देश

एनआरएनए क्यानडाको सम्पर्क कार्यालय टोरोन्टोमा

By canadakhabar

September 02, 2019

एनआरएनए क्यानडाको पहिलोपटक सम्पर्क कार्यालय टोरोन्टोमा स्थापना भएको छ । टोरोन्टोको स्कारबोरोमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन भएसंगै ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपाली समुदायका लागि दूतावाससंग सम्बन्धित कामकाजका लागि नेपाली दूतावास नै पुग्नु पर्ने समस्या पनि अब न्यूनिकरण हुने देखिएको छ ।

नवनिर्वाचित एनआरएनए क्यानडाका पदाधिकारिहरुविच क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले आइतबार कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा राजदूत ढुंगानाले क्यानडामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको सहजताका लागि एनआरएनए क्यानडासंग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । यसका लागि एनआरएनएले पनि महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उहांको भनाइ थियो ।

कार्यालय स्थापना भएसंगै अबदेखि नेपालीहरुले दूतावाससंग सम्बन्धित जुनसुकै समस्या पनि सिधै स्कारबोरोस्थित एनआरएनएको कार्यालयमा गएर जानकारि गराउन सक्ने एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले जानकारि दिए । साथै गैर आवासिय नेपाली संघको कार्ड वितरण प्रक्रिया शुरु भइसकेकाले इच्छुक व्यक्तिले सिधै कार्यालयमा सम्पर्क गर्न सके राजधानी अटोवा पुग्नुपर्ने झन्झट नहुने उनको भनाइ छ ।

महिनामा कम्तिमा दुईपटक नेपाली राजदूत सो कार्यालयमा आएर समस्याको सम्बोधन गर्ने भएकाले अबदेखि ग्रेटर टोरोन्टोबासी नेपालीहरुले कार्यालयमा आएर आफ्नो समस्या राख्न एनआरएनए क्यानडाले सबैलाई आग्रह गरेको छ । साथै निकट भविष्यमै विभिन्न क्षेत्रबाट निर्वाचित उपाध्यक्षहरुको मातहतमा सबै क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरिने पनि अध्यक्ष घिमिरेले जानकारि दिनुभयो ।

महासचिव पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाली अवैतनिक महाबाणिज्यदूत डा. कुन्जर शर्मा लगायत ब्राम्पटन, मिसिसागा, टोरोन्टो र स्कारबोरोबाट निर्वाचित धेरैजसो पदाधिकारिहरुको सहभागिता रहेको थियो ।