समाचार

क्यानडाको संसद भवनमा नेपालीले नेपाल डे मनाए, एक पटक नेपाल भ्रमण गर्न सबैलाई निम्तो

By canadakhabar

September 20, 2019

क्यानडाखबर डेस्कटोरोन्टो, नेपालको संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले नेपाल डे मनाएका छन् । टोरोन्टोको क्विन्सपार्कस्थित प्रान्तिय संसद भवनमा नेपाल डे मनाइएको हो । क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदिय दलको सभाहलमा आयोजित विशेष कार्यक्रममा स्थानिय सांसद तथा विभिन्न नेपाली संस्थाहरुका प्रतिनिधिहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नमा जोड दिए ।

गैरआवासिय नेपाली संघ एनआरएनए क्यानडाको अगुवाइमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन आग्रह गरेका थिए । यस्तै क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा. कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेल लगायतले नेपालको संविधान र नेपालको वर्तमान अवस्थाका बारेमा संक्षिप्त जानकारि गराएका थिए । कन्जरभेटिभ पार्टीका सांसद दिपक आनन्दले सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनि एक पटक भ्रमण गर्न सवैलाई आग्रह गरे ।

आफू नेपाली समुदायसंग धेरै घुल मिल भएकाले पनि नेपालका विषयमा आफू जानकार रहेको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानले सभाहल गुन्जिदा स्थानिय संचारकर्मी र क्यानडेली पाहुनाले यसको संगीतलाई ध्यान दिएर सुनेका थिए । ब्राम्टन मिसिसागा क्षेत्रका सांसद दिपक आनन्दले नै नेपाल डे मनाउनका लागि सबै किसिमको प्रवन्ध मिलाइदिएका थिए ।