मुख्य खबर

ओबामा उपहारको थैलो बोकेर अस्पतालमा

By canadakhabar

December 20, 2018

नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ ।

विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली भने अनौठो र प्रेरणादायी पनि छ । क्रिसमसको अवसरमा उनले अस्पतालका बालबालिकाप्रति जस्तो मानवीय व्यवहार प्रकट गरे त्यसको प्रसंसा नै भएको छ ।

बुधबार वासिङ्टनको उत्तरपश्चिम क्षेत्रस्थित एउटा राष्ट्रिय बाल अस्पतालमा पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँडे । ‘सान्ता क्लज’ क्रिसमसमा लगाइने रातो टोपी लगाएर अचानक उपहारको थैलो नै बोकेर अस्पताल पुगेका उनले बालबालिकालाई ‘सर्पाइज’ नै दिएका थिए ।

खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेको अनौठो भिडियोबारे वासिङ्टन पोष्टले समाचार नै बनाएको छ । ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी प्रत्येक बालबालिकालाई वितरण गरेका थिए ।

अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद दिएका थिए । ओबामा यसरी अस्पताल पुग्ने कुरा यहाँका कर्मचारीलाई मात्रै जानकारी थियो ।

तर ९० मिनेटको उनको अस्पताल भ्रमण त्यस अवधिमै भाइरल बनेको थियो । ओबामाले बालबालिकालाई भेटेर उपहार दिँदै ‘भिडियो म्यासेज’ समेत सार्वजनिक गरेका छन् ।