना पौडेल, प्रकाश नेपाल, विनोद पाण्डे र शुभ नेपाल आदिले रहेका थिए ।

कार्यक्रम संचालन भईरहेको बेला धेरै पर्यटकहरु कयक्रम स्थलमा आएर फोटो खिच्ने रमाईलो दृश्य देखिने गरिएको थियो भने नेपाली पर्यटक नेपाली झण्डा र नेपाली टोपीसहित उपस्थिति देखेर दर्शक बन्दै फोटो खिचाएको पनि देखियो । कार्यक्रमको अन्त्यमा समाजका महासचिव रविन्द्र थपलिया र सदस्य प्रदिप पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । डा. तुलसी धरेलको उद्घोषण र अनुप न्योपानेको संयोजनमा संचालित कार्यक्रमको अन्त्यमा रात्रीभोजसहित सबै कविहरुले महामहिम राजदुतबाट न्याग्रा फल्ससहितको प्रतिक चिन्ह प्रदान गरिएको थियो ।