क्यानडाखबर डेस्क । टोरोन्टो, क्यानडा ।
अमेरिकाका वैज्ञानिक र डक्टरहरुको लामो अध्ययन पछी कोरोना भाइरसबिरुद्धको उपचारका लागि ‘रेम्डिसिभियर’ नामको औषधी प्रयोगमा ल्याईने भएको छ ।
अमेरिकास्थित खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोना भाइरसबिरुद्धको उपचारकालागि रेम्डिसिभियर नामको औषधी प्रयोगका लागि अनुमति दिएको हो । एफडिएले दिएको यो अनुमती संगै कोभिड १९ बाट प्रभावित बिरामीहरुलाई उपचारमा निकै सहज हुने चिकित्सकहरु बताएका छन् ।
मेडिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु निको भएको देखाएपछि उक्त एन्टीभाइरल औषधीको प्रयोगका लागि अनुमति दिइएको हो । रेम्डिसिभियर नामको औषधीको प्रयोगबाट कोरोना संक्रमित बिरामीहरु ११ दिनमा नै निको भएको र त्यसै कारण यो औषधी आम नागरिकको लागि प्रयोगमा ल्याउन तयारी गरिएको नेशनल एन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको अध्ययनले बताउछ ।
अमेरिका स्थित ‘नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लीनिकल’ को परीक्षणबाट उत्साहजनक परिणाम आएको निष्कर्ष निकालिएको दुई दिन लगत्तै एफडीएले औषधीको प्रयोगका लागि अनुमति दिएको हो ।तत्काललाई यो औषधीको प्रयोग अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमित बिरामीलाई मात्र दीइनेछ ।