मुख्य खबर

अन्र्तराष्ट्रिय उडानमा यात्रुको मृत्यु भए पौने २ करोड

By canadakhabar

December 16, 2018

अन्र्तराष्ट्रिय उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले शनिबारदेखि यात्रु बिमा रकम एक करोड ७७ लाख रुपैयाँ पुर्याउँदै छन् । अन्र्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरिसकेको मन्ट्रियल महासन्धि नेपालले पनि शनिबारदेखि लागू गर्ने भएको हो ।

नेपालले मन्ट्रियल महासन्धि दिवसको दिन शनिबारबाट नेपालमा यो लागू हुने भएको हो । मन्ट्रियल महासन्धि लागू भएसँगै अन्र्तराष्ट्रिय क्षेत्रमा उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले ६० वर्षपछि यात्रुको बिमांक रकम बढाउन लागेका हुन् ।

यसअघि नेपालबाट अन्र्तराष्ट्रिय उडान गर्ने हवाईसेवा प्रदायकले २० हजार अमेरिकी डलर बराबरको बिमांक प्रदान गर्दै आएका थिए । मन्ट्रियल महासन्धिको पालनापछि नेपालका सबै अन्र्तराष्ट्रिय हवाई यात्रुको बिमा रकम एक लाख १३ हजार एक सय एसडीआर पाउनेछन् ।

एसडीआर अन्र्तराष्ट्रिय मुद्रा कोषले प्रचलनमा ल्याएको लेखाको इकाइ हो । नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि यो व्यवस्था कार्यान्वयन हुने जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले आईकाओका १३५ सदस्य राष्ट्रले अनुमोदन गरेका छन् । लामिछानेका अनुसार ‘शनिबारबाट महासन्धि अनुमोदन गर्ने सबै राष्ट्रले अनिवार्य रूपमा यसका सर्त पालना गर्नुपर्ने भएको छ ।’

यो महासन्धिको पालनापछि सबै अन्र्तराष्ट्रिय उडानका हवाई यात्रुको बिमा रकम बराबर भएको छ । सदस्य राष्ट्रमध्ये सीमित दायित्वअन्तर्गत जुनसुकै मुलुकको अन्र्तराष्ट्रिय उडानका क्रममा यात्रुको मुत्यु भए प्रतिव्यक्ति एक लाख १३ हजार एक सय एसडीआर पाइने भएको छ ।

यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकललाई मात्रै अनुमोदन गरेको र सोहीअनुसार हवाई बिमा दाबी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर मात्रै पाउँदै आएका छन् । १९९९ मा आएको मन्ट्रियल महासन्धिले यस्तो बिमा रकम एक लाख र सन् २००९ मा भएको संशोधनबाट एक लाख १३ हजार एक सय एसडीआर पु¥याइसकेको छ ।

सांकेतिक तस्विर

नेपाल सरकारले गत असोजमा महासन्धिलाई संसदबाट अनुमोदन गरेको थियो । यसबाट नेपाली अन्र्तराष्ट्रिय हवाई यात्रुको दुर्घटना भई मृत्यु भएमा, व्यागेज हराएमा वा क्षति भएमा उडान ढिलो भएमा कार्गो सामानमा क्षति भएमा पाउने रकममा पनि वृद्धि भएको छ ।

यसबाट कार्गो सामानमा ढिलो भए, हराए वा क्षति भए प्रतिकेजी २६.२२ डलर (१९ एसडीआर), ब्यागेजको प्रतियात्रु १५ सय ६० डलर (११३१ एसडीआर) हुनेछ । उडान ढिलो हुन गई हुने क्षतिमा सीमित दायित्वअन्तर्गत प्रतियात्रु ६ हजार चार सय ७७ अमेरिकी डलर छ ।

महासन्धिले तोकेको व्यवस्थाअनुसार कुनै वायुसेवा कम्पनीले क्षतिपूर्ति नदिए वा आफ्नो दायित्वबाट पन्छिएमा यात्रुले अदालतमा मुद्दा हाल्न सक्ने र अदालतले उक्त रकम भराइदिनुपर्ने उल्लेख छ ।

महासन्धिलाई पालना गरेपछि कुनै पनि अन्र्तराष्ट्रिय हवाई यात्रुले टिकट काटेको स्थान वा सदस्य राष्ट्रका नागरिकको ठेगाना रहेको देशबाटै क्षतिपूर्ति दाबी गर्न सक्छन् । यस्तो महासन्धि लागू हुँदा कुनै पनि यात्रुले अतिरिक्त शुल्क तिर्नु नपर्ने र हवाई यात्रुको बिमा रकममा पनि कुनै वृद्धि नहुने उल्लेख छ ।

वायुसेवा कम्पनीले गरेको बिमा रकम नै महासन्धिअनुसार हुने भएकाले यात्रु तथा वायुसेवा कम्पनी दुवैको हितमा हुने गरी यसलाई पालना गर्न सकिने उल्लेख छ । नेपाल यो महासन्धिको पक्ष राष्ट्र भएको हुँदा राज्यले अतिरिक्त आर्थिक भार बेहोर्नुनपर्ने उल्लेख छ ।