मुख्य खबर

काम नसकी भाग्न खोज्ने मेलम्ची निर्माणकर्ता फन्दामा

By canadakhabar

December 18, 2018

इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् ।

यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्योलमा परेको छ । सुरुङको फाइनल फिनिसिङ लगायतका काम रोकिएपछि अब आयोजना कहिले सम्पन्न हुने हो भन्ने अनिश्चित भएको छ ।

साइट छाडेर भाग्न राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिको आग्रहमा प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको छ । उनीहरूको पासपोर्टसमेत आयोजनाले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले प्रोजेक्ट म्यानेजर ग्रेचोसहितलाई ठमेलस्थित रोयल पेन्गुइन होटलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाको जिम्मा लगाएको छ ।

उनीहरू आयोजना र मन्त्रालयलाई थाहै नदिई काम अलपत्र छाडेर कतार एयरबाट सोमबार दिउँसो नै भाग्ने तयारीमा थिए । उनीहरूले प्रहरीसित आफूहरू भाग्न नभई क्रिसमस मनाउन इटाली जान लागेको दाबी गरेका थिए । उनीहरू भाग्नकै लागि ठमेलकै काठमाडौं होटल बुक गरी अर्कै होटल पेन्गुइनमा बसेका थिए ।

मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री ।

सीएमसीले मन्त्रालय र आयोजनालाई आइतबार नै औपचारिक रूपमा ठेक्का तोडेको पत्र दिन खोजेको थियो । मन्त्रालयले भने अन्तिम समयमा आएर ठेक्का नतोड्न आग्रह गर्दै पत्र बुझ्न अस्वीकार गरेको जानकारी आयोजना स्रोतले दिएको छ ।

स्रोतका अनुसार सीएमसीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनाको राजधानीस्थित मुख्य कार्यालयमा पुगेका थिए । आयोजनाका अधिकारीले पनि पत्र बुझ्न अस्वीकार गरेका थिए । खानेपानी मन्त्रालयले आयोजनाका अधिकारीलाई पत्र नबुझ्न निर्देशन दिएको थियो ।

आयोजनाले पत्र बुझ्न नमानेपछि सीएमसीका अधिकारीले भाग्ने र त्यसपछि ठेक्का तोडेको लिखित जानकारी दिने योजना बनाएका हुन् । ‘सोमबार नै सीएमसीका अधिकांश कर्मचारी नेपालबाट भाग्ने र मंगलबार सरकारलाई ठेक्का तोडेको पत्र दिने योजना बनाएका रहेछन्,’ आयोजनाका एक अधिकारीले भने ।

पत्रमा सीएमसीले ‘फन्ड सर्टेज’ (आर्थिक अभाव) भएको भन्दै काम अघि बढाउन नसक्ने उल्लेख गरेको छ । सीएमसीले भारतीय नाकाबन्दी र भूकम्पका कारण काम रोकिँदा आफूलाई १ अर्ब रुपैयाँभन्दा बढी घाटा लागेको र त्यसबापतको क्षतिपूर्ति रकम शुक्रबारसम्ममा उपलब्ध गराउन आयोजनालाई समय दिएको थियो । तर, आयोजनाले बाँकी काम सिध्याएपछि मात्रै क्षतिपूर्ति रकम भुक्तानी दिने अडान राखेको र त्यहीकारण सीएमसी ठेक्का तोड्ने निर्णयमा पुगेको जानकारी स्रोतले दियो ।

सीएमसीले क्षतिपूर्तिको कारण देखाएर काम रोक्ने चेतावनी दिएपछि खानेपानी मन्त्रालय, आयोजना, सीएमसी र कन्सल्ट्यान्ट कम्पनीका प्रतिनिधि रहेको विवाद समाधान बोर्ड गठन गरिएको थियो । बोर्डमा आयोजनाले सीएमसीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको थियो ।

आयोजनाले सीएमसीसमक्ष उक्त रकम निर्माणका सबै काम सकिएपछि मात्र दिने अडान राख्दै आएको थियो । आयोजनाका एक कर्मचारीले सहमति भइसकेको रकम दिएर भए पनि सीएमसीलाई बाँकी काम पूरा गर्न लगाउनुपर्नेमा नदिएर भडकाइएको बताए । त्यसले गर्दा सुरुङको फाइनल फिनिसिङ लगायतको काम अन्योलमा परेको उनको भनाइ छ ।

मेलम्चीमा खनिसकिएको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तिनमध्ये २ वटा भेन्टिलेसन साफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण र मेलम्चीको पानी सुरुङमा लग्न बाँध (इन्टेक) निर्माण बाँकी छ । आयोजनाले अबको ४६ दिनभित्र यी सबै काम सक्न सीएमसीलाई समयसीमा दिएको थियो ।

सीएमसीले निर्माणमा संलग्न नेपाली कामदारलाई तलबभत्ता र सञ्चयकोषबापत १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोजनाका कर्मचारीले दिएका छन् ।