नेपाल–अमेरिकाको सात दशक लामो सम्बन्धलाई दोस्रो तहमा लैजान दुवै देशका विदेशमन्त्रीबीच सहमति भएको छ । नेपाल र अमेरिका बीच सात दशकदेखि अन्तरंग र बृहत क्षेत्रमा लामो सहकार्य रहँदै आएकोमा परिवर्तित विश्वराजनीतिको आधारमा नयाँ चरणमा सहकार्य अघि बढाउने सहमति भएको हो ।
अमेरिकाले नेपाललाई यस क्षेत्रको लागि बृहत रणनीतिक सहकार्य भन्दै आएको छ । परराष्टन्मन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइक पोम्पेओबीच मंगलबार राति (नेपाली समय अनुसार) भएको एक घण्टा लामो छलफलमा राजनीतिक सहकार्य, विकास सहयोग र सम्बन्ध विस्तार अर्को तहमा लैजाने सहमति भएको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले बताएका छन् ।
डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भएको छलफलमा ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्था, अमेरिकासँगको सहकार्य, आवश्यक सहयोग र मुलुकको प्राथमिकता बारेमा खुलेर धारणा राखेका थिए । पोम्पेओले अमेरिकाले नेपाललाई दिंदै आएको प्राथमिकता, विकासको क्षेत्रमा गर्ने सहकार्य र विश्व तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिका लगायतमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘अमेरिकी विदेशमन्त्रालयमा उपलब्धीमूलुक लामो वार्ता भयो । कन्सलटेसन बैठक र परराष्ट्रमन्त्रीस्तरको बैठक चार घण्टाभन्दा लामो भयो,’ राजदूतले भने, ‘सम्बन्धलाई कसरी अझ बलियो र गहिरो बनाउने भन्ने विषयमा खुलेर छलफल भएको छ । हामीले नेपाल–अमेरिका सम्बन्ध र मुलुकको प्राथमिकतालाई स्पष्ट राखेका छौ ।’
नेपाल र अमेरिकाबीच रहेका सबै प्रकारको सम्बन्धका बारेमा छलफल भएको भन्दै राजदूतले भने–‘अमेरिकासँगको सहकार्यबारे यो स्तरमा भएको औपचारिक छलफलले दक्षिण एसियामा नेपालको भूमिका स्पष्ट पारेको छ ।’ राजनीतिक विषय मात्र होइन, अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग र आगामी दिनमा आउने सहयोगका विषयमा छलफल भएको उनले बताए ।
अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेरिरहेको भन्ने सन्दर्भमा १७ बर्षपछि नेपाल अमेरिकाबीच यो स्तरको औपचारिक छलफल भएको हो । नेपालले आफ्ना छिमेकीहरुसँग संयन्त्र स्तरमा छलफल गर्दै आएको भएपनि अमेरिकासँग यो स्तरको वार्ता जुराउन सकेको थिएन ।
वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले आगामी १२ बर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने गरी योजनाहरु तय गरिएको सुनाएको राजदुतले बताएका छन् । अमेरिकाले नेपालको स्तरोन्नतीका लागि दिनसक्ने र गर्नसक्ने सहयोगका आयामबारे पनि छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
राजनीतिक सम्बन्धका बारेमा पनि छलफल भएको थियो । नेपालमा संविधान जारी गरी तीन तहको निर्वाचन भएको र आगामी दिनमा राजनीतिक स्थिरता कायम हुने लगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ ।
अमेरिकाले पछिल्लो समय एसिया प्यासिफिकलाई इन्डो प्यासिफिक भन्दै त्यही प्रकारको कूटनीतिमा जोड दिँदै आएको छ । बेरी नेपालमा राजदूत भएर आएको सुरुवाती समय र अमेरिकाका लागि नेपालका राजदूत डा. कार्कीको कार्यकालको अन्त्यतिर भएको राजनीतिक भेटघाट निकै महत्वपूर्ण रहेको परराष्ट्र अधिकारीको धारणा छ ।
अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पाेरेसनमार्फत दिएको सहयोग उपयोगको खाका बारेमा पनि छलफल भएको थियो । उक्त सहयोग अन्तरगतको परियोजना पाच बर्षभित्र सक्नुपर्ने भएपनि उल्लेखित काम अघि बढ्न नसकेको अमेरिकी बुझाइ छ ।
शेरबहादुर देउवा नेतृत्व सरकारले २०७४ असोजमा हस्ताक्षर गरेको उक्त सम्झौताका अधिकतम खाका अझै तय हुन सकेको छैन । यो सहयोग ५ बर्षमा उपयोग हुन नसके फिर्ता जानेछ । पोम्पेओले एमसीसी कम्प्याकटको कार्यावन्यन महत्वपूर्ण रहेको बताएको दुतवासले जनाएको छ ।
यसअघि नेपाल–अमेरिकाबीच परराष्ट्र सचिव स्तरमा पनि छलफल भएको थियो । नेपाली समयअनुसार मंगलबार राति दस बजे उक्त बैठक बसेको थियो । एक घण्टा चलेको उक्त बैठकको केही समय पछि विदेशमन्त्री स्तरमा छलफल भएको हो ।